राष्ट्र बैंक स्थापनाको ६८ पूरा, पहिलो सञ्चालक समितिमा को-को थिए ? – Nepal Press

राष्ट्र बैंक स्थापनाको ६८ पूरा, पहिलो सञ्चालक समितिमा को-को थिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंक आजकै दिन ६८ वर्ष पहिले स्थापना भएको थियो । नेपालको केन्द्रीय बैंकको रूपमा रहेको राष्ट्र बैंक बैंक तथा वित्तिय संस्था (क, ख ,ग र घ वर्ग) को नियमन र सुपरिवेक्षण गर्ने निकाय हो ।

२०१३ साल वैशाख १४ गते केन्द्रीय बैंक तत्कालीन ‘राष्ट्र बैंक ऐन, २०१२’ अनुसार स्थापना भएको भएको हो । केन्द्रीय बैंकको पहिलो सञ्चालक समितिका सम्बन्धमा सोही सालको वैशाख १३ गते नेपाल गजेटमा अर्थ मन्त्रालयको सूचना प्रकाशित भएको थियो । त्यति बेला राष्ट्र बैंकको गभर्नर हिमालयन शमशेर राणा थिए ।

गभर्नर नै सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था बमोजिम राणा नै अध्यक्ष थिए । हालसम्म बैंकको गभर्नर १७ जना भइसकेका छन् । अहिलेको गभर्नर भने महाप्रसाद अधिकारी हुन् । गभर्नरको कार्यकाल पाँच वर्षको तोकिएको छ । त्यति बेला अर्थ सचिव नरप्रकाश थापा सञ्चालक सदस्य थिए । डेपुटी सेक्रेटरी हिरण्य ध्वज जोशी, गयाप्रसाद शाह, कृष्ण बहादुर मुगाली थापा सञ्चालक सदस्य थिए ।

सम्बन्धित देशको मुद्राको छपाइ, वितरण लगायतका स्वदेशी मुद्राको सम्पूर्ण व्यवस्थापन, स्वदेशी मुद्राको विदेशी मुद्रासँगको खरिद बिक्रीदरको निर्धारण, स्वदेशमा हुने मुद्रास्फीतिको नियन्त्रण एवं व्यवस्थापन, देशभित्र बैंकिङ तथा वित्तीय क्षेत्रको विकास एवं स्थायित्व कायम गर्ने कार्य केन्द्रीय बैंकले गर्दछ । पुरानो ऐनलाई प्रतिस्थापन गर्दै बनेको नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले केन्द्रीय बैंकले गर्ने सम्पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।

राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरीवेक्षकीय निकाय हो । राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि बि।सं २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन गरिएको थियो ।

राष्ट्र बैंकको स्थापना भएपछि सदर मुलुकी खानाले छपाइ गरेका नोटको स्वामित्व राष्ट्र बैंकले लियो । राष्ट्र बैंक आफैँले भने २०१६ साल फागुनदेखि नोट छपाइ गर्न थालेको हो । राष्ट्र बैंकमा अहिले १७ विभाग छन् । सो विभागको प्रमुख कार्यकारी निर्देशक (इडि) हुने व्यवस्था छ ।

देश विकासको लागि तथा वस्तु तथा सेवाको मूल्य नियन्त्रणमा राखी अर्थव्यवस्थामा कति रुपैयाँ आवश्यक पर्छ भन्ने अध्ययन गरी सोही अनुसार रुपैयाँ पैसाको व्यवस्था गर्ने काम राष्ट्र बैंकले गर्दछ ।

राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने,मौद्रिक नीतिको तर्जुमा तथा सञ्चालन गर्ने,सरकारको बैंक तथा बैंकहरूको बैंकको रूपमा भूमिका निर्वाह गर्ने गर्दछ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *