यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने – Nepal Press

यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

एक दशकमा बाढीबाट बिते ७ सय ५२ जना, ४७७ वेपत्ता

काठमाडौं । सरकारले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो दुवै प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो ।

नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा ७ सय ५२ जनाको बाढीजन्य घटनामा परेर मृत्यु भएको छ । १ हजार ५ सय ४ वटा बाढीको घटनामा परेका ४ सय ७७ जना अझैं वेपत्ता रहेका छन् ।

एक दशकको तथ्यांक हेर्दा २०७४ सालमा सबैभन्दा बढी २ सय ३८ बाढीका घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो । २०७० र ०७१ मा दुवै वर्ष समान १ सय ३३ जना वेपत्ता भएका थिए ।

स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी सुनसरीमा ४ लाख ५ हजार ५ सय १० घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा रौतहटमा १ लाख ६८ हजार ८ सय ३७ घरपरिवार प्रभावित हुनेछन् ।

तेस्रोमा कञ्चनपुरमा १ लाख ७ हजार ६ सय ४५, चौथोमा सर्लाहीमा १ लाख ४ हजार ६ सय ५६ जना घरपरिवार र पाचौँमा सिराहामा १ लाख २ हजार १ सय २८ घरपरिवार प्रभावित हुनेछन् ।

विभिन्न जिल्लामा भारनयोग विधि प्रयोग गरेर निकालिए अनुसार पहिरोबाट मात्र १ लाख १७ हजार २ सय १७ घरपरिवार प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जनाएको छ ।

जसमा सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ जना घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए उनका अनुसार तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुनेछन् ।

विगत ९ वर्षको अवधिमा पुर्ण तथा आंशिक गरेर १ अर्ब ६ करोड ३४ लाख ९५ हजार २ सय ४९ बराबरको अनुमानित क्षति भएको जनाइएको छ । जसमा ११ हजार ८२ घर पूर्ण रुपमा क्षति भएका छन् भने ४१ हजार ८ सय २७ घर आंशिक रुपमा क्षति भएका छन् । दुवै गरेर ५२ हजार ९ सय ९ वटा घरमा क्षति पुगेको छ ।

पछिल्ला १० वर्षमा मुलुकभर बाढीबाट २ लाख ७३ हजार ७ सय ७६ जना प्रभावित भएका पनि प्राधिकरणले जनाएको छ । औषतमा सबैभन्दा बढी महोत्तरीमा १ लाख १ हजार ३ सय ७ जना प्रभावित भएका छन् भने दोस्रोमा मोरङमा ३४ हजार ८ सय ७७ जना प्रभावित भएका छन् ।

विपद व्यवस्थापन कोषमा करिब १ अर्ब

यस वर्षको मनसून आपत्कालीन कार्यका लागि पूर्वतयारी तथा प्रतिकार्यका लागि सातै प्रदेशका विपद व्यवस्थापन कोषमा करिव १ अर्ब जम्मा रहेको छ । प्राधिकरणका अनुसार ७ वटै प्रदेशको जोड्दा ९९ करोड ९० लाख ५८ हजार ५ सय ६२ रुपैयाँ मौज्दात रहेको छ ।

जसमा सबैभन्दा बढी प्रदेश २ मा ४५ करोड ६९ लाख ९ हजार ४ सय ७९ रुपैयाँ जम्मा रहेको छ भने दोस्रोमा बागमती प्रदेशमा २५ करोड ४८ लाख ८४ हजार ६ सय ३३ रुपैयाँ जम्मा छ । यस्तै क्रमशः लुम्बिनी प्रदेशमा १० करोड २ लाख २४ हजार १ सय ९४,प्रदेश नं १ मा ६ करोड ४९ लाख ८३ हजार ७ सय ८७, सुदूरपश्चिम प्रदेशमा ६ करोड ३१ लाख ७४ हजार ११, गण्डकी प्रदेशमा ३ करोड ४२ लाख ५० हजार १ सय ६४ र कर्णाली प्रदेशमा २ करोड ४६ लाख ३२ हजार २ सय ९४ रुपैयाँ मौज्दात छ ।

९ जिल्लाका ३६ स्थानीय तहमा पूर्व सूचना प्रणाली विकास

प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ्ग गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्व सुचना प्रणालीको विकास गर्न सुरुवात गरिएको छ ।

अहिलेसम्म वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही शहरी क्षेत्रका १ सय ५५ वटा स्वीकृत खुला क्षेत्र र समुदायले प्रयोग गरिरहेका अन्य सामान्य १ सय ९१ खुला स्थानको अभिलेखलाई प्रणालीमा ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर