एक वर्षपछि दोहाेरिएको पीडा: कुम्लोकुटो बोकेर काठमाडौंबाट गाउँतिर – Nepal Press

एक वर्षपछि दोहाेरिएको पीडा: कुम्लोकुटो बोकेर काठमाडौंबाट गाउँतिर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा १५ दिन लामो लकडाउन गर्ने भएपछि सर्वसाधारणहरु गाउँ फर्किने क्रम सुरु भएको छ । काठमाडौंबाट विभिन्न स्थानमा जाने सवारीसाधनहरु खचाखच हुन थालेका छन् ।

मंगलबार बिहान हामी नयाँ बसपार्क पुग्दा सर्वसाधारणको चहलपहल बाक्लो थियो । टिकट काउन्टरअघि मानिसहरु लामो लाइन लागेका थिए । घर फर्किन लागेका अनुहारहरुमा खुशी भने थिएन । उनीहरु तनावग्रस्त मुद्रामा देखिन्थे ।

एक वर्षअघि पनि यस्तै दृष्य काठमाडौंमा देखिएको थियो । सरकारले अचानक चैतमा कडा लकडाउन गरेपछि काठमाडौंबाट फर्किनेहरुको लर्को थियो । त्यसबेला धेरैले लकडाउन लामो जाला भन्न सोचेका थिएनन् । तर, लम्बिँदै गएपछि काठमाडौंमा टिक्न नसकेकाहरु लामो पैदलयात्रा गरेर गन्तव्यमा पुगे ।

यसपालि भने सरकारले दुई दिनको समय दिएको छ । त्यसैले पहिलेझैं लकडाउन लम्बिएर काठमाडौंमा भोकै परिने डरले मानिसहरु अहिल्यै घर फर्किन थालेका छन् । कतिपयले आफ्नो कोठाका सामानहरु नै लिएर हिँडेका छन् ।

निषेधाज्ञाको समयमा काठमाडौंमा खान–बस्न र कोठा भाडा तिर्न समस्या हुने भएकाले गाउँ जान लागेको उनीहरु बताउँछन् ।

काठमाडौंको दक्षिणढोका बस्ने रामबहादुर बोगटी आफ्नो ५ जना परिवारसहित आफ्नो गाउँ बेसीसरह फर्कन हिँडेका थिए । उनले कोठा छाडेर अब नफर्किने गरी हिँडेको बताए ।

‘अब काठमाडौंमा बस्ने र काम गर्ने गरी आउँदिन । बच्चाहरुलाई पनि गाउँमा नै पढाउँछु,’ नेपाल प्रेससँग उनले भने, ‘काठमाडौंमा भन्दा गाउँमा नै पेट पाल्न सजिलो होला ।’

उनी काठमाडौंमा मजदुरी गरेर ५ जनाको परिवार पालिरहेका थिए ।

कैलालीबाट काठमाडौं आएर निर्माणसम्बन्धी काम गर्ने समिर चौधरीका पनि व्यथा उस्तै छ । लकडाउनको समयमा काठमाडौं बस्न समस्या हुने भएकाले उनी आफ्नो गाउँ कैलाली फर्किँदैछन् ।

चौधरीले भने, ‘पहिलेको लकडाउनमा धेरैले दुख पाएकाले पनि गाउँ जान लागेका हौं । नयाँ बस पार्कबाट घर पुग्न १५ घन्टा लाग्छ । घर पुगेपछि जे होला होला ।’

बल्खुबाट उपत्यका बाहिर जाने गाडीहरुमा पनि चाप थियो । छोटो समयमा नै घर पुग्न चाहनेहरुले यो रुटबाट टाटासुमोमा यात्रा गर्छन् । तर, अहिले टाटासुमोको अभाव भएर बसहरुले पनि हेटौंडाका यात्रु ओसारी रहेका छन् ।

विरामी भेट्न हेटौंडा हिँडेका साइला गोले टाटासुमो नपाएर बसको खोजी गरिरहेका थिए ।

मिस्त्री काम गर्ने उनले भने, ‘यो सरकारले फेरी बन्द गराएर के गर्न खोजेको हो ? मान्छेले खानै खान नपाउने अवस्था आएको छ । बन्द मात्रै गरेर कोरोना नियन्त्रण त होला, तर मान्छे भोकले मर्ने अवस्था आउने भयो ।’

अन्यत्रका बस पार्कहरुमा पनि गाउँ जाने मान्छेको भिड लागेको छ । बैशाख १६ गतेदेखि हुने निषेधाज्ञा कति समयसम्म रहन्छ भन्ने एकिन छैन । सरकारले कोरोना महामारीको अवस्था हेरेर निषेधाज्ञालाई लामो बनाउने वा खोल्ने निर्णय गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर