विश्व बैंकको ठहर- नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम, प्रदेश र स्थानीय तह घाटामा – Nepal Press

विश्व बैंकको ठहर- नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं । विश्व बैङ्कले नेपालमा वित्तीय संघीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘नेपाल फिस्कल फेडेरालिजम अपडेट, २०२४’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा वित्तीय संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत सुधारको प्रयास भइरहेको जनाएको छ । यसैगरी प्रदेश र स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनको काम जारी रहेको भए पनि समग्रमा कार्यान्वयनको अवस्था भने मध्यम रहेको बैंकले उल्लेख गरेको छ ।

संघीय सरकारको राजस्व घट्दा प्रदेश र स्थानीय तहले पाउने वित्तीय स्रोतसमेत घटेपछि संघीयता कार्यान्वयन पछि पहिलोपटक गत आर्थिक वर्ष २०७९/८० (सन् २०२३) मा प्रदेश र स्थानीय तहका सरकारमा वित्त घाटा देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले भोगको वित्तघाटा कूल गार्हस्थ्य उत्पादन (जीडिपी) को शून्य दशमलव तीन प्रतिशत र स्थानीय तहले भोगेको घाटा जिडिपीको शून्य दशमलव चार प्रतिशत बराबर रहेको देखिएको छ । प्रतिवेदनअनुसार थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा देखिएको गिरावट तथा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धलगायत कारणले प्रदेशहरुको आर्थिक वृद्धिदरसमेत सुस्त छ ।

वित्तीय संघीयता कार्यान्वयन तथा तीन वित्त व्यवस्थापनका लागि तीनवटै तहका सरकारबीच समन्वय गर्न अर्थमन्त्रालयअन्तर्गत वित्तीय संघीयता समन्वय महाशाखाले काम गरिरहेको छ । यो महाशाखाको प्रभावकारिता र कार्यक्षमता थप बढाइनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

प्रतिवेदनले वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारी सञ्चालनका लागि प्रदेश र स्थानीय तहको संस्थागत क्षमता बढाउन सुझाव दिएको छ । जसअन्तर्गत तल्लो तहका सरकारबाट प्रवाह हुने सेवामा सुधार गर्नु प्रमुख विषयका रुपमा उजागर गरिएको छ ।

विश्व बैङ्क प्रतिवेदनले राजस्व बाँडफाँट तथा राजस्व प्रशासन, अन्तरसरकारी वित्तीय हस्तान्तरण, ऋण तथा पूँजी व्यवस्थापन र प्राकृतिक स्रोतबाट सिर्जित राजस्वलाई वित्तीय संघीयता कार्यान्वयनका स्तम्भका रूपमा औँल्याएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मुख्य सचिव डा. बैकुण्ठ अर्यालले यो प्रतिवेदनले औँल्याएका मुख्य विषय तथा सुझावलाई सरकारले कार्यान्वयनमा जोड दिने बताए । यो प्रतिवेदनले नेपालको वित्तीय संघीयताको प्रगतिको विस्तृत समीक्षा गरेको उनको भनाइ छ ।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रतिवेदनले अन्तरसरकारी वित्तीय हस्तान्रण प्रणालीको संस्थागत व्यवस्थालाई थप आवश्यकतामा आधारित र समयसापेक्ष बनाउन, वित्तीय संघीयताको नतिजामा सुधार गर्न र प्रदेश तथा स्थानीय सरकारको वित्तीय स्वायत्तता बढाउनका लागि आवश्यक पर्ने कुरालाई समेटेको बताए ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसले प्रदेश र स्थानीय तहबाट प्रवाह हुने सेवाका वित्तीय संघीयता दिगो आधारस्तम्भ रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर