पछिल्लो २ दिन काेराेना महामारी नियन्त्रणमा सरकारले के काम गर्यो ? (सूचीसहित) – Nepal Press

पछिल्लो २ दिन काेराेना महामारी नियन्त्रणमा सरकारले के काम गर्यो ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपाल दिनानुदिन बढिरहेका बेला सरकारले रोकथाम, नियन्त्रण तथा उपचारका कार्यलाई तिव्रता दिइएकाे जनाएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा शनिबारमात्र अक्सिजन सिलिण्डर अभावका विषयमा वालुवाटारमा नै छलफल भएको छ भने आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा पनि सहभागि भएर विभिन्न निर्देशन दिएका छन् ।

३ हजार नेपाली नेपाल प्रवेश, क्वारेटाइन नियम पालना नगर्ने ४२ हजारलाई कारवाही
पछिल्लो २ दिनमा देशभरका विभिन्नि सीमानाकाबाट ३ हजार भन्दा बढी नेपाली नेपाल प्रवेश गरेका छन् । गृह मन्त्रालयका अनुसार शनिबार र आइतबार गरेर दुइ दिनमा ३ हजार ३४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका हुन् । देशभर क्वारेटाइनको नियम पालना नगर्ने ४२ हजार ८ सय २८ जनालाई कारवाही तथा सचेत गराइएको गृह मन्त्रालयले जनाएको छ ।

३१ हजार भन्दा बढी आइसोलेसन सेन्टर व्यवस्थापन
देशभरमा ३१ हजार भन्दा बढी आइसोलेसन सेन्टरको व्यवस्थापन भएको पनि गृह मन्त्रालयले जनाएको छ । ति मध्ये करिब १ हजार ५ सय अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

३ सय ६५ विशेष, ५–५ वटा आइसीयू र भेन्टिलेटर बेड थप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको उपचारका लागि १० हजार ८ सय १२ सामान्य वेड छन् । विशेष उपचारका लागि पछिल्लो २ दिनमा ३ सय ६५ बेड थपिएर जम्मा २ हजार ५ सय ९० बेड पुगेको मन्त्रालयले जनाएको छ । एचडीयू २ हजार २ सय २५, ५ वटा बेड थपिएर १ हजार ६ सय २३ आइसीयू बेड पुगेको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पछिल्लो २ दिनमा नै ५ वटा थपिएर जम्मा भेन्टिलेटरको संख्या पनि ५ सय ९८ पुगेको छ ।

अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १ सय २६ स्थानमा अनुगमन
अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन सम्बद्ध क्षेत्रमा १ सय २६ स्थानमा अनुगमन भएको वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले जनाएको छ । उद्योग लगायत अन्य क्षेत्रमा प्रयोगमा रहेका १ हजार २ सय ९२ वटा अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनका लागि फिर्ता भएका विभागका महानिर्देशक प्रकाश पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विभागले उपत्यकामा २ वटा खाद्य फर्म, एउटा स्वास्थ्य सामग्री फर्म व्यवसायको अनुगमन भएको र एउटा फर्मलाई ५ हजार जरिवाना समेत गराएको छ ।

देशभरका २९ उद्योगमा १ लाख भन्दा बढी सिलिण्डर
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यका भित्रका १० वटा उद्योग र उपत्यका बाहिरका १९ वटा उद्योगमा ठुलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ गरेर १ लाख ११ हजार ३ सय ६४ सिलिण्डर रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको सिचुवान प्रान्तले नेपाल सरकारलाई सहायता स्वरुप दिएको ३ दशमलव ६ मिलियर आरएमबी बराबरको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामग्री १९ मे मा सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौं आइपुग्ने जनाएको छ । साथै अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग आइतबार साँझसम्ममा आइपुग्ने जानकारी आएको छ ।

२ दिनमा ५ करोड भन्दा बढीको स्वास्थ्य सामग्री भन्सारबाट आयात
कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लािग वैशाख ३१ गते ३ करोड ७७ लाख ४३ हजार ४ सय ३१ बराबरको २८ लाख १३ हजार १६ थान विभिन्न उपकरण भन्सार नाकाबट आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार त्यसै दिन ५७ लाख ५६ हजार ६ सय ९६ रुपैयाँ बराबरको अक्सिजन तथा औषधि आयात भएको छ ।

जेठ १ गते शनिबार १ करोड ३५ लाख ५ हजार ३ सय ६९ रुपैयाँ बराबरको १७ हजार १ सय ७७ थान विभिन्न मेडिकल उपकरण पनि आयात भएको विभागका महानिर्देशक यामलाल भुसालले नेपाल प्रेसलाई जानकारी दिए उनका अनुसार २ लाख ६ हजार ७ सय ५८ रुपैयाँ बराबरको अक्सिजन तथा औषधि पनि त्यसैदिन आयात भएको छ ।

ओमनबाट जम्मा ५ सय ६० थान अक्सिजन आयात
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार जम्मा ५ सय यात्रुको उद्धार भएको छ । नेपाल वायुसेवा निगमले ओमनबाट जम्मा ५ सय ६० थान अक्सिजन सिलिण्डर लिई आएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार चीनबाट प्राप्त हुने मध्ये १ हजार ६ सय अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको कार्गो उडान शनिबारदेखि मंगलबारसम्म नियमित जाने आउने गरी तय भएको छ ।

अहिले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढ्दै गइरहेको स्थितिमा संक्रमितलाई अक्सिजन र बेडको अभाव हुन नदिन, स्वास्थ्य उपचारलाई व्यवस्थित, सहज र सबैको पहुँच सुनिश्चित गर्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन पनि सरकारले आग्रह गरको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले नेपाल प्रेससँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर