रेम्डेसिभिर सस्तोमा बेच्ने क्लिनिकलाई कारवाही, सीडीओको चौतर्फी आलोचना – Nepal Press

रेम्डेसिभिर सस्तोमा बेच्ने क्लिनिकलाई कारवाही, सीडीओको चौतर्फी आलोचना

दाङ । दाङमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्दै आइरहेको रेम्डेसिभिर सस्तोमा बेचेकाे  भन्दै एक निजी क्लिनिकलाई जिल्ला प्रशासन कार्यालय दाङले बिक्री वितरणमा रोक लगाएको छ ।

औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले स्थानीय प्रहरी प्रशासनको समन्वयमा रेम्डेसिभिर सस्तोमा बिक्री गर्ने घोराहीको कालिका मेडिकल हललाई सिल गरेको हो । रेम्डेसिभिरको प्रचार फेसबुकमा किन गरियो भन्दै प्रश्न गर्दै छापा हानेको औषधि व्यवस्था विभाग नेपालगञ्जका एक कर्मचारीले बताए ।

उनले अहिले पसलमा मौजाद भएको रेम्डेसिभिरको तथ्यांङ लिई मुचुल्का तयार गरी स्थानीय प्रहरी प्रशासनको रोहबरमा पसल सिल गरिएको र रेम्डेसिभर नबेच्न पनि भनिएको बताए।

घोराहीमा सरकारी अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालमा मात्रै रेम्डेसिभिरको बिक्री वितरण हुँदै आएको छ । विभागको उजुरीको आधारमा मेडिकल हललाई सिल गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

‘रेम्डेसिभिर महङ्गोमा बिक्रि गरेको बारेमा कुनै जानकारी नरहेको र विभागले नै समन्व गरिदिन भनेकाले त्यहाँ पुगेर पसल सिल गरिएको हो ,’ उनले भने । रेम्डेसिभिर सस्तोमा नै बिक्री गरेको कुरा आएकाले यो बारेमा आफैले सहजीकरण गर्ने उनले बताए।

औषधि व्यवस्था विभाग नेपालगञ्जको निर्देशन बमोजिम प्रजिअ पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाललाई त्यहाँ पठाएर पसल सिल गर्न लगाएका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय दाङले सिफारिस दिएर नै रेम्डेसिभरको निजि क्लिनिकले बिक्री गरेका थिए । रेम्डेसिभरको बिक्रीमा रोक लगाएपछि प्रजीअ पौडेलमाथी स्थानीयको आक्रोश चुलिएको छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कोरोना महामारीले आक्रान्त दाङमा चिकित्सकको सिफारिसमा चार हजार आठ सयमा रेम्डेसिभिर बिक्री गर्दा रोक लगाईनु अत्यन्तै खेदजनक भएको भन्दै प्रजिअ पौडेललाई चेतावनी दिएका छन । तत्काल बिक्री गर्ने वातावरण बनाउन पनि गिरीले प्रशासनलाई आग्रह गरेका छन ।

सरकारले कोभिडका बिरामीको उपचारमा प्रयोग हुने औषधि सरकारले रेम्डेसिभिरको मूल्य प्रति भायल ४ हजार ९ सय रुपैया तोकेको थियो । निजी अस्पतालले एक सय सस्तोमा बिक्री गर्दै आएका थिए ।

जिल्लाका निजि स्वास्थ्य संस्थाहरुले पनि रेम्डेसिभिर वितरण गर्दै आएका थिए । तर, औषधी व्यवस्था विभागले निजिलाई रेम्डिसिभर विक्री वितरणमा रोक लगाएको छ ।
तर विभागले सस्तोमा रेम्डेसिभिर बिक्री गर्नेलाई किन रोक लगाएको भन्ने खुलाउन चाहेन । जिल्लामा थोक औषधी व्यवसायी संघ मार्फत वितरण गर्दै आएका थिए ।

विभागको यो कार्य पनि जिल्लामा आलोचना हुने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) दाङका ईञ्चार्ज जीवन गौतमले एक विज्ञप्ति जारी गरि थोक औषधि व्यवसायी संघमार्फत सस्तो दरमा बिक्री भइरहेको रेम्डेसिभरको विभागले बन्द गरिदिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङको सिफारिसमा आएको सो औषधि बिक्रीमा रोक लगाउँदा नागरिक सहजै र सस्तो मूल्यमा औषधी पाउने अधिकारबाट वञ्चित हुनुका साथै कालोबजारी फष्टाउने खतरा पनि उत्तिकै बढेर गएको भन्दै सामाजिक सेवाको भावसहित सस्तोमा रेम्डेसिभिर बिक्री गर्ने व्यवसायी हतोत्साहित गर्न नहुँने नेपाली कांग्रेस दाङका सचीब शंकर डागिले बताए ।

यो महामारीको बेलामा सरकारी, निजी क्षेत्रसहित सबैको समन्वय र सहकार्य जरुरी रहेको भन्दै केही नीतिगत समस्या भए द्रूत गतिबाट समाधान गरेर तत्काल रेम्डेसिभिर सहज र सस्तोदरमा बिक्री गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई उनले आग्रह गरे । जिल्लाका सरोकारवालाले यस्ता गलत कदमले प्रशासन आलोचित बनेको भन्दै सहजिकरण गरेर समस्या समाधान गर्न माग गरेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर