विराट काेहलीकाे आरसीबी यसरी पुग्नसक्छ आईपीएलको प्ले-अफमा – Nepal Press

विराट काेहलीकाे आरसीबी यसरी पुग्नसक्छ आईपीएलको प्ले-अफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा ५९ खेल सकिएका छन् । समूह चरणका १५ खेल बाँकी हुँदा दुई टीम प्ले-अफको दौडबाट बाहिरिइसकेका छन् । १२ खेलमा ४ जीत र ८ मा हार व्यहोरेका ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पन्जाब किंग्स दुई खेलअगावै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

बाँकी ८ टीमको प्ले-अफमा स्थान बनाउने सम्भावना कायमै छ । लगातार ६ खेल हारेको रोयल च्यालेन्ज बैंग्लोर (आरसीबी) को पनि प्ले -अफमा पुग्ने सम्भावना कायमै छ । १२ खेल खेलेको आरसीबी ५ जीत र ७ हारबाट १० अङ्कसहित सातौं स्थानमा छ । समान १० अङ्क रहेकाे गुजरात टाइटन आठौं स्थानमा छ । दुइटैको प्ले-अफमा पुग्ने सम्भावना कायमै छ ।

पहिलो खेलमा हार व्यहोरेको आरसीबीले दोस्रो खेलमा जीत निकालेको थियो । त्यसपछि लगातार ६ खेलमा आरसीबीले जीत निकाल्न नसक्दा प्ले-अफमा पुग्ने सम्भावना कठिन बनाएको थियो । ८ खेल खेल्दा आरसीबीले मात्र २ अङ्क जोडेको थियो । तर, पछिल्ला ४ खेलमा शत प्रतिशत जीत निकाल्दै आरसीबीले प्ले अफमा पुग्ने झिनो आशा कायमै राखेको छ ।

आरसीबीले अब दुई खेल खेल्न बाँकी छ । आइतबार दिल्ली क्यापिटल र आउँदो शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सको १६ अङ्क रहेकाले आरसीबीले दुइटै खेल जित्दा पनि १६ अङ्क हुँदैन । त्यसकारण पहिलो र दोस्रो स्थानमा पुग्ने सम्भावना देखिँदैन । तेस्रो र चौथो स्थानमा रहन पनि आरसीबीलाई आफ्नो जीतले मात्र पुग्नेछैन ।

अरू टीमको नतिजाले समेत आरसीबीको भाग्य निर्धारण गर्नेछ । कोलकाता र राजस्थानबाहेकका सबै टीमले दुईदुई खेल खेल्न बाँकी छ । सनराइजर्स हैदराबादको १४, चेन्नई, दिल्ली र लखनऊ सुपर जायन्ट्सको समान १२ अङ्क छ । हैदराबादले एक खेल जितेमा पनि आरसीबीको तेस्रो स्थानमा पुग्ने सम्भावना सकिनेछ र चेन्नई, दिल्ली र लखनउमध्ये एक टीमले दुइटै खेल जितेमा आरसीबीको प्ले-अफ खेल्ने सम्भावनामा पूर्णविराम लाग्नेछ ।

प्ले-अफमा पुग्न आरसीबीले दुइटै खेल जित्नु त पर्ने नै हुन्छ । थप हैदराबाद र चेन्नई दुई खेल र लखनउ कम्तीमा एक खेल हार्नुपर्ने हुन्छ । त्यो हुँदा दिल्ली र लखनउमध्ये एक टीम अगाडि जान्छ । यो नतिजामा पनि आरसीबीले रनरेटमा हैदरावादलाई पछि पार्नुपर्ने हुन्छ । सोचेअनुसार नतिजा आएमा आरसीबीले प्लेअफमा स्थान बनाउनेछ । आरसीबीका खेलाडी विराट कोहली सर्वाधिक रन बनाउनेको पहिलो नम्बरमा छन् । उनले १२ खेलमा ६३४ रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर