विपत पूर्वसूचना प्रणालीमा लगानी बढाउन माग – Nepal Press

विपत पूर्वसूचना प्रणालीमा लगानी बढाउन माग

काठमाडौं । सरोकारवालाहरुले बाढी, पहिरो, डुबानलगायत मनसुनजन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले सोमबार गरेको मनसुन अवधिमा वर्षाको आङ्कलन सार्वजनिक कार्यक्रममा सरोकारवालाहरुले पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको औंल्याए ।

जलस्रोत तथा सिंचाइ सचिव सरिता दुवाडीले ८० प्रतिशत पानी मनसुन अवधिमा पर्ने जनाउँदै मौसम पूर्वानुमान प्रणालीलाई भरपर्दो बनाउनुपर्नेमा जोड दिइन् । उनले पूर्वसूचना प्रणालीलाई अझै बढी व्यवस्थित बनाउन संस्थागत सुधारको आवश्यकता रहेको बताइन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका (ऊर्जा) सचिव सुशीलचन्द्र तिवारीले क्षमता विकास र प्रविधि विकास गर्दै पूर्वसूचना प्रणालीलाई अझै बढी व्यवस्थित र भरपर्दो बनाउनुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सुरजकुमार वैद्यले पनि जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अझै प्रभावकारी रुपमा प्रवाह गर्न जरुरी रहेको बताए । विभागलाई आवश्यक पर्ने जनशक्ति अभाव रहेको भन्दै जनशक्ति र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

यसैगरी जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मनसुनजन्य घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न व्यापक रुपमा पूर्वतयारी गर्न आवश्यक रहेकोसमेत जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पनि विपद्जन्य घटनाको प्रतिकार्यका लागि पूर्वतयारी तथा पूर्वसूचना प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको जानकारी दिए ।

‘यसका लागि बलियो संयन्त्र जरुरी छ । साथै आवश्यक बजेट व्यवस्थापन गर्दै यस क्षेत्रमा लगानी बढाउन जरुरी छ’, उनले भने ।

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पनि पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा अझै बढी भरपर्दो र विश्वासनीय पूर्वसूचना प्रवाह गर्न सकिने बताए ।

विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागले आगामी मनसुनी अवस्थाको पूर्वानुमान गर्दै यो मनसुनमा वर्षा सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । यसले विपतजन्य घटना बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन आह्वान गरेको छ । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *