संवैधानिक इजसालसम्बन्धी हरि फुयालको आदेशपछि बोलाइयो बार सल्लाहकारको बैठक – Nepal Press

संवैधानिक इजसालसम्बन्धी हरि फुयालको आदेशपछि बोलाइयो बार सल्लाहकारको बैठक

काठमाडौं । नेपाल बार एशोसियसनले समसामयिक विषयमा छलफल गर्ने भन्दै सल्लाहकार समितिको आकस्मिक बैठक बोलाएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको अदालतको शुद्धीकरण सम्बन्धी प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्न आइतबार बैठक बोलाइएको नेपाल बारका महासचिव लिलामणी पौडेलले बताए ।

बारका एक सदस्यले भने न्यायाधीश हरि फुयालको एकल इजलासले संवैधानिक इजलास सम्बन्धमा दिएको आदेशपछि आकस्मिक रूपमा बैठक बोलाइएको बताए । यसबारेमा बारमा एमाले पक्षधर पदाधिकारी र सदस्यसँग भने छलफल नभएको बताइएको छ ।

न्यायाधीश फुयालको इजलासले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिका सम्बन्धमा गम्भीर छलफल गर्नुपर्ने भन्दै सो मुद्दाको किनारा नलागेसम्म संवैधानिक नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ नगर्न आदेश दिएको थियो ।

सो आदेशपछि संवैधानिक नियुक्ति बदर र संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग गर्न चाहने बारका प्रभावशाली सल्लाहकारसहित कानून व्यवसायीहरूले दबाब दिएपछि सल्लाहकार बैठक बोलाइएको हो ।

बारको सल्लाहकार समिति बैठकमा पदाधिकारीसहित पूर्वअध्यक्ष तथा महासचिवहरू र उपत्यकाभित्रका बारका अध्यक्ष सहभागी हुन्छन् । बारका पूर्वपदाधिकारी प्रायःलाई सल्लाहकार समिति बैठकमा बोलाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर