महिला हक्कीको सेमिफाइनल समीकरण पूरा – Nepal Press

महिला हक्कीको सेमिफाइनल समीकरण पूरा

काभ्रे । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीले सेमिफाइनलमा मधेश प्रदेशको सामना गर्नेछ । त्यस्तै समूह ‘बी’ को विजेता बनेको सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम र मधेसले १-१ गोलको बराबरी खेले । सुदूरपश्चिमका लागि खेलको १४औं मिनेटमा सञ्जु चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन् ।

सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन । खेलको ३४औं मिनेटमा भूमिका कुमारीले मधेशका लागि गोल गर्दै टीमलाई बराबरीमा रोकिन् ।

आज नै भएको दोस्रो खेलमा गण्डकीले बागमतीलाई ६-० गोल अन्तरले हरायो । गण्डकीका लागि खेलको छैटौं मिनेटमा सीतामाया बलले गोल गर्दै टीमलाई अग्रता दिलाइन् । खेलको ३६औं मिनेटमा गीता पुन मगरले गोल गर्दै टीमलाई २-० गोलको अग्रता दिलाइन् ।

खेलको ३७औं मिनेटमा सीतामाया पुनले एक र ४५औं, ५३औं र ५४ औं मिनेटमा गोल गर्दै ज्योति काफ्लेले ह्याट्रिक पूरा गरेर गण्डकीलाई ६-० गोलको जीत दिलाए ।

आज भएको तेस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८-० गोल अन्तरले हरायो । सुदूरपश्चिमका लागि खेलमा सञ्जु चौधरीले ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरीले दुईदुई गोल गरे । त्यस्तै पूर्णिमा उराले एक गोल गरिन ।

आइतबार भएको अन्तिम खेलमा आर्मी क्लबले बागमतीलाई ९-० गोल अन्तरले हरायो । आर्मीका लागि सरस्वती तामाङले चार गोल गरिन् । त्यस्तै सीमा खड्काले दुई, डम्मरा भट्ट र सुनिता नेगीले एकएक गोल गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलमा आर्मी र मधेसश प्रतिस्पर्धा गर्नेछन् । दोस्रोमा सुदूरपश्चिम र गण्डकी भिड्नेछन् ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टीम सहभागी छन् । सहभागी टीमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेल खेलाइएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *