सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय – Nepal Press

सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

थापालाई एआईजीपीमा बढुवा गरिए पनि पदस्थापन भने नगरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

‘थापाको पदस्थापनसँगै अन्य एआइजीपीको सरुवाको विषयमा पनि छलफल भएको हो, तर टुंगोमा पुग्न सकेन । अर्को बैठकमा पदस्थापनसँगै सरुवा हुन्छ होला ।’

केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सृजना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।

गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो ।

सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान रहेको छ । नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर