सत्ताबाट बाहिरिने दबाबमा नेकपा एस, आफैं छोड्ने कि हटाइने ? – Nepal Press

सत्ताबाट बाहिरिने दबाबमा नेकपा एस, आफैं छोड्ने कि हटाइने ?

कैलाली । केन्द्रीय सत्ता गठबन्धनबाट नेकपा एस लगभग बाहिरिने निचोडमा पुगेको छ । पार्टीभित्र सत्ता गठबन्धनमा रहने वा नरहने बहसका बीच गठबन्धन छाड्ने संकेत देखिएको पार्टी उच्च स्रोतले बतायो । जसपा नेपाल फुटेपछि नेकपा एस बाहिर रहँदा पनि प्रचण्ड सरकारलाई बहुमत पुग्छ । पार्टीमा फुटसँगै उपेन्द्र यादवले सरकार छाडिसकेका छन् ।

प्रदेश सरकारमा पनि नेकपा एसलाई एमाले-माओवादीले बेवास्ता गर्न थालेपछि माधव नेपालले गठबन्धनमा असजिलो महसुस गरिरहेका छन् ।

एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ । नाउपाका अन्य २ सांसद पनि जोड्दा १४२ सांसद छन् ।

नेकपा एकीकृत नहुँदा पनि सरकार जोगिने भएपछि अहिले नेकपा एसको बार्गेनिङ पावर घटेको छ । तर, जसपा नेपाल गठबन्धनबाट बाहिरिएसँगै नेकपा एस पनि बाहिर आउने वा गठबन्धनले हटाउने विषयमा छलफल चलिरहेको उच्च स्रोतको दाबी छ ।

गठबन्धनबाट हट्दा वा हटाइला पार्टी फुटाउने र एउटा समूहले यही सरकारलाई समर्थन गर्ने विषयमा पछि छलफल भएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने अहिले विभिन्न छलफल र बहस भएपछि पार्टी फुट्ने र गठबन्धन छोड्ने विषयमा कुनै ठोस कुरा नभएको बताउँछन् ।

उनी भन्छन् ‘पार्टीभित्र छलफल र बहस हुने कुरा सामान्य हो तर, गठबन्धनबाट हटाउने वा पार्टी फुट्ने सम्मको विषय अहिले भएको छैन ।’

एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने गठबन्धनमा नेकपा एकीकृत नरहने भन्ने विषय आइरहेको भन्दै तत्काल गठबन्धन छोड्दा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का पुग्ने बताउँछन् ।

‘गठबन्धनमा नरहने, कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्ने भन्दै आइरहेको त सुनिन्छ तर, यसो गर्दा नेकपा एकीकृत समाजवादीलाई धम्का पुग्छ ’, उनले भने ।

एमालेकै अडानका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले अहिले सम्म विश्वासको मत लिन पाएका छैनन् । वैशाख २१ र २२ गते उनले विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले तत्काल केन्द्रसँग परामर्श नगरी विश्वासको मत दिन नसक्ने बताएपछि अहिले फेरि ३ गते विश्वासको मत लिने गरी मुख्यमन्त्री सोडारी अगाडी बढेका छन् । ३ गते पनि विश्वासको मत दिन सक्ने अवस्था नरहेको एमाले स्रोतको दाबी छ ।

सोडारीले ४ गते भित्रै विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । कोशीमा आज नेकपा एकीकृत समाजवादीले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिए ३ गते सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई एमालेले विश्वासको मत दिने संघीय मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले दाबी गरे ।

कोशीमा नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिए एमाले सरकार ढल्ने अवस्था छैन तर, सुदूरपश्चिममा एमालेले नदिए सोडारीले विश्वासको मत पाउँदैनन् । दीर्घ सोडारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली लेनै तत्काल विश्वासको मत नदिन निर्देशन दिएका छन् । यसले पनि सत्ता गजबन्धनमा नेकपा एकीकृत समाजवादी नरहने सङ्केत गरेको एमाले एक पदाधिकारीको दाबी छ ।

‘३\४ गते भित्रै नेकपा एकीकृत समाजवादीको विषय टुङ्गो लाग्छ’, एमाले स्रोतले भन्यो ‘नेकपा एस गठबन्धनबाट बाहिरिने सम्भावना भएकै हुँदा कोशीमा मन्त्री नियुक्त नगरिएको हो र सुदूरपश्चिममा विश्वासको मतको लागि हतार नगरिएको हो ।’

मधेशमा पनि नेकपा एसविना नै सरकार बनाउने गृहकार्य भएपछि तत्काल गठबन्धनबाट निस्कने सम्भावना रहेको ती नेताले बताए ।

अन्य प्रदेशमा पनि नेकपा एकीकृत समाजवादी नहुँदा आवश्यक पर्ने अंकगणितका लागि अन्य दलहरूसँग पनि संवाद र छलफल जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर