डेढ केजी बढी सुन बेच्नै लाग्दा छोरा र दुई सालासहित पक्राउ परे गणेश (भिडिओ) – Nepal Press
न्यूरोडबाट सुन बरामद

डेढ केजी बढी सुन बेच्नै लाग्दा छोरा र दुई सालासहित पक्राउ परे गणेश (भिडिओ)

पैसा बोकेर पुगेको थियो भारतीय समूह

काठमाडौं । काठमाडौको न्युरोडमा भारतीय समूहलाई एक केजी ७ सय ग्रामभन्दा बढी सुन बिक्री गर्न लाग्दा प्रहरीले करिब डेढ करोड नगदसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ नेपाली र ३ भारतीय छन् ।

नेपाली समूहले भारतीय समूहलाई सुन बिक्री गर्न लाग्दा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

पक्राउ पर्नेमा दार्चुलाको टाटे-३ का ४७ वर्षीय गणेशदत्त बडु, उनका २१ वर्षीय छोरा आयुष बडु, झापाको विर्तामोड घर भएका सालाहरू ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल रहेका छन् । न्युरोडस्थित आयुष बस्दै आएको कोठामा कारोबार भइरहेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । खरेल दाजुभाइ बस्दै आएको अर्को कोठाबाट पनि सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भारतीयमा भारतको महाराष्ट्र सांगली आटपाही थानाका १८ वर्षीय गणेश सतिश बाल्टे, ३७ वर्षीय अमेल विभुते र १८ वर्षीय रिषिकेश प्रकाश विभुते रहेका छन्। भारतीय समूह सुन खरिद गर्न न्युरोड पुगेको थियो । सुन कारोबार प्रयोजनकै लागि बाफलमा बस्दै आएका गणेशदत्त बडुले न्युरोडमा कोठा भाडामा लिएर छोरा र सालाहरूलाई राखेको प्रहरीको दाबी छ ।

प्रहरीले एक केजी ७ सय ६८ दशमलब २५ ग्राम परिमाणका सुनका ९ थान टुक्राहरु र एक करोड ४३ लाख ६० हजार नेपाली नगद बरामद भएको जनाएको छ। गणेश यसअघि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएका थिए । उनीविरुद्ध अदालतमा मुद्दा गएको थियो । प्रहरीले पछिल्लो घटनामा गिरोहले चीनबाट तस्करी गरेर सुन ल्याएको प्रारम्भिक निचोड निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *