सिन्धुपाल्चोकका सीडीओ र एसपी दुवै संक्रमित, आइसोलेसनबाट कमाण्ड सम्हाल्दै – Nepal Press

सिन्धुपाल्चोकका सीडीओ र एसपी दुवै संक्रमित, आइसोलेसनबाट कमाण्ड सम्हाल्दै

चौतारा । कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीय संरचनाअन्तर्गत जिल्ला स्तरका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को नेतृत्व प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रहन्छ । त्यसका सदस्यहरु जिल्ला प्रहरी प्रमुख, स्वाथ्य प्रमुखलगायत रहन्छन् ।

जिल्लामा कोरोना नियन्त्रण, रोकथामका, न्युनीकरण र सचेतना लगायत कार्यहरु सन्चालन गर्दागर्दै आफैं संक्रमित भएका सिन्धुपाल्चोकका प्रजिअ अरुण पोखरेल र प्रहरी प्रमुख एसपी राजन अधिकारी आइसोलेसनबाटै जिल्लाको कमाण्ड संहालिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई एक साता अघि कोरोना संक्रमण पत्ता लागेपछि सरकारी क्वार्टरमै आइसोलेट भएका छन् । एसपी अधिकारीलाई तीन दिनदेखि संक्रमणले सताएको छ । उनी पनि जिप्रकाकै क्वार्टरमा छन् । होम आइसोलेसनमा बस्दा तनावबाट मुक्त भएर आरम गर्नुपर्ने भए पनि दुवै कमाण्डरलाई आइसोलेसनबाटै नेतृत्व लिनुपर्ने बाध्यता छ ।

‘सुरुका केही दिन त अलि गाह्रो नै भयो तर खोप लगाएकाले धेरै असहज भएन,’ प्रजिअ अधिकारीले भने, ‘हामी आफैै आइसोलेसनमा बस्दा आम जिल्लावासीको मनोबल उच्च राख्न निरन्तर लागि नै रहेका छौं । आइसोलेसनमा बस्दा पनि नियमित काम रोकिएको छैन ।’

भौतिक रुपमा मात्रै आफू कार्यालयमा उपस्थिति नभएको तर गर्नुपर्ने निर्णय र दिनु पर्ने निर्देशन सबै भर्चुअल माध्यमबाटै गरिरहेको प्रजिअ पोखरेलले बताए । ‘हामीले डीसीसीएमसीका सबै सदस्यहरुबीच ‘ग्रुप च्याट’ मार्फत निरन्तर संवाद गरेर कोरोना नियन्त्रण र रोकथामाका लागि के गर्ने भनेर छलफल र बैठक गर्ने गरेका छौं,’ पोखरेलले भने ।

कोरोना बाहेक कतिपय मुद्दाहरुको म्याद थप लगायतका कामहरुमा समस्या भए पनि त्यसलाई आइसोलेसनबाटै समाधान गर्ने गरेको र सहायक प्रमुख जिल्ला अधिकारी सहितका टिमले राम्रो समन्वय गरेर काम गरेकाले आइसोलेसनमा बस्दा पनि कुनै समस्या नभएको पोखरेलले बताए ।

प्रहरी प्रमुख एसपी राजन अधिकारी अहिले दोस्रो पटक आइसोलेसनमा छन् । २४ सै घण्टा प्रहरीलाई फिल्डमा उतार्नु पर्ने प्रहरीका कमाण्डर नै आइसोलेसनमा रहदा काम गर्न भने समस्या नभएको एसपी अधिकारीले बताए ।

‘हामी सधैं टिमवर्कमा रहेर काम गर्ने हो, अहिले पनि टिमले नै काम गरिरहेको छ । भौतिक रुपमा मात्रै कार्यालयमा उपस्थिति हुन नसकेको हो, आवश्यकता पर्दा निश्चित दूरीमा रहेर अन्य कमाण्डरहरुसँग बैठक र छलफल गर्न सकिन्छ,’ एसपी अधिकारीले भने ।

आइसोलेसनमा बसे पनि उच्च मनोवलका साथ जिम्मेबारी वहन गरिरहेको उनको भनाई छ । प्रहरीका कमाण्डर नै आइसोलेसनमा रहँदा मातहतका कर्मचारीहरुको मनोवल कस्तो होला ? भन्ने प्रश्नमा अधिकारीले भने, ‘जिल्लाका एक जना प्रहरी कर्मचारीको पनि मनोबल कम भएको छैन, बरु जवानहरु समेतले मेराे मनोबल उच्च राख्न दैनिक फोन गर्ने गरेका छन् ।’

सबैको हौसलाले आफ्नो मात्रै होइन सिंगो टिमको नै मनोबल उच्च भएकाले आइसोलेसनमा बस्दा पनि कुनै समस्या नभएको एसपी अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर