दाङमा आगलागीपछि दमकल पुग्ने बाटो नहुँदा २४ घर नष्ट, २५ घरमध्ये टीन छाएको एक मात्रै जोगियो – Nepal Press

दाङमा आगलागीपछि दमकल पुग्ने बाटो नहुँदा २४ घर नष्ट, २५ घरमध्ये टीन छाएको एक मात्रै जोगियो

रुपन्देही । तराईको सुगम जिल्ला भनेर गनिने लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला दाङको राजपुर गाउँपालिका वडा नं ७ हाडबास गाउँमा आइतबार भएको आगलागी निभाउन दमकल जान सकेन । त्यो गाउँमा ट्याक्टर जानेसमेत बाटो नभएकाले दमकल जान नसकेको हो ।

दिउँसोमा भएको आगलागीबाट कुनै मानवीय क्षति नभएपनि २४ घर जलेर नष्ट भएका छन्। सो गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले बताएका छन् । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन समयमा दमकल पुग्न नसकेकोले ठूलो क्षति भएको हो । यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आएको छैन ।

आगलागीबाट २४ घरसहित १० वटा गोठसमेत जलेर नष्ट भएका छन् । सो गाउँमा २५ वटा घरमध्ये जलेर नष्ट भएका २४ घर सबैले खरले छाएका थिए बचेको १ घर मात्रै टीनले छाएको थियो । आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो ।

आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका हुन् । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि हावाहुरीले गर्दा बनबाट वस्तीमा आगो लागेको हो ।

गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले राजपुर गाउँपालिका सबैभन्दा दुर्गम क्षेत्र भएकाले अहिलेपनि यहाँका तीन वटा वडाका धेरै गाउँमा ट्याक्टर पनि जान नसक्ने अवस्था भएकाले दमकल जान नसकेको र आगलागीबाट बढी क्षति भएको बताए ।

‘यो मुगु, डोल्पाजस्तै दुर्गम हो विकासका लागि, प्रदेश र संघीय सरकारले केही हेरेको छैन, तराईको जिल्ला नाम मात्रैको हो, अहिले पनि यहाँको वडा नं १, ६ र ७ का सबै गाउँमा ट्याक्टरसमेत जाने बाटो छैन, यस्तो आगलागीको विपत्तिमा दमकल पठाउन नसक्दा ठूलो क्षति भयो’ बुढाथोकीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर