६ सय रुपैयाँको सकस र एक क्रियाशील पत्रकारको दुखान्त – Nepal Press

६ सय रुपैयाँको सकस र एक क्रियाशील पत्रकारको दुखान्त

काठमाडौं । गत बिहीबार पत्रकार एलबी विश्वकर्माले फेसबुकमा आफ्नो ताजा तस्वीर पोष्ट गर्दै लेखेका थिए– जिवित छु । तर, उनको यो पोस्ट एक सातामै असान्दर्भिक बनेको छ ।

विश्वकर्माको हिजो आकस्मिक निधन भयो । निकटस्थहरुले उनको निधनमा अस्पताललाई दोष दिएका छन् । साथै, आर्थिक अभावका कारण उनले उपचार नपाएको भनेर पनि पत्रकारले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । हामीले नेपाल प्रेसबाट यसको यथार्थ विवरण ल्याउने प्रयास गरेका छौं ।

टिभी टुडेमा काम गर्ने पत्रकार विश्वकर्मा १५ दिनअघिसम्म नियमित कार्यालय आएर काम गरिरहेका थिए । देशमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै उनलाई पनि सामान्य ज्वरो र रुघाखोकी लाग्यो । श्वास प्रश्वासमा पनि असहजता महसुस भएपछि उनी कार्यालयमा बिदा लिएर घरै बसे ।

बीचमा केही समय व्यथाले अलि चापेपछि उनी माइलो भाइ गौतम विश्कर्मालाई लिएर बानेश्वस्थित निजामति कर्मचारी अस्पताल (सिभिल) आए । ओपीडीमा गएर चेकजाँच गराए । त्यसैअनुसार उनी इमरजेन्सीमा गए । तर आफूसँग भएको पैसा सामान्य चेकजाँचमा नै सकिएपछि उनी उपचार नगरेर घरतिर फर्किने निधोमा पुगे ।

घर जानुअघि उनले अस्पतालको प्रांगणबाटै रोजगारीको सिलसिलामा भारत रहेका आफ्ना बुवालाई फोन गरेर भने, ‘बुवा म बिरामी छु । अलिकति पैसा पठाइदिनु पर्‍यो ।’

बुवाले सकारात्मक जवाफ दिएपछि दाजुभाइ जडिबुटीमा रहेको डेरातिर फर्किए । उनीहरु घर पुग्नासाथ एलबीको मोबाइलमा म्यासेजको घण्टी बज्यो । बुवाले भारतबाट १० हजार पठाइदिएको नोटिस बैंकबाट आएको थियो ।

पैसा आएपछि दुवै भाइ फेरि कोटेश्वरबाट अस्पताल नै फर्किए । त्यसबेला बेलुकीको करिब ५ बजिसकेको थियो । उनीहरु सिधै इमरजेन्सी वार्डमा गए । त्यहाँ विभिन्न चेकजाँच भयो । चिकित्सकले पीसीआर गर्न सुझाव दिए । तर, एलबी पीसीआर गर्न अनिच्छुक थिए । भाइका अनुसार पैसाको सीमितताले नै उनले पीसीआर गर्न नचाहेका हुन् ।

चेकजाँच सकिएपछि केही औषधि बोकेर राति ११ बजे एलबी र भाइ गौतम टयाक्सी चढेर कोठा फर्किए । औषधि खालेपछि स्वास्थ्यमा केही सुधार आयो । उनी दुई दिन टिभी टुडेमा गएर काम पनि गरे । कार्यालय गएको दोस्रो दिन कार्यालयले उनलाई मासिक तलबको चेक दिएर पठाएको थियो । तर, त्यही नै कार्यालयमा उनको अन्तिम दिन बन्यो ।

बिरामी अवस्थामा पनि एलबीले कार्यालयको कतिपय स्कृप्ट लेख्नेलगायतका काम घरबाटै गरिरहेका थिए । केही दिनअघि इकागज डटकममा उनको पठाएको लेख बुधबार मात्रै छापिएको थियो । ‘बाजुराकी सप्पा नेपालीले भोकको समाधि लिएको थाहा नपाउने तपाईं कसरी ठूलो मान्छे ?’ शीर्षकको लेख अहिले पनि सो अनलाइनको होमपेजमै छ ।

बुधबार कलेज बन्द भएकाले एलबीसहित तिनै भाइ कोठामै थिए । कान्छो भाइले खाना पकाए । साँझ करिब ८ बजे खाना खाने बेला भयो । भाइले एलबीलाई खान बोलाए तर उनले आफूलाई रुची नभएको बताए । भाइहरु खना खान थाले भने एलबी उठेर शौचालयतिर लागे ।

शौचालय जादाँसम्म उनलाई ठिकै थियो । शौचालयबाट फर्किएपछि गाह्रो भएको बताए र छट्पटाउन थाले । निकै चापेपछि राति साढे नौ बजे माइलो भाइ गौतम ट्याक्सी खोज्न जडिबुटीको पेट्रोलपम्पतिर दौडिए । तर, पेट्रोलपम्प पुग्नासाथ कान्छो भाइको फोन आयो । दाइलाई अलि सञ्चो भएको सुनाउँदै उनले फर्किन भने ।

कोठा फर्किँदा घरबेटीले मूल ढोकामा चाबी लगाइसकेका थिए । गौतमले भाइलाई घरबेटीबाट चाबी मागेर ढोका खोल्न लगाए । एलबीले आफूलाई राति गाह्रो हुन सक्ने भन्दै चाबी आफैंसँग राख्न भने ।

एकछिनमा एलबीलाई फेरि सास फेर्न अप्ठेरो हुन थाल्यो । गौतमले अनलाइनबाट ट्याक्सी बुक गरे । अनि ट्याक्सीवालाले कल गरेपछि लोकेसन दिएर बोलाए । यतिबेलासम्म एलबीलाई धेरै गाह्रो भइसकेको थियो । उनी उठ्न सक्ने अवस्थामा पनि थिएनन् ।

गौतमले एलबीलाई पिठ्यूँ लगाएर दोस्रो तलाबाट पहिलो तलासम्म ओराले । एलबीले बीचमै बान्ता गरे । गौतमले उनलाई ट्याक्सी चढाए र कान्छो भाइलाई घरैमा बस्न भने । त्यतिबेलासम्म रातिको १० बजिसकेको थियो । एलबीलाई लिएर गौतम ट्याक्सी चढेर सिभिल अस्पतालको इमरजेन्सी कक्षमा छिरे ।

ट्याक्सीको बिल आयो ४ सय ५० रुपैयाँ । ट्याक्सीवालाले ५० रुपैयाँ छुट दिएर ४ सय रुपैयाँ लगे । इमरजेन्सीको बेडमा राख्नासाथ चिकित्सकले अक्सिजन दिन थाले । त्यतिबेलासम्म एलबीले आँखा हेरिरहेको र अलिअलि बोलचाल गरेको भाइ गौतम बताउँछन् ।

त्यसपछि अस्पतालको इमरजेन्सी वार्डले टिकटसहित चेकजाँच र औषधि गरेर ४ हजार एक सय रुपैयाँको बिल गौतमलाई थमायो । गौतमसँग ३ हजार ५ सय रुपैयाँ मात्र थियो । ६ सय रुपैयाँ अपुग भयो । बिल काट्ने कोठा नम्बर ७ मा पुगेर गौतमले अनुनय गरे, ‘सर मसँग अहिले ३५ सय रुपैयाँ मात्र छ । ४१ सयको बिल आएको रै’छ । नपुगेको पैसा बिहानसम्म जसरी पनि तिरौंला । अहिले मिलाइदिनुपर्‍यो ।’ तर, काउन्टरमा बसेकाले सकारात्मक जवाफ दिएनन् ।

गौतमका अनुसार ४१ सयको बिलमा पीसीआर परीक्षणसँगै रगत तथा अन्य विभिन्न परीक्षण र केही औषधि पनि लेखिएको थियो । दुई–तीनपटक काउन्टरमा पुगेर हारगुहार गर्दा पनि कसैले सुनवाइ नगरेको गौतमको भनाइ छ ।

दुई तीन पटक गौतमले बिल काट्ने काउन्टरमा पुगेर हारगुहार गरे । तर, उनको कुरा कसैले सुनेन । भाई गौतम अस्पताल प्रशासनसँग हार गुहार गरिरहेकाे कुरा एलबीले थाहाँ पाएपछि राती ११ बजेर ५९ मिनेट जादाँ एलबीले मुखमा अक्सिजन झुण्ड्याएकै अवस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसमेत रहेका आफ्ना मामा चन्द्र विश्वकर्मालाई कल गरे । तर, उनका मामाको कल उठेन । त्यो कुरा उनको मृत्यु पछि उनै मामा चन्द्रले फेसबुकमा उल्लेख गर्दै लेखेका छन्, ‘प्रिय भान्जा तिम्रो मोबाइलको अन्तिम कल हिजो मध्यरातको ११ बजेर ५९ मिनेट थियो अहिले मन भतभति पोलिरहेको छ सधै समस्या पर्दाको साथि म हिजो मात्रै मेरो मोबाइल साईलेन्स हुनु अन्तिम तिम्रो फोन उठाउन नसक्नु पिडाबोध भएको छ भान्जा । माफ गर्नुहोला ।’

मामाकाे कल नउठेपछि एलबीले टिभी टुडेका समाचार प्रमख प्रदिप बस्नेतलाइ कल गरे । उनलाइ कल लागेन । यतिबेला रातीको १२ बजिसकेको थियो । यता भाइ गौतमले एक्कासी याद गरे दाइकाे साथी कर्ण विश्ववकर्मा । गंगलाल हृदयरोग केन्द्रमा ल्याव टेक्नेसियनमा कार्यरत विश्वकर्मा अछाम स्थायी घर भएका र कोरोनाको पहिलो महामारीको बेला पनि एलबी बिरामी हुदाँ उनैले आफु कार्यरत अस्तालमा उपचार गराएका कारण गौतमले कर्णलाई चिनेका थिए ।

कर्णलाइ एक्कासी फोन गरेर गाैतमले भने, ‘कर्ण दाई । मेरो दाजुलाई गाह्रो भएर सिभिल अस्पतालमा ल्याएको छु । उपचारका लागि पैसा पुगेन पठाइदिनुपर्यो वा पुर्याइदिनुपर्यो । कर्णले आफुसँग अहिले पैसा नभएको जानकारी गरदाउँदै भने, ‘अहिले अस्पतालमा भनेर मिलाउ भाई । बिहान म आएर मिलाउला नि गौतमले हुन्छ भन्दै फोन राखे । त्यसै अनुसार गौतमले अस्पतालको काउण्टरमा भने । नमानेपछि फेरी कर्णलाई फोन गरेर नमानेको जानकारी गराए । त्यति भनेपछि कर्णले भने, ‘त्यसो भए अहिले तुरुन्त गंगलाल हृदयरोग केन्द्रमा ल्याएर आउ । म सबै त्यहाँ मिलाई दिउला ।’ गौतमले कर्णसँग हुन्छ भन्ने पनि सहमति जनाए । त्यसपछि भने कर्णलाई कुनै खबर भएन । कर्ण अहिले भन्छन्, ‘मैले यस्ताे गाह्राे छ भन्ने साेच्दै साेचिन पछि अर्काेपटक नगरेपछि व्यव्थापन भयाे वा म कार्यरत अस्पताल पुगे हाेलान साेचेर निदाइहालेछु । यसमा मलाइ अहिले एकदमै पछुताे महशुस भइरहेकाे छ ।’

उनले त्यहीँबाट भारतमा रहेका बुवालाई फोन गरेर त्यो कुरा सुनाए । बुवाले काउन्टरमा कुरा गर्न चाहे । गौतमले पनि बुवासँग कुरा गर्न काउन्टरका व्यक्तिलाई आग्रह गरे । तर, ती व्यक्तिले मानेनन् । त्यसपछि पीसीआर परीक्षण कटौती गरेर अरु परिक्षण र औषधिको ३ हजार २ सय ९० रुपैया गौतमले तिरे ।

इमरजेन्सी वार्डमा स्लाइन पानी चढाउनेदेखि विभिन्न औषधि दिने काम पनि भयो । त्यति गर्दा रातको करिब एक बजिसकेको थियो । एलबीलाई अस्पताल पुर्‍याएको पनि तीन घण्टा बितिसकेको थियो । उपचार चलिरहेकै समयमा त्यहाँ कार्यरत नर्सले गौतमलाई भनिन्, ‘तपाईंको मान्छेलाई धेरै नै गाह्रो भएको छ अर्को अस्पताल लैजाँदा राम्रो हुन्छ ।’

गौतमले चिकित्सकसँग गएर कुरा गरे । चिकित्सकले जवाफ दिए, ‘यहाँ आइसीयु बेड खाली छैन । अर्को कुनै अस्पतालमा लगे हुन्छ । तपाईंको बिरामीलाई गाह्रो भइसकेको छ ।’

गौतम एक्लै भएकाले उनलाई निकै सकस पर्यो । कहाँ लैजाने केही मेसो पाएनन् । इमरजेन्सी वार्डमा नै गौतमले सोधे, ‘आइसीयू बेड भएको हस्पिटल कुन हो ?’

वार्डका मान्छेले त्यहाँ टासिएको सूची हेर्न र फोन गर्न भने । सूचीको पहिलो नम्बरमा कुन अस्पतालको नाम थियो गौतमलाई अहिले सम्झना छैन, दोस्रो नम्बरमा भने पाटन अस्पतालको नाम थियो । गौतमले पाटन अस्पतालको नम्बरमा फोन लगाएर सोधे, ‘मेरो दाइ बिरामी हुनुहुन्छ, आईसीयू बेड छ कि छैन ।’ उताबाट जवाफ आयो, ‘बेड त खाली छैन होला । तर, बुझ्नै पर्छ ।’

गौतमले नजिकै रहेका अस्पतालका चिकित्सकलाई कुरा गर्न फोन दिए । अस्पतालका चिकित्सकले कुरा गरेपछि बेड रहेको जानकारी आयो । तर रातिको एक बजे कसरी अस्पताल पुर्याउने ? गौतम अलमलमा परे । उनले अस्पतालमा एम्बुलेन्स छ कि छैन भनेर बुझ्न खोजे । अस्पतालकी एक नर्सले १०२ नम्बरमा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा लिने सकिने जानकारी गराइन् । गौतमले फोन गरेर एम्बुलेन्स बोलाए । एम्बुलेन्सवालाले पनि गौतमसँग अस्पतालको नम्बर मागेर आफैं फोन गरी बेड भएको पक्का गरे । करिब १५ देखि २० मिनेटको समयमा एम्बुलेन्स आइपुग्यो ।

गौतमले एलबीलाई एम्बुलेन्समा राखेर सिभिलबाट पाटन अस्पतालतिर लागे । एम्बुलेन्समा उनलाई अक्सिजन सपोर्टमा नै लगिएको थियो । त्यतिबेलासम्म पनि एलबीले आँखा हेरिरहेका थिए र हलचल गरिरहेका थिए । पाटन अस्पताल पुग्दा करिब साढे १ बजिसकेको थियो ।

उनलाई इमरजेन्सीमा लगेर अक्सिजन सपोर्टमा राखियो । तर पनि एलबीलाई गाह्रो भइरहेको थियो । इमर्जेन्सीमा राखेको करिब आधा घण्टापछि एलबीले भाइलाई ईशारा गरेर नजिक बोलाए । अंगोलमा बेस्सरी च्यापे र आफूलाई धेरै गाह्रो भएको संकेत गरे । गौतम आत्तिए । उनले छिटो दाइलाई आईसीयूमा लैजान अनुरोध गरे । तर, उनको अनुरोध कसैले सुनेन । नर्भस बनेका गौतमले हात जोड्दै पुकार गरे– ‘यहाँ मान्छे मर्न थालिसक्यो, चाँडो आइसीयूमा लिनुपर्यो ।’ त्यसपछि मात्र बल्ल आइसीयूमा लगियो । गौतम एलबीसँगै पछिपछि जान खोजे । तर, उनलाई जान दिइएन ।

एलबीलाई आइसीयूमा लगेर गौतमलाई दोस्रो तल्लामा बस्न भनियो । पहिलो पटक पाटन अस्पताल पुगेका गौतमलाई कुन पहिलो र कुन दोस्रो अत्तोपत्तो नै भएन । त्यहाँ डिउटीमा रहेका सुरक्षा गार्डलाई दोस्रो तल्ला भनेर पनि सोधे । उनले त्यताबाट इसारा मात्र गरे, र गौतमले कता हो भन्ने भेउ नै पाएनन् । गौतम इमरजेन्सीको वार्डको बाहिरपट्टि बेचैन बनेर यताउता गरिरहेका थिए । उनको मोवाइलमा फोन आयो । तुरुन्त आइसीयू बाहिर आउन भनियो । उनलाई आइसीयू कता छ भन्ने पत्तो थिएन । सुरक्षा गार्डको सहायतामा दोस्रो तल्लामा रहेको आइसीयू वार्ड अगाडि पुगे । त्यो करिब साढे ३ बजेको समयमा हो ।

उनलाई भित्र छिर्न दिइएन । आइसीयू वार्डको झ्यालबाट तपाईं लालबहादुरको मान्छे हो भनेर सोधियो । गौतमले मुन्टो हल्लाए । उताबाट भनियो– ‘माफ गर्नुहोला, हामीले तपाईको मान्छेलाई बचाउन सकेनौ । उहाँको मृत्यु भइसक्यो ।’

यतिसम्म भनेको मात्र याद छ गौतमलाई । उनको होस हवास उड्यो । त्यसपछि ती चिकित्सकले धेरै सम्झाउन खोजे । तर, गौतमलाई कसले के भन्यो कुनै सम्झना छैन ।

अलि सम्हालिएपछि उनले भारतमा बुवालाई फोन गरेर दाइको मृत्यु भएको सुनाए । लगत्तै आफ्नो घर अछामको रामारोशनमा छिमेकी दाइलाई खवर गरे । त्यसपछि एकैपटक बिहान अछाममै रहेकी भाउजू (एलबीको श्रीमती) लाई पनि बताए ।

आईसीयु बेड नहुदाँ रेफर गर्यौ, कमजोरी भए नभएको अध्ययन गर्छौः सिभिल अस्पताल
हामीले सिभिल अस्पतालसँग धेरै पटक टेलिफोनमार्फत एलबी विश्वकर्माको मृत्यु प्रकरणबारे बुझ्न खोज्यौ । अस्पतालका निर्देशक डा.विधाननिधी पौडेलसँग सम्पर्क गर्दा आफै कोभिड संक्रमित भएकाले अस्ताल प्रशासनसँग गएर बुझ्न उनले आग्रह गरे । नेपाल प्रेसकर्मी अस्पताल पुगेर अस्पतालका मेडिकल निर्देशक डा.अनुपजंग रायमाझीसँग बुझ्दा उनले अस्पतालमा बिरामी ढिलो गरी पुगेको र अवस्था गम्भिर भइसकेकाले बिरामीलाई अन्त पठाइएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘बिरामी ढिलो गरी आउनुभएको रहेछ । सबै चेकजाँच गर्दा सबै रिर्पोट एकदमै गम्भिर अवस्थामा पुगेको देखियो । अनि हाम्रोमा आईसीयु बेड पनि खाली थिएन । बिरामीको पीसीआर पनि परिक्षण गरिएको थिएन । परिक्षण नगरिएकाले कोभिड वा ननकोभिड कुन आईसीयुमा राख्ने भन्ने पनि दोधारमा परियो । त्यसपछि हामीले अन्त लिन भनिएको रहेछ । मैले बुझ्दा त्यस्तो पाए ।’

अस्पतालमा ६ सय रुपैयाँ अभावका कारणले पीसीआर नगरिएको र धेरै पटक बिन्ती गर्दा पनि नमानेको भन्ने कुरा के हो भन्ने प्रश्नमा भने मेडिकल निर्देशक रायमाझीले यसबारेमा आफुले केहि भन्न नसक्ने बताए । ‘यस बारेमा म अहिले केहि पनि भन्न सक्दैन । तपाइको कुरा सुनेर मात्र भएन । दुवै पक्षको कुरा सुन्नुपर्यो । अनि के कहाँ समस्या भएको रहेछ बुझेर हामी गल्ति कमजोरी भएको भए अनुसन्धान गरेर आवश्यक कारवाही गछौ । तर, त्यो मेरो तहबाट भन्दा पनि अस्पताल निर्देशकको तहबाट हुनुपर्छ । उहाँलाई सन्चो होस त्यसपछि हामी यस विषयमा अध्ययन अनुसन्धान मात्र गरेर यहाँलाई जानकारी गरानेछौ ।’

एन्टिजेन र पीसीआर नेगेटिभ

एलबीको मृत्युअघि नै पीसीआर र इन्टिजेन परीक्षण गरिएको थियो । मृत्यु भएपछि आएको पीसीआर रिपोर्ट नेगेटिभ छ । बिहान एन्टिजेन परीक्षण रिर्पोट नेगेटिभ आएपछि दिउँसो पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थियो । एलबीको मृत्यु कसरी भयो भन्ने खुलेको छैन ।

मृत्युपछि नेपाल प्रेसकर्मी पाटन अस्पताल पुगेर अस्पतालका निर्देशक डा. रवि शाक्यसँग बुझ्ने प्रयास गरेको थियो । शाक्यले २६ वर्षको व्यक्तिको मृत्यु भएको भन्ने खबर सुनेको तर विस्तृत जानकारी नभएकाले सम्बन्धित चिकित्सकसँग बुझ्न आग्रह गरे ।

हामीले अस्पतालका मेडिकल डाइरेक्टर डा. विमल पाण्डेसँग पनि सोध्यौं । उनले बिरामी ढिलो गरेर अस्पताल आएका कारण आफूहरुले बचाउन नसकेको बताए ।

उनले भने, ‘अक्सिजनको मात्र एकदमै घटिसकेको थियो । अस्पताल ल्याउँदा नै ढिलो भइसकेको रहेछ । सुरुमा इमरजेन्सीमा हामीले प्रयास गर्यौ । त्यहाँ नसकिने भएपछि आइसीयुमा पनि प्रयास गर्यौं । तर, बचाउन सकिएन ।’

पाण्डेका अनुसार पाटन अस्पताल ल्याउँदा एलबीको अक्सिजन लेभल ६५ मात्रै थियो । इन्सफेक्सन पनि धेरै फैलिसकेको उनको भनाइ छ ।

‘हाम्रोमा ल्याउँदा मुटु नै बन्द भइसकेको थियो । सिपिआर गर्दा पनि अक्सिजन फर्काउन सकिएन । मुटु पलाउने औषधि पनि दियौ, तर त्यसले पनि काम गरेन,’ उनले भने ।

अस्पतालले आइसीयूमा राख्न ढिलाइ नगरेको उनको भनाइ छ ।

डा. पाण्डेले भने, ‘अस्पताल पुर्याइसकेपछि आधा घण्टा लाग्नु भनेको सामान्य नै हो । कुनै बेला योभन्दा बढी समय लाग्छ ।’

पत्रकार महासंघद्वारा दु:ख व्यक्त

टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दुख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन पुरीले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको सुनिएकाले यो अत्यन्त दुःखद र गम्भीर विषय भएको बताएका छन् ।

यस्तै श्रमजिवी पत्रकार संघ नेपालले पनि पत्रकार विश्कर्माको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष जन्मदेव जैशीले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै उपचारमा लापरवाही गर्ने अस्पताल र उपचार खर्च नदिने सञ्चार संस्थाको गैरजिम्मेवारीका कारण घटना भएको दावी गरेको छ ।

टिभी टुडे भन्छः आर्थिक समस्या सुनाएका थिएनन्

एलबीको मृत्यु भइसकेपछि उनले काम गर्दै आएको टिभी टुडेमाथि पनि धेरैले प्रश्न उठाएका छन् । टेलिभिजन प्रशासनले भने यसमा आफूहरुको कुनै कमजोरी नभएको बताएको छ ।

उनी सो टिभीमा वरिष्ठ सम्वाददाताका रुपमा कार्यरत थिए । करिव १५ दिनदेखि बिदामा भए पनि उनी टिभीको निरन्तर सम्पर्कमा रहेको टिभी टुडेका प्रधान सम्पादन अरुणदेव जोशीले बताए । टिभीले तलब तथा उपचार खर्च उपलब्ध नगराएको हो कि भन्ने आशंकालाई पनि उनले खण्डन गरे ।

‘बिचमा उहाँ कार्यालयमा दुई दिन आउनुभएको थियो । के कस्तो छ भनेर सोधपुछ पनि गर्यौ । उहाँले आर्थिक समस्या केही पनि भन्नुभएन । तर पनि हामीले २५ हजारको चेक काटेर उहाँलाई पठाएका हौं ।’

टिभी टुडेकै समाचार प्रमुख प्रदिप बस्नेतका अनुसार एलबी निरन्तर टिभीको सम्पर्कमा थिए ।

उनले नेपाल प्रेससँग भने, ‘एलबीजी घरमा बसेर भए पनि कहिलेकाहीँ स्कृप्ट लेखेर पठाउनुहुन्थ्यो । एउटा कार्यक्रम नै उहाँले नेतृत्व गरिरहनुभएकाले चाँडै काममा फर्किनुहोस भन्ने हाम्रो चाहना थियो । निधन भएको दिन दिउसो पनि एउटा स्क्रिप्ट पठानुभएको थियो ।’

समाचार प्रमुख बस्नेतलाई राति १२ बजे एलबीले कल गर्न खोजेका रहेछन् । तर, बस्नेतले राति थाहा पाएनन् ।

‘जब म बिहान उठेँ, त्यसपछि एकैपटक एलबीको भाइको म्यासेज अलर्ट पनि आयो । एलबीले कल गर्ने प्रयास गरेको म्यासेज थियो,’ उनले सुनाए ।

को हुन् एलबी विश्वकर्मा ?

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएको २६ वर्षीय लालबहादुर विश्वकर्मा एलबीका नामले चिनिन्थे । टिभी टुडेअघि उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, मध्यान्न दैनिकलगायतमा काम गरेका थिए । त्यसअघि आफ्नै जिल्ला अछाममा रहेको रेडियो जनप्रियबाट उनले पत्रकारिता यात्रा सुरु गरेका हुन् ।

पत्रकारिता सुरु गर्नुअघि उनले अछामको विकट ठाउँ रामारोशनबाट सदरमुकाम मंगलसेनमा प्लम्बरको तीन महिने तालिम लिएका थिए । त्यसै मौकामा सदरमुकाम मंगलसेनमा आधारतभूत पत्रकारिता तालिम सञ्चालन भएपछि उनी त्यसमा सहभागी भएका थिए । करिब ७ वर्षदेखि क्रियाशील पत्रकारितमा रहँदा उनले जातीय विभेद र सामाजिक न्यायको पक्षमा कलम चलाउँदै आएका थिए । न्यायको पक्षमा लेख पनि प्रकाशन गर्दै आएका थिए । उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको केन्द्रीय सदस्य तथा क्रियाशील दलित पत्रकार संघकाे केन्द्रीय सदस्य पनि थिए ।

विश्वकर्माका ६० वर्षीय बुवा र ५५ वर्षीया आमा भारतमा छन् । उनी परिवारको जेठो छोरा हुन् । एलबीसहित उनका चार दाजुभाइ छन् । माइलो भाइ विनोद विश्वकर्मा भारतमा रोजगारी गर्दै आएका छन् । २० वर्षका साइलो भाइ गौतम र १७ वर्षका कान्छो भाइ धिरजसँग उनी काठमाडौंमा बसिरहेका थिए । गौतमले एलबीकै सहारामा काठमाडौंमा एक वर्षदेखि सिभिल इन्जिनियरिङ पढिरहेका छन् भने धिरज फार्मेसी पढिरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाले उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार पनि आफन्तजन र क्रियाशील दलित पत्रकार संघको सहयोगमा गरिएको छ । दुई भाइलाई घर जानका लागि पनि आफन्तजन र क्रियाशील दलित पत्रकार संघ तथा टिभी टुडेले समन्वय गरेर खर्च व्यवस्थापन गरिदिएको छ ।

प्रतिक्रिया

4 thoughts on “६ सय रुपैयाँको सकस र एक क्रियाशील पत्रकारको दुखान्त

  1. दुखद घटना !! मृत्यु सधै दुखद नै हुन्छ तर यो सरकारि हस्पिटलमा आइसियु छैन भनेर धेरैको मृत्यु भाकोछ किन त्यति ब्यबस्था गर्न सकिन्न ??

  2. अस्पताल भनेकाे बिरामी ले पुनरजन्म पाउने ठाउँ हाे थाेरै पैसाको कारणले गर्दा १ हाेनहार युवा पत्रकार ले ज्यान गुमाउनु पर्याे यस्ता अस्पताल लाई कर्बाहिगर्नु पर्छ

  3. अलिकति पनि व्यवहारिक ज्ञान रहिनछ अस्पतालमा काम गर्ने उ खाने कर्मचारी ।

  4. धेरै रुवायो । हार्दिक श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर