इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य – Nepal Press

इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

इटहरी । इटहरी २०५३ साल माघ ११ गते मात्रै राजपत्रमा नगरपालिकाको रुपमा लिखत भएको ‘युवा सहर’ हो । २०७१ मंसिर १६ मा इटहरीलाई सरकारले उपमहानगरपालिका बनायो ।

मूलतः इटहरी भन्नासाथ ‘कृत्रिम सहर’ भनेर चिनिन्छ । मान्छेले बनाएका संरचनाले मान्छेको इटहरीमा आवागमन बढाएको मानिन्छ ।

इटहरीका सपिङ सेन्टर, स्विमिङ पुल, मल्टिप्लेक्स, होटल, रिसोर्ट, लज, पार्टी प्यालेसहुँदै सेकुवा कर्नरसम्ममा इटहरी बाहिरका मान्छेको आकर्षण छ । इटहरीमै केही प्राकृतिक क्षेत्रहरु छन्, जहाँ गएर स्थानीय तथा आगन्तुकहरुले मन भुलाउन सक्छन् । तर यसको प्रचार कम छ ।

अंग्रेजीमा एक पर्यटकीय शब्द छ- स्टेकेसन । स्टेकेसन भनेको आफ्नै घर र घर नजिकैका क्षेत्रहरुमा घुमघाम गर्ने र आनन्द लिने पर्यटकीय शब्द हो । यो सामग्रीमा इटहरी र आसपासका घुमन्तेहरुलाई एक फन्को लाउनसक्ने ‘इटहरी स्टेकेसन’का आठ आकर्षण प्रस्तुत गरिएको छ–

१. चित्ताकर्षक ‘मेचीकाली’ पोखरी

एक हिसाबमा कंक्रिटको सहर हो, इटहरी । तर उपमहानगर कार्यालय परिसर भने प्राकृतिक छँटाले सुन्दर छ ।

२३ कट्ठा क्षेत्रमा फैलिएको यहाँको पोखरीको वरिपरि ठडिएका छन्, इटहरी उपमहानगरपालिकाका प्रशासनिक भवनहरु । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष त पोखरीमाथि नै बनाइएको छ ।

प्राकृतिक र चित्ताकर्षक पोखरीमा सदाबहार पानी रहन्छ । पोखरीको वरिपरि पैदलपथ र रेलिङ छ । यहाँ फन्को मारिरहेका आगन्तुक देखिन्छन् ।

सरकारी कार्यालय बन्द नभएको समयमा पोखरी परिसरमा तस्बिर लिनेको भीड लाग्छ । पोखरीको नाम मेचीकाली पोखरी हो । मेचीकाली हुनुको पछाडि इटहरीका पाँच युवाहरुले २०५४ पुस ७ मा मेचीदेखी महाकाली यात्रा गरेर दुवैको पानी ल्याएर पोखरीमा खन्याए । अनि नामै मेचीकाली रहन गयो ।

करिब साढे दुई दशक अगाडिबाट मात्रै मेचीकाली नाम रहन गए पनि यसको इतिहास भने एक शताब्दीभन्दा पुरानो मानिन्छ । ‘इतिहासमा इटहरी’ पुस्तकका अनुसार यो पोरखी संवत् १९७२ मा मानपुर चौधरी र रामजी चौधरीले खनेका थिए ।

२. बुढी खोला किनारमा ‘हेरिटेज वाक’

पूर्व–पश्चिम राजमार्गहुँदै इटहरी बजार पार गरेर पूर्वतर्फ यात्रा गर्दा आउने पहिलो ठूलो खोला हो, बुढी खोला । लामो पुल र पुलमुनि बनाइएको सुन्दर घाटले धेरैको आँखा तान्छ । बुढी खोला इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको मात्रै सीमा खोला हैन, सुनसरी र मोरङ जिल्लाको सीमा पनि हो । बुढी खोलालाई कतिपयले ‘वृद्ध गंगा’समेत भन्छन् ।

यही खोला किनारमा केही समय पैदल हिँडेमा आकर्षक धार्मिक तथा सांस्कृतिक हेरिटेजहरु भेटिन्छन् । खोला किनारमा इटहरीतर्फ भएको सुन्दर घाटलाई मुक्तिधाम भनिन्छ । यो ६ करोड लागतमा बनेको प्रदेश १ कै सबैभन्दा आकर्षक घाट हो ।

झिलीमिली बत्ती, आकर्षक मूर्तिहरु, किरियापुत्री भवनदेखि विभिन्न मन्दिरहरु छन् यहाँ । घाटसँगै जोडिएको छ कृष्ण प्रणामी मन्दिर । घाटको पश्चिमतर्फ छ, मानव धर्मको विशाल भवन ।

यस्तै मोरङतर्फ छठी माईको मन्दिर छ । छठी माईको मन्दिर अगाडि झन्डै दुई किलोमिटर क्षेत्रमा छठ पर्वमा ब्रतालुहरु भेटिन्छन् । पूर्वी तराईका भक्तालुहरु यहाँ आएर व्रत बस्छन् ।

छठी मन्दिबाट केही उत्तरपूर्वमा छ, नयाँ बृन्दावन गौशाला । नयाँ बृन्दावन गौशालामा नेपालकै सबैभन्दा विशाल गाईको प्रतिमा बनिरहेको छ । पैदल यात्रामा यी सबै हेरिटेजको एक घन्टा भित्र एक फन्को लाउन सकिन्छ ।

३. तालतलैया

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक गरेका देशभरका सय गन्तव्यमा अटाएको इटहरीको एक्लो गन्तव्य हो, तालतलैया । इटहरी वडा नम्बर २ र ३ मा फैलिएको ताललैया जलविहार, बालउद्यान, पिकनिकदेखि प्राकृतिक विचरण गर्न सकिने इटहरीको सबैभन्दा लोकप्रिय सार्वजनिक गन्तव्य हो ।

यहाँ विभिन्न देशका मूर्तिकारले कुँदेका ढुंगाका मूर्तिहरु समेत छन् । २०७२ माघ ९ देखि १८ गतेसम्म संचालन भएको ‘एकता अन्तर्रास्ट्रिय मूर्ति कार्यशाला’मा यहाँ देशीविदेशी मूर्तिकारहरुले २८ मूर्तिहरु बनाए । सबैभन्दा लोकप्रिय मूर्ति चाहिँ इजरायली मूर्तिकार तान्या प्रेमिन्जरले बनाएको ढुंगाको मुटु हो । यो मूर्तिलाई पृष्ठभूमि पारेर तस्बिर लिनेहरु धेरै देखिन्छन् ।

२०२५ सालताका खोल्सी थुनेर जमाउँदा पोखरी भएको तालतलैयालाई सर्वध्वज साँवाको अध्यक्षतामा वनभोज स्थल बनाइयो । इटहरीका प्रथम मेयर तथा हालका प्रदेश १ सभाका सदस्य साँवाकै अगुवाइमा तालतलैयाले अहिलेको स्वरुप पाउन सकेको हो ।

पछिल्लो समयमा तालतलैया प्रदेश १ मा मोटर बोटिङ संचालन गर्ने प्रथम सिमसार क्षेत्र हो । २०७५ साउन १२ गते तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोटरबोटिङको उद्घाटन गरेका थिए ।

४. खोर्सानेखाप

सेवा सुविधाको व्यापक अभाव भएकोले कुनै बेला इटहरीको ‘कर्णाली’ भनेर चिनिएको थियो इहटरी ३ को खोर्सानेखाप । अहिले इटहरी बजारबाट खोर्सानेखाप पुग्ने खोलमा पुल र बस्ीतमा बिजुली पुगेपछि भने विकास हुने क्रम बढेको छ ।

तीनतिर खोलानालाले घेरिएको एक सुन्दर अर्धटापु गाँउ हो, खोर्सानेखाप । तालतलैयाबाट १५–२० मिनेटको पैदल वा केही मिनेटकै दुईपांग्रे साधनको यात्रामा खोर्सानोखाप पुग्न सकिन्छ ।

पूर्वमा बुढीखोला, पश्चिममा सेरा खोला, दक्षिणमा सेरा र बुढीखोलाको दोभान छ । उत्तरमा सरस्वती सामुदायिक वन क्षेत्र छ ।

२०७० सालताका होमस्टे सुरु गरिएको यो क्षेत्रमा इटहरीको लोकप्रिय नाट्य संस्था कलालयले नेचर थिएटरसमेत संचालन गरेको थियो । करिब ६० घरधुरी भएको यो क्षेत्र ३० हेक्टर हाराहारीमा फैलिएको छ । खोलाको संगीत, चराहरुको चिरबिर र गाँउले जीवनका हरेक बिम्ब यो क्षेत्रमा पाइन्छ ।

५. बुढासुब्बा क्षेत्र

बुढासुब्बा भन्नासाथ धरानमा रहेको मन्दिर बुझिन्छ । बुढासुब्बा मन्दिर इटहरीमा पनि छ । इटहरीको ताललैयाको गेटबाट धरान जान भित्री बाटोहुँदै केही मिनेट अगाडि बुढासुब्बा चोक छ ।

बुढासुब्बा चोकै भित्र छ, इटहरीवको बुढासुब्बा मन्दिर । इटहरीमा दशकौँदेखि यो मन्दिर क्षेत्रमा पूजाआज गरिएपनि २०५५ सालदेखि मात्रै औपचारिक रुपमा मन्दिरको स्थापना भएको इटहरी वडा नम्बर २ का अध्यक्ष हर्क मगर बताउँछन् ।

बुढासुब्बा मन्दिरमा कंक्रिटका संरचनाहरु थोरै छन् । हरेक वर्ष वैशाख १३ गते यहाँ विशाल मेला लाग्छ । प्रेमीप्रेमीकाले नाम खोप्ने बाँसहरु धेरै छन् यहाँ । खुल्ला क्षेत्र र शितल हावा दगुर्ने क्षेत्र पनि व्यापक छ । कमै भिडभाड हुने भएकोले धार्मिक मात्रै हैन, प्राकृतिक छँटामा रमाउनेहरुका लागि यो गन्तव्य प्रिय हुनसक्छ ।

६. भान्से पोखरी

इटहरी उपमहानगरपालिका–१८ मा छ भान्से पोखरी । यो इटहरी क्षेत्रका हाल अस्तित्वमा रहेका पोखरीहरुमा सबैभन्दा ठूलो हो । भान्से पोखरी माछा पालनमा लोकप्रिय छ ।

इटहरी स्थानीय सरकारले पोखरीमा माछा पाल्ने ठेक्का खुलाउने गर्छ । इटहरीमा अरु पोखरी पनि छन् । तर, उपमहानगरपालिका परिसरको पोखरी र भान्से पोखरी मात्रै चर्चित छन् । यसको मूल कारण यी पोखरीहरुको आकर्षक बनोट र आगन्तुकको सेल्फीमोह हो ।

वडा सदस्य चन्द्र बहादुर राईका अनुसार पोखरी करिब पाँच विगाह क्षेत्रफलमा फैलिएको छ । पोखरी परिसरमा शिवालय छ । इटहरी स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्न बजेट तथा पूर्वाधार व्यवस्था नगर्दा धेरै पूर्वाधार बन्न बाँकी छन् । तर, साइकल तथा मोटरसाइकल यात्रामा जानेहरुलाई पानी, पोखरी, माछा र प्राकृतिक अनि स्थानीय थारु संस्कृति बुझ्न यो पोखरीको यात्रा यादगार हुनसक्छ । पोखरी पुग्न इटहरीको सशस्त्र प्रहरी बलको मुख्यालयबाट पश्चिमतर्फको सडक भएर जाँदा मोटरसाइकलमा १५ मिनेट हाराहारी लाग्छ ।

७. भवानीपुर सिमसार

इटहरी उपमहानगरपालिका– १९ मा छ, भवानीपुर सिमसार क्षेत्र । इटहरीको चौरास्ताबाट ६.८ किलोमिटरमा अवस्थित यो सिमसार १६.२३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सालक, दुम्सी, पानीहाँस, कछुवालगायतका जिवजन्तुको आश्रयस्थल यो सिमसार प्रकृतिमैत्री पिकनिकका लागि पनि राम्रो गन्तव्य हो । बालबालिकालाई रमाइलो गर्न गणेशमानसिंह भुलभुलैया पार्कसमेत यहीं क्षेत्रमा छ ।

८. काव्य बाटिका

पूर्व–पश्चिम राजमार्गमा रहेको इटहरीको पचरुखीबाट केही मिनेटको उत्तरी सडक हिँडेपछि पुगिन्छ काव्यबाटिका । यो क्षेत्र कुनै बेला अहिलेको चर्चित तालतलैया क्षेत्रभन्दा चर्चित इटहरीको प्राकृतिक गन्तव्य थियो ।

ती विगाह क्षेत्रमा फैलिएको काव्य बाटिकमा २०५८ सालदेखि मूर्तिकलाको काम विभिन्न स्थानीय तथा आगन्तुक कलाकारहरुले थालेका थिए । २०६३ सालसम्म पनि यो क्षेत्र चर्चित नै थियो ।

तर, त्यसपछि भने यसले महत्व गुमाउँदै गएको छ । वरिपरि घेराबार गरिएको गन्तव्य भएकोले अहिले पनि एकान्त रुचाउनेहरुलाई काव्य बाटिका एक सुन्दर छनोट हुनसक्छ ।

प्रतिक्रिया

One thought on “इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

  1. उत्कृष्ट , खोजमुलक र सकारात्मकता प्रदान गर्ने लेख । आन्तरिक पर्यटन प्रबोधिकरण नै दीर्घकालीन पर्यटन उद्योगको आधारस्तम्भ हो ।ब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर