‘बोक्सीको घर’को भव्य प्रिमियर, कलाकारहरुले गरे केकीको तारिफ (भिडिओ) – Nepal Press

‘बोक्सीको घर’को भव्य प्रिमियर, कलाकारहरुले गरे केकीको तारिफ (भिडिओ)

काठमाडौं । वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को बिहीबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा एउटी महिलाले कथित बोक्सीको आरोपमा भोग्नु परेको लाञ्छना, आरोप, यातना, हिंसा र बलात्कारको घटनालाई मुख्य विषय बनाइएको छ ।

५० को दशकबाट सुरु भएको कथामा सिंगो समाज एउटी निहत्था महिलामाथि कसरी संगठित रूप जाइलाग्छ भनेर देखाइएको छ ।

महिलामाथि हुने जघन्य अपराधको कथालाई प्रस्तुत गरिएको ‘बोक्सीको घर’को प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । अभिनेत्री केकी अधिकारीले निर्माण समेत रहेको ‘बोक्सीको घर’ हेरेपछि अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको खुलेरै तारिफ गरिन् ।

उनले भनिन्, ‘महिला वा पुरुषको रूपमा विभाजित गर्ने भन्दा पनि समाजको चेतनास्तर कस्तो छ भन्ने कुरालाई फिल्मले प्रकाश परेको छ ।’ साथै खड्काले अधिकारीको अभिनयको समेत खुलेर प्रशंसा गरिन् ।

त्यस्तै निर्देशक तथा निर्माता अशोक शर्माले पनि यस्तो सिनेमालाई दर्शकको साथको आवश्यकता रहेको बताए । अभिनेत्री बेनिशा हमालले समाजमा घट्ने विभिन्न घटनामध्येको एउटा तितो यथार्थलाई टपक्क टिपेर सुन्दर फिल्म निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री अधिकारीलाई धन्यवाद दिइन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट सिनेमा बनेको भन्दै सम्पूर्ण दर्शकलाई सिनेमा हेरेर साथ दिन आग्रह गरिन् ।

गायक तथा अभिनेता प्रकाश सपुतले पनि फिल्मको मर्मअनुसार ‘बुझिनँ मैले’ बोलको गीत बनाउने अवसर दिएकोमा अधिकारीलाई धन्यवाद दिए । उनले भने, ‘गीतलाई जुन हिसाबमा दर्शकबाट साथ सहयोग मिलेको छ, त्यस्तै सहयोगको खाँचो फिल्मलाई पनि छ । यो फिल्म हेरेर साथ दिन सम्पूर्ण दर्शकलाई आग्रह गर्छु ।’

फिल्मकी निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले आफूले निर्देशक सुलक्षण भारतीसँग मिलेर समाजको कथा उठान गरेकाले सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी निर्माण टिमको छ । निर्माताका रूपमा केकीका पिता बद्री अधिकारी समेत रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

‘बोक्सीको घर’मा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । बुधवारदेखि नै हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *