अर्थ समिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल – Nepal Press

अर्थ समिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिले आगामी बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सोमबार भएको अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री पौडेलले अर्थ समिति बजेट बनाउने निकाय नभएकाले राष्ट्र बैंकसँग बजेट सुझाव दिन बोलाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले अर्थ समिति बजेट बनाउने निकाय नभएकाले राष्ट्र बैकले अर्थ मन्त्रालयलाई दिएका सुझाव समितिलाई बुझाउनु गलत भएको बताए ।

समितिले राष्ट्र बैंकसँग बजेटको विषयमा सुझाव माग गर्नुपर्ने आवश्यकता नभएको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ ।

पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्न राष्ट्र बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘अर्थतन्त्रले विभिन्न किसिमका समस्या व्यहोर्नुपरेको छ । यस्तो विशेष परिस्थितिमा माग, उत्पादन, सप्लाइ, उपभोगमा कमी भएको छ । त्यसले व्यवसायीहरुले ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको छ । साँवा ब्याज समयमा तिर्न नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । कालोसूचीमा पर्दै गएका छन् । व्यवसायीहरुमा फ्रस्टेशनको स्थिति छ । अब कसरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने भन्दा पनि ऋणको बोझबाट कसरी बाहिर निस्कने भन्ने चिन्तामा व्यवसायीहरु छन् । यो समस्यालाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकले बृहत छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुपर्छ ।’

उनले राष्ट्र बैंकको तथ्याङ्कले नै मुलुकमा माग, उत्पादन, सप्लाइ, उपभोगमा कमी भएको र व्यवसायीहरुले लिएको ऋणको साँवा ब्याज समयमा तिर्न नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर