बादल मडारिनासाथ रातभर जाग्राम बस्छन् घोडाघोडीबासी – Nepal Press

बादल मडारिनासाथ रातभर जाग्राम बस्छन् घोडाघोडीबासी

कैलाली । कैलाली घोडाघोडी नगरपालिका १० घुम्निभाकलकी कौशिला धमलालाई आकाशमा कालो बादल मडारिएपछि राति निद्रा पर्दैन । घरमा सानो नाति र उनी मात्र छन् ।

१३ वर्षअघि (२०६५) असोज ४ र ५ गते आएको बाढीले पुर्‍याएको क्षति उनले अझै भुल्न सकेकी छैनन् । आकाशमा कालो बादल देखिदा र पानी पर्न थाल्दा त्यही नियति दोहोरिने हो कि भन्ने त्रास हुन्छ उनलाई ।

‘२०६५ सालमा आएको बाढीले सबै सरसामान बगायो । धन्न जेनतेन ज्यान जोगायौँ’ उनले भनिन्, ‘आकाशमा कालो बादल देख्दा फेरि त्यस्तै बाढी आउँछ जस्तो लाग्छ ।’

पहाडी क्षेत्रमा बढी पानी परेपछि उनको घरनजिकै भएर बग्ने कन्द्रा नदीमा पानीको सतह बढ्छ अनि नदिनै गाउँ पस्छ भन्ने त्रास उनीहरूमा छ ।

‘हामी धेरै डर मान्छौँ । कहिले काहीँ त रातभरि सुत्दैनौँ । आकाशमा बादल आयो भने मानमा त्रास मात्रै आउँछ’ उनले सुनाइन् ।

पश्चिममा मनसुन सक्रिय भएपछि धमलालाई जस्तै त्रास र डर कमला सेठीलाई पनि छ । उनी पनि पानी लगातार झरी पर्न थालेपछि रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको बताइन् ।

‘घर नै लग्छ कि झैं लाग्न । पहिले देखिनै हामी त्रासमा छौँ’ उनले भनिन,‘ राति १ बजे २ बजे सबैभन्दा धेरै डर हुन्छ। पानी परेको बेला राति सुत्दैनौँ ।’

त्यो बेलाको बाढीले घोडाघोडीमा धेरै क्षति गर्‍यो । गत वर्ष पनि मध्यरातमा गाउँमा नदी पस्यो । कयौँ चौपाया मरे । लाखौँको धनमालको क्षति भयो । महिना दिनसम्म स्थानीय विस्थापित भए । त्यही पीडाले यो बस्ती त्रासमा छ । घुम्नीभाकलमा करिब एक सय घर परिवार छन् ।

सरकारले बाढी आउँदा पूर्वसूचनाको लागि भन्दै कन्द्रा नदीमा गेज मिटर राखेको छ । त्यहाँ एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । तर, यो बस्तीनजिकै भएकोले बाढी आइहाले पनि जोखिम टार्न निकै समस्या हुन्छ ।

यो गेजमिटरले भजनी र लालभोजी क्षेत्र भने सुरक्षित हुने अपेक्षा गरिएको छ । गेज मिटर राखिएको स्थानबाट भजनीसम्म बाढी पुग्न करिब ५ घण्टा लाग्ने गरेको छ ।

‘यो मिटरमा ५ मिटरभन्दा बढी बाढी आएपछि खतरा हुन्छ’ गेजरिडर राम लौटन चौधरीले भने ‘खतराको चिन्ह देखिएपछि मैले जनप्रतिनिधिहरूलाई खबर गर्छु ।’

यो बर्ष ४ मिटर १० सेन्टिमिटरभन्दा बाढी नआएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर