अत्यावश्यक काममा मात्र कार्यालय छोड्न प्रदेश र स्थानीय तहका कर्मचारीलाई सरकारकाे आग्रह – Nepal Press

अत्यावश्यक काममा मात्र कार्यालय छोड्न प्रदेश र स्थानीय तहका कर्मचारीलाई सरकारकाे आग्रह

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ चलिरहेको अवस्थामा अत्यावश्यक कामका लागि मात्र कार्यालय छोड्न सबै प्रदेश र स्थानीय तहका कर्मचारीलाई आग्रह गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले नियमानुसार कार्यालयमा बिदा स्वीकृत गरी र गराई अत्यावश्यक कामको लागि मात्र कार्यालय छोड्ने तथा त्यसै अनुसार आवश्यक व्यवस्था गर्न गराउन प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको हो ।

राष्ट्रिय योजना आयोगले स्थानीय तहमा कार्यरत रहेका तथा जनगणना कार्यका लागि काजमा खटिएका सबै कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत रहेको स्थान र निकायमा नै रहने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

राष्ट्रिय जनगणना सफल पार्ने कार्यका लागि सरुवा र काज सम्बन्धि कार्य स्थगन गरिएको अवस्थामा पनि मन्त्रालयमा सरुवा र काज लगायतका कार्यका लागि प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी आउने–जाने क्रम जारी रहेको भन्दै यस्तो आग्रह गरिएको मन्त्रालयका सहसचिव एवम कर्मचारी प्रशासन महाशाखा प्रमुख राजिव पोखरेलले बताए ।

मन्त्रालयले कर्मचारीको सरुवा र काज सम्बन्धि कार्य जनगणना अवधिभरका लागि स्थगित गरिसकेको र सरुवा प्रयोजनका लागि मन्त्रालयमा अनलाइन सरुवा प्रणाली सञ्चालनमा रहेकोले अनलाइन प्रणालीबाट नै निवेदन पठाउन सकिने व्यवस्था समेत भइसकेको सहसचिव पोखरेलको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर