विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न मानव अधिकार आयोगकाे आग्रह – Nepal Press

विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पालना गर्न, गराउन र परीक्षा वैकल्पिक उपाय अपनाएर सञ्चालन गर्न सरकार, विश्वविद्यालय र सबै निकायको ध्यानाकर्षण गराएको हो ।

बुधबार काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिएएलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहले आन्दोलन गरेका थिए। त्यसक्रममा एक जना विद्यार्थी घाइते भएका छन् भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आयोगमा यस घटनाबारे उजुरी समेत परेको र यस घटनाबारे आयोगको टोलीले अनुगमन समेत गरिसकेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘अनुगमनको क्रममा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बुझिएको छ । विद्यार्थीले हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने माग राखेको अनुगमनबाट पाइएको छ। यस सम्बन्धमा आयोगमा निवेदन समेत प्राप्त भएको छ।’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर