जसको स्वर २१ वर्षपछि टिकटकमा भाइरल भयो तर उनैलाई थाहा छैन – Nepal Press

जसको स्वर २१ वर्षपछि टिकटकमा भाइरल भयो तर उनैलाई थाहा छैन

जनकपुरधाम । ‘तिम्रो स्वर त भाइरल भएछ,’ गाउँमा विजयकुमार मण्डललाई कसैले सुनाइदियो यो कुरा । ‘कसरी ?’ उनी दंग पर्दै सोच्न थाले ।

नाचका पारखी भए पनि कलाकारितामा उस्तो चर्चा पाएका थिएनन् विजयले । तर, टिकटकमा भाइरल भएको आफ्नो स्वर हेरेपछि निकै खुसी भए ।

‘कथि नाम हौ गै
हगै, माई अखनी छि ने हौ
आब बेर बितल हमरा जाइछै हौ परदेशी, देशिया….’

मैथिली भाषाका यी तीन हरफ ‘कुवर वृजवान’को नाचमा दुई पात्रबीचको संवाद हुन् । एक पात्रले अर्का पात्रलाई सोध्छ- नाम के हो ? अनि दोस्रो पात्रले गीति शैलीमा जवाफ फर्काउँछ- हे आमा, म अहिले यहीँ छु नि । अब समय बित्दै गएको छ परदेशी देशिया ।

बाजाको मोहक धुनका साथ गीति शैलीमा भएको यो सवाल-जवाफ यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । लाखौं मानिसले त्यो आवाजमा एक्टिङ गरेका छन् ।

धनुषाका हँसपुर नगरपालिका-९ मोरहा रुदौलीका विजयले २१ वर्षअघि भारतको गंगा नामक कम्पनीले कुवर वृजवान नाचको भिडियो तयार पारेका थिए ।

त्यो भिडियोमा मण्डलको स्वर छ ।

विजयको अनुसार भिडियोमा इन्द्रासनको परीबारे देखाउन खोजिएको थियो । परीको नाम थियो- चन्द्रकला । कुवर वृजमानको नाम इन्द्रदेव । किंवदन्तीअनुसार जब परी चन्द्रकलालाई मृतलोक पठाइयो । पछि फेरि उनी इन्द्रलोकै फर्किन् ।

युट्युबमा भेट्न सकिन्छ यो दृश्य । र त युट्युबबाटै कसैले टिकटकमा प्रयोग गरेर एक्टिङमा उनको स्वर प्रयोग गरिदिएछन् । त्यसपछि त्यही स्वर राखेर लाखौं मानिस टिकटक बनाइरहेका छन् । लाखौंले रुचाएका पनि छन् ।

मण्डल ‘कुवर वृजवान’ नाचको भाइरल भिडियो हेर्दै हाँस्छन् ।

पछिल्लो समय निराश थिए मण्डल । पहिले पो विवाह, उत्सव, मेला लगायतका कार्यक्रममा नाच हुन्थ्यो । मानिसहरू रातभर जाग्राम बसेर नाच हेर्थे । ‘पछिल्लो समय डिजे र आरकेस्ट्रातर्फ युवाहरूको आकर्षण बढ्यो । जसका कारण नाचको क्रेज घट्यो,’ उनी सुनाउँछन् ।

उनलाई लाग्छ, समय फर्कियो १२ वर्षमा खोला फर्केझैं । अझ उनको समय त २१ वर्षपछि फर्कियो । ‘अहिले युवाहरूले पुनः नाचको धुन र स्वर मन पराउन थालेका छन् । आशा बढ्दैछ,’ उनी हाँस्छन् ।

०००

विजय ४३ वर्षका भए । १४ वर्षमै विवाह गरेका उनका ५ छोरा र तीन छोरी छन् । छोरीहरूको विवाह भइसक्यो । छोराहरू वैदेशिक रोजगारमा छन् । हुर्के बढेका सन्तानबारे सोच्दै गर्दा त उमेर ढल्कँदै छ कि भन्ने लाग्छ । तर, नाच्न लागेपछि आफूलाई उही जवान सम्झन्छन् ।

विजयलाई छोरा-छोरीहरू नाच्ने काम नगर्नु भन्छन् । कसरी छाड्न सक्थे र, बाल्यकालदेखिको सपना, जपना । ‘छाड्न यो मान मानेको छैन । जबसम्म सक्छु, गरिरहन्छु,’ उनी भन्छन् ।

उनी त्यतिबेला कक्षा ५ मा पढ्थे । कक्षाकोठामा सुरिलो आवाजमा गीत गाउँथे । त्यसपछि शिक्षकहरूले ‘नटुवा’ भन्न थाले । साथीभाइले पनि उक्साउन थाले । अनि त उनको सपना झन् तेजिलो बन्दै गयो । भन्थे- म पनि कलाकार बन्छ ।

त्यसका लागि नाच चाहिन्थ्यो । नाच सिक्न थाले । नाच सिक्ने क्रममा उनले घरसमेत त्याग्नपुरेको थियो ।

०००

‘कुवर वृजमान’ नाचको माग अहिले पनि उत्तिकै छ । कोरोनाका कारण लकडाउन हुन्थेन भने तीन चार स्टेजमा प्रस्तुति निश्चित थिए यसपालि ।

तर, रोकियो ।

एउटा कार्यक्रममा उनीहरूको समूहमा नाच्ने नै १८/१९ जना हुन्छन् । उनीहरू एकरातको ३५ देखि ४० हजार रुपैयाँसम्म लिने गर्छन् ।

गंगा कम्पनीले ‘कुवर वृजवान’ नाचको भिडियो बनाएर युट्यूवमा राखेको छ । कम्पनीले मण्डल सहितका कलाकारसँग सम्झौता गरेको थियो ।

नाचको सुटिङ गर्न १७ दिन लागेको थियो । एउटा सुटिङको एक लाख ८० हजार भारु कलाकारहरूले लिए र सबैले बराबरी भाग लगाए ।

अहिले प्रत्येक कलाकारलाई गंगा कम्पनीले प्रतिमहिना १० हजार पठाउँछ ।

त्यतिबेला २५ वर्षसम्म प्रति महिना १० हजार पठाउने सम्झौता भएको थियो । ‘अब त २१ वर्ष वितिसक्यो । ४ वर्षमा रिटायर्ड हुँदैछौं । त्यसपछि कम्पनीले रुपैया पठाउन छाड्छ,’ विजय सुनाउँछन् ।


प्रतिक्रिया

One thought on “जसको स्वर २१ वर्षपछि टिकटकमा भाइरल भयो तर उनैलाई थाहा छैन

  1. ढिलै भएपनी कलाको सम्मान भएको हेर्दा सार्है खुशी लागो । हाम्रा गाउँ घरमा उहाँ जस्तै थुप्रै लोक कलाकारहरु को कला त्यतिकै मर्न लागेको छ जसलाई अहिलेको डिजिटल प्लाटफोर्म मार्फत मिडियामा ल्याउनसको भने पक्कै पनि युवा पिढीलाई यसबाट प्रेरणा मिल्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर