बुटवल उपमहानगरले सहमति पालना नगरेपछि स्थानीयले रोके ढुवानीग्राम जाने सडक – Nepal Press

बुटवल उपमहानगरले सहमति पालना नगरेपछि स्थानीयले रोके ढुवानीग्राम जाने सडक

रुपन्देही । बुटवल उपमहानगरपालिकाले पूर्वसहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले ढुवानीग्राम ठप्प पारेका छन् । स्थानीयको अवरोध गरेपछि नेपालकै पहिलो ढुवानीग्राममा मालबाहक साधन चल्न छाडेका छन् ।

स्थानीयले तत्काल बाटो निर्माण गर्न माग गर्दै बुटवल- १२ ढवाहामा सञ्चालित ढुवानीग्राम ठप्प पारेपछि दुईतर्फी मालवाहक सवारीसाधन रोकिएका हुन् । अवरोधपछि ट्रान्सपोर्ट व्यवसायीहरुले ढुवानीग्रामको चावी उपमहानगरपालिकालाई बुझाउने निर्णय गरेका छन् ।

उपमहानगरपालिकाले पूर्वपश्चिम राजमार्गबाट ढुवानीग्राम जाने बाटो समयमा निर्माण नगर्दा लामो समयदेखि हिलोधुलो सहनुपरेको तथा ठूला गाडीहरु आवतजावत गर्ने निश्चित बाटो नबनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले ३ दिनदेखि सडक ठप्प पारेका छन् ।

स्थानीयले नयाँ गाउँबाट ढुवानीग्राम जाने मुख्य बाटो ठप्प पारेका छन् । यस विषयमा वडा तथा उपमहानगरपालिकालाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको व्यवसायीहरुको गुनासो छ ।

संगमपथ सुधार समितिका संयोजक डम्मरदेव अर्यालले कुनै पनि हालतमा ढुवानीग्रामसम्म पुग्न आफ्नो टोलको सडक प्रयोग गर्न नदिने बताए । बुटवल उपमहानगरले आफ्नो प्रतिबद्धताअनुसार काम नगरेको, ढुवानीग्रामका लागि वैकल्पिक सडकको व्यवस्था नगरेको कारण देखाउँदै अर्यालले आफूहरुले सडक प्रयोग गर्न नदिने अडान लिएको बताए ।

कमजोरी उपमहानगरपालिकाले गर्ने तर स्थानीयले पटक पटक गाडीहरु रोक्ने गरेको भन्दै ढुवानी व्यवसायीले त्यसको स्थायी समाधान ननिकाले व्यवसाय बन्द गर्न बाध्य हुने बताएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले सार्वजनिक बाटो कसैैले रोक्न नपाउने तर यो विषयमा कुनै सूचना आफूसँग नआएको जनाएका छन् ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले सबै पक्षसँग सहमति गरेर यो विषयलाई टुंगोमा पुराउने बताए ।

स्थानीयहरुले भनेका सबै मागहरु तत्काल पूरा गर्न नसकिने भए पनि यो क्षेत्रको गौरवको आयोजना निरन्तर चलाउन सबै प्रयास गरिने उनको भनाइ छ ।

ग्रामसम्म पुग्न विकल्पको रुपमा रहेको तिनाउ-दानव कोरिडोरसँग पुलले जोड्ने भनिए पनि कोरिडोर नै निर्माण नभएको अवस्थामा तत्काल सम्भव नभएको तर समस्या समाधानका लागि व्यवसायी तथा स्थानीयसँग छलफल थालिने उनले बताए ।

ढुवानी व्यवसायी समिति रुपन्देहीको पहलमा बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिको सार्वजनिक निजी साझेदारीमा दुई वर्षअघि ३० करोड रुपैयाँ लागतमा ढुवानीग्राम सञ्चालनमा आएको हो । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको वडा नं १२ ढवाहामा ३ विगाहा क्षेत्रफलमा ढुवानीग्रामको पूर्वाधार तयार भएको छ । यसमा व्यवसायीहरुको साढे १२ करोड लगानी भएको छ ।

बजारमा छरिएर रहेका ढुवानी व्यवसायीहरुलाई एकै स्थानबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ सञ्चालन भएको बुटवल पवित्र ढुवानीग्राम देशकै नमुना हो । ढुवानीग्राममा ४९ वटा सेड छन् । व्यवसायीहरुको सुविधाका लागि सेडमा सामान अनलोड गर्ने, स्टोर र कार्यालय कक्ष निर्माण भएको छ । ढुवानीग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचार कक्षसम्म निर्माण भएका छन् ।

यो बुथ मोडेलको ढुवानीग्राम हो । जहाँ विद्युत, खानेपानी, स्नानघर, शौचालय, विश्राम कक्ष, सूचना, सुरक्षा गार्ड कक्षसमेत छन् । यहाँबाट देशभर सामान ढुवानी हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *