कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा – Nepal Press

कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई हराउँदै अर्नेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ ।

उपाधिका लागि उसले ब्राजिलसँग खेल्नेछ । ब्राजिल यसअघि नै पेरुलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

आज विहाज ब्रासिलियामा सम्पन्न खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट गरिएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक मार्टिनेजले रोकेका थिए ।

पेनाल्टी शुटआउटमा कोलम्बियाका जुहान क्वार्डाडो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आआफ्नो टोलीबाट पहिलो प्रहार गरेका थिए । दुवैले गोल गरे ।

दोस्रो प्रहारमा दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् । अर्जेन्टिनाका रोड्रिगो डी पाउल र कोलम्बियाका ड्याभिन्सन सान्चेसको प्रहार विपक्षी गोलरक्षकले रोकिदिए ।

त्यसपछि अर्जेन्टिनाका लिन्द्रो पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका यारी मिना र इडविन कार्डोनाको प्रहार मार्टिनेजले रोकिदिए । अर्जेन्टिना ३–२ गोलले विजयी रह्यो ।

यसअघि खेल सुरु भएलगत्तै अर्जेन्टिनाले अग्रता लिएको थियो । सातौं मिनेटमा कप्तान मेस्सीले उपलब्ध गराइदिएको पास उपयोग गरी लाउटारो मार्टिनेजले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सुधारिएको काेलम्वियाले ६१ औं मिनेटमा बराबरी गोल फर्कायो । इडविन कार्डोनाको लामो पास सदुपयोग गरी लुइस डियाजले काउन्टर एट्याकमार्फत कठिन एंगलबाट गोल गरेका थिए ।

प्रतियोगिताको नियमअनुसार ३० मिनेटको अतिरिक्त समय नथपी पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो ।

फाइनल खेल आइतबार विहान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *