फिल्म रिलिजअगावै अनमोल-जसिताको जोडी हिट ! के रियल लाइफमै प्रेममा छन् ? – Nepal Press

फिल्म रिलिजअगावै अनमोल-जसिताको जोडी हिट ! के रियल लाइफमै प्रेममा छन् ?

विवाहको सम्भावनाबारे अनमोल भन्छन्- दर्शकले चाहनुभएको छ भने हामीले मान्नुपर्छ

काठमाडौं । के सुपरस्टार अनमोल केसी प्रेममा छन् ? के नायिका जसिता गुरुङ उनकी रियल लाइफ प्रेमिका हुन् ?

चलचित्र ‘फर्की-फर्की’ रिलिजको संघारमा यी दुई प्रश्न कलिउडको ‘गसिपनगरी’ भित्र गर्माउँदो छ । हालैका अन्तर्वार्तामा दुवैको हाउभाउ र प्रस्तुति हेर्दा यो सम्भावनालाई नकार्न सकिने अवस्था देखिँदैन ।

‘इन्ट्रोभर्ट’ नायकका रुपमा चिनिन्छन् अनमोल । अरु कलाकारले जस्तो उनी आफ्नो निजी जीवनलाई मिडियामा छताछुल्ल पार्दैनन् । खासमा त उनी आफ्नो फिल्म रिलिजको छेकोमा बाहेक मिडियामा देखा नै पर्दैनन् ।

‘फर्की-फर्की’ रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि मात्रै मिडियाका लागि अनमोलले आफ्नो दैलो उघारिदिए । अहिले उनका अन्तर्वार्ता लिन टेलिभिजनदेखि युट्युब च्यानल र अखबारदेखि अनलाइनसम्मका मिडियापसर्नहरु लाइन लागेका छन् । केही दिन यो गसिप नगरी अनमोल-जसितामय हुनेमा शंका छैन । र, हरेक अन्तर्वार्तामा उनीहरुलाई नछुटाइ सोधिनेछ- के तपाईंहरु प्रेममा हो ?

अनमोल र जसिताले पहिलो पटक फिल्ममा सहकार्य गरेका हुन् । चलचित्रमा जोडी बाँधिनासाथै उनीहरुको ‘केमेस्ट्री’ को चर्चा हुन थालेको थियो । रिलिजसम्म आइपुग्दा कतिपयले उनीहरु प्रेममा नै परिसकेको दाबीसमेत गर्न थालेका छन् । औपचारिक कुराकानीमा उनीहरु दुवै यसलाई स्वीकार्दैनन्, तर सम्भावनालाई नकार्न पनि सक्दैनन् ।

अनमोल र जसिता सँगै अन्तर्वार्तामा प्रस्तुत हुँदा एक-अर्काप्रति उनीहरुको झुकाव र प्रेम लुकाउनै नसक्ने गरी पोखिन थालेको छ । जस्तो कि अनमोलले आफ्नो पारिवारिक कुरा सुनाउँदा जसिताको आँखामा आँसु छचल्कियो । अप्ठेरा प्रश्नको जवाफ नदिँदा रक्सी पिउन लगाइने कार्यक्रममा अनमोलले जसितालाई गाह्रो हुने भन्दै उनको साटो आफैंले पिइदिए ।

यसअघि पनि एक–दुई नायिकासँग अनमोलको नाम जोडिएको थियो । तर, अफेयरमै रहेको दाबी गर्न सकिने कुनै पनि छनक उनले सार्वजनिक रुपमा पेश गरेका थिएनन् । जसितासँग नाम जोडिँदा भने अनमोल निकै ‘कम्फर्टेबल’ देखिन्छन् ।

एउटा अन्तर्वार्तामा उनलाई यदि तपाईंहरुको विवाह भयो भने आश्चर्यको विषय हुन्छ कि हुँदैन भनेर सोधिएको छ । जवाफमा अनमोलले भनेका छन्, ‘उनलाई डिजर्भ गर्ने मान्छे एकदमै लक्की हुनुपर्छ । यदि (हाम्रो बिहे) भइहाल्यो भने म आफूलाई धेरै भाग्यमानी सम्झिने छु ।’

यही प्रश्नमा जसिताको जवाफ पनि सकारात्मक नै छ ।

उनी भन्छिन्, ‘भविष्यमा जे पनि हुनसक्छ । (भविष्यमा बिहे भयो भने) आश्चर्यचकित हुनुपर्दैन । अनमोललाई जीवन साथी पाउने केटी भाग्यमानी हो, चाहे व्वाइफ्रेन्डका रुपमा होस् वा श्रीमानका रुपमा ।’

धेरै दर्शकले तपाईंहरुलाई ‘कपल’ को रुपमा हेर्न चाहेका छन् नि भन्ने प्रश्नमा अनमोलले झनै खुलेर बोलेका छन् ।

‘दर्शकहरुले भनेको कुरा हामीले मान्नु पनि पर्छ । उहाँहरु नै हाम्रो भगवान हो’, उनी भन्छन्, ‘तर, अहिले चाहिँ हामी करिअरमा नै फोकस्ड छौं ।’

आफूलाई सुटिङस्थलमा केयर गरेको भनेर पनि अनमोलले जसिताको तारिफ गरे ।

उनी भन्छन्, ‘म अहिलेसम्म उनीसित मेरो किन सहकार्य भएन भनेर सोच्छु । उनीसित काम गर्दा धेरै कुराहरु सिक्ने मौका पाएँ । डान्समा मलाई उनले धेरै हेल्प गरिन् । कसरी एफर्टलेस नाच्ने भनेर सिकाइन् । उनले मलाई धेरै केयर पनि गर्थिन् । म काम गरिरहँदा भोक प्यास सबै बिर्सिएको हुन्छु । उनले मलाई रिमाइन्ड गराउँथिन् । मैले आफ्नो स्किनको कहिल्यै ध्यान राख्दिन थिएँ । उनलाई भेटेपछि राख्न थालें ।’

जसिता पनि अनमोलको बयान गरेर थाक्दिनन् ।

उनी भन्छिन्, ‘मैले अनमोललाई अब्जर्भ गरेर नै उबाट धेरै सिकें । ऊ एकदमै अनुशासित छ । अलवेज प्रिपेयर्ड रहन्छ । एकदमै मेहनति छ । उसलाई अरुले बोल्ने लाइनहरु पनि सबै याद हुन्छ । उसित काम गर्न पाउँदा नै आफूलाई भाग्यमानी सम्झिएकी छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर