लुम्बिनीका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माणमा जुटे – Nepal Press

लुम्बिनीका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माणमा जुटे

रुपन्देही । कोरोना भाइरस नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेसन निर्माणदेखि अक्सिजनको जोहो गर्दै सेवा दिने कामलाई तीव्र बनाएका छन् ।

प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहितका आइसोलेसन निर्माणदेखि घरघरमा पुगेर काम गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकामा ६० आइसोलेशन सेन्टर र १ हजार ८३ शय्या तयार पारिएको छ ।

अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा दश, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच, प्युठानमा आठ, नवलपरासी ४ र रुकुम(पूर्व)मा एक आइसोलेसन सेन्टर सञ्चालनमा छन् भने बाँकी जिल्लामा पनि आइसोलेसन निर्माणको तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेण्टरमा मात्रै ५ सयभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेसन अस्पतालसहित १२ अन्य आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ जना कोरोना संक्रमित छन् ।

बुटवलमा घरघरमा सेवा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गर्नका साथै अक्सिजन संकलन र उपचार सञ्चालन गरेको छ ।

नगरपालिकाले अहिलेसम्म अस्पतालमा शय्या नपाएका २ सय जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । अस्पताल बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ छ ।

कावा नगरप्रमुखको जिम्मेवारीमा रहेका प्रवक्ता रेग्मीले उपनगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको तथा वडा नं ११ र १३ को नवनिर्मित भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको जनाए ।

बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा शुरु गरेको ५ दिन आइतवारसम्म रााति र दिउँसो गरी दुई सिफ्टमा चौबिसै घण्टा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर दिनको ५०–५५ जनाको दरले २७० भन्दा बढी कोरोना संक्रमितहरुको घरघरमा पुगेर तिनीहरुको स्वास्थ्य परिक्षण गरेको उपमहानगरपालिकाका योजना आयोगका उपाध्यक्ष मेघराज भट्टराईले जनाएका छन् । उनले तत्काल अक्सिजन आवश्यक परेका २१० जनालाई सेवा दिएको बताए ।

होम आइसोलेसन, सामुदायिक आइसोलेसन र होटल आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुमध्ये मापदण्डका आधारमा तत्काल अक्सिजन उपलब्ध गराउनपर्ने संक्रमितहरुको आपतकालीन सेवाका लागि प्रयोग गरिएको उनको भनाई छ ।

सञ्चालित अक्सिजन बैंकबाट विभिन्न अस्पतालमा रहेका बिरामीहरु, एम्बुलेन्स सेवाहरु र बुटवल बाहेक अन्यत्र स्थानका संक्रमितहरुलाई पनि सेवा दिने इच्छा हुदाँहुदै पनि नगरभित्रका नागरिकहरुलाई आवश्यकताका आधारमा सेवा दिने गरेको उनले बताए ।

उपमहानगरले सिलिण्डर खरिद गरेको नभएर बुटवलका संघसंस्था र उद्योग व्यवसायीको सहकार्यमा उद्योग, व्यवसाय र घरयासी प्रयोजनमा प्रयोग भइरहेका सिलिण्डर बटुलेर हाल १५० वटा पुर्‍याएको हो । अक्सिजन बैकले १५० वटा सिलिण्डर राखेको हुनाले रुपन्देहीका अस्पतालहरुमा सिलिण्डरको अभाव भयो भनेर भ्रमित पार्ने काम भएको भन्दै उपमहानगरले आपत्ति प्रकट गरेको छ ।

बुटवल उपमहानगरपालिकाले आइतवार जम्मा गरेका सिलिण्डरहरु चितवन लगेर भरेर ल्याएको थियो ।

यसैगरी उपमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक, पेन्टाप्राजोल, सिटामोल, गिलोये चूर्ण, अमला चूर्णसहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

एम्बुलेन्स सेवा

उपमहानगरले बुटवलका होम आइसोलेसन, होटल आइसोलेसन, सामुदायिक आइसोलेसन सेन्टरमा रहेको संक्रमितहरुलाई हस्पिटलसम्म पुर्‍याउन अथवा हस्पिटलबाट घरसम्म पु¥याउन एवम् रुपन्देही जिल्लाभित्रका अन्य कुनै स्थानसम्म पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

यो सेवा लक्षण देखिएका संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा परेका लक्षणसहितका संक्रमितको परीक्षणका लागि स्वाब संकलन गर्न, बाहिरबाट आएकालाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन सकिने गरी उपलब्ध गराइएको प्रबक्ता रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि सेवा चाहिएको अवस्थामा वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसम्म सूचना पुर्‍याएमा नागरिकप्रतिको उत्तरदायित्व बहन गर्ने कुरामा पछि नहड्ने प्रबक्ता रेग्मीले बताए ।

उपमहानगरले १९ वटै वडाहरुमा संक्रमितको कन्ट्याक्टमा रहेका नजिकका व्यक्तिहरुको निशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब संकलन गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखा प्रतिनिधिले बताए ।

हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्यांकमा उल्लेख छ ।

रुपन्देहीमा यस्तो छ तयारी

सैनामैना नगरपालिकामा कोरोना भाइरसविरुद्ध कोरोना अस्थायी आइसोलेशन अस्पताल सञ्चालनमा आएको छ । सैनामैना–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताइन् । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । यही वैशाख २७ गतेसम्म्म नगरका सबै वडामा स्वाब संकलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । देवदह –७ मा रहेको मगर समाजको भवनमा सेन्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् । नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरेको पनि उनले बताइन् ।

सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । सेन्टरमा अक्सिजन सिलिण्डर सहितका २० शय्या रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । सिद्धार्थ नगरले संक्रमितको मनोबल बढाउन होम आइसोलेशनमा मनोपरामर्श दिने कामसमेत गरिहेको उनले बताइन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सञ्चालन गरिएको छ । नगरमा कोरोना संक्रमण देखिएका बिरामीलाई आसोलेशनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगर प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।

बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनको भनाइ थियो । लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागेको छ ।

रोेहिणी गाउँपालिकाले पनि कोरोना संक्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेशन सञ्चालन गरेको छ । रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा संघीय सरकारको १० लाख सहयोगमा आइसोलेशन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

शुद्धोधन गाउँपालिकाले पनि मोतीपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच शय्याको स्वास्थ्य केन्द्रलाई १० मा पु¥याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत पर्ने स्थानीय तहहरुले आइसोलेसन सेन्टर निर्माण गरेका छन् । तीव्र रुपमा बढ्दै गएको दोस्रो लहरको कोरोना भाइरसको नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन नागरिकको ‘घरदैलोको सरकार’ भनेर चिनिने स्थानीय तहले पालिकामै आइसोलेशन सेन्टर निर्माण गरेका हुन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका र लक्षण नदेखिएका बिरामीहरुको उपचार तथा हेरचाहका लागि रुपन्देहीको दक्षिण क्षेत्र मर्चवार अन्तर्गत पर्ने कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।

कोटहीमाई गाउँपालिकामा ७ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताए । ‘मझगावा स्वास्थ्य चौकीमा ७ शय्यको आइसोलेशन सेन्टर निर्माण गरेका छौं, आवश्यकता अनुसार बेड थप्दै जान्छौं,’ उनले भने । अहिले ५ जना कोरोना संक्रमित बिरामी आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

त्यस्तै सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ स्थित असुरैनामा ५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीका अनुसार तीन जना स्वास्थ्यकर्मीसहितको टोली पालैपालो आइसोलेसन सेन्टरमा खटिएका छन् । हाल ३ जना संक्रमित सेन्टरमा रहेको उनले बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल परीक्षण गराउन सम्मरीमाई गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले गाउँपालिकावासीको लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरिएको बताए । त्यस्तै मर्चवारी गाउँपालिका वडा नम्बर २ स्थित अमवामा अक्सिजनसहित ५ शय्याको आइसोलेसन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाले जानकारी दिए ।

त्यस्तै मर्चवार अन्तर्गत केही क्षेत्र ओगटेको मायादेवी गाउँपालिकामा आइसोलेसन सेन्टर सञ्चालनको तयारीमा रहेको छ । गाउँपालिकाको सभाहलमा १० शय्यासहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।

कोरोना संक्रमित विरामीहरुको उपचार तथा हेरचाहको लागि आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले बताए

लक्षण देखिएका र गम्भीर प्रकृतिका बिरामीहरुका लागि अस्पतालमा अक्सिजन र आईसीयू अभावका कारण छटपटिनु परेको तथा कतिपय अवस्थामा ज्यानै जाने क्रम बढेको बेला रुपन्देहीको दक्षिणी क्षेत्रमा आइसोलेसन सेन्टर बनाउनु महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । नियन्त्रण र उपचार पद्दतिलाई सहज बनाउन आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता देखिन्छ ।

संक्रमितको संख्या घट्दै

रुपन्देहीमा आइतबार थप ४ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८५ पुगेको छ । बुटवल उपमहानगरपालिकामा मात्रै १ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ्। यसैगरी तिलोत्तमामा १ सय ३५, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७, सैनामैनामा २१ जनामा संक्रमण फेला परेको छ ।

यस्तै ओमसतियामा १६, सियारीमा ५, लुम्बिनी साँस्कृतिकमा ४, रोहिणी र सुद्धोदनमा ३-३ जना मायादेवी, कञ्चन, कोहहीमार्ई गाउँपालिकामा २-२ र मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा कुल मृतकको संख्या २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर