चितवनको देवनगर सबस्टेसन उद्घाटन – Nepal Press

चितवनको देवनगर सबस्टेसन उद्घाटन

चितवन । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत् आपूर्तिमा रहेको रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताहरुबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको बताइन्।

चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गरिन्।

भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन निर्माण भरतपुर महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए।

चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजंग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिका हुने विद्युत भागमा प्रक्षेपण गरी २४ सं घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए।

भरतपुर महानगर क्षेत्रमा भइरहेको तीब्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए ।

प्रााधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् मागबमोजिम आपूर्ति दिन नसकेर त्यस क्षेत्रमा वाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको देवनगर सबस्टेसन बनेपछि अन्त्य भएको उल्लेख गरे । उनले अब त्यस क्षेत्रमा माग बमोजिम गुणस्तरीय र पर्याप्त विद्युत दिन सकिने बताए।

देवनगर सबस्टेसनबाट भरतपुर महानगरपालिका ५, ६,८, ९,१३,१४,१५,२२ र २३ नम्बर वडाहरुमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको जसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ ।

भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी,सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरु निकालिएका छन् ।

देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर,फुलबारी,गितानगर,पटिहानी,सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको छ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब १० करोड रुपैयाँ रहेको आयोजना निर्देशक÷संयोजक अच्युत घिमिरेले जानकारी दिए ।

सबस्टेसन तयार भएतापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो ।

कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर