पुनर्निर्माणका सारथि: प्राधिकरणमा ‘कमब्याक’पछि लिएको गति – Nepal Press

पुनर्निर्माणका सारथि: प्राधिकरणमा ‘कमब्याक’पछि लिएको गति

काठमाडौं । २०७२ सालमा बैशाख १२ गते भएको भुकम्पले देश तहसनहस बनायो । लाखौं जनताका घर भत्के भने सार्वजनिक भवन र सम्पदाहरु ध्वस्त भए । भूकम्पपछिको पुननिर्माणका लागि देशले एउटा बलियो काँध खोज्यो ।

पुननिर्माणको नेतृत्व गर्न डा. बाबुराम भट्टराईदेखि थुप्रै ठूला हस्तिको नाम चर्चामा थियो । तर, सरकारले जिम्मेवारी दियो कमैले चिनेका सुशील ज्ञवालीलाई । भूकम्प गएको करिब ८ महिनापछि पुस १० गते पुनर्निमाण प्राधिकरणको गठन गरेर उनलाई सीईओ बनाइयो ।

आमजनतामा अपरिचित भए पनि ज्ञवाली पूर्वाधार योजना र शहरी आवास निर्माणको क्षेत्रमा अनुभवि व्यक्ति थिए । आफूलाई विगतमा कामबाटै प्रमाणित गरेका उनलाई केपी ओली नेतृत्वको सरकारले उनलाई गहन अभिभारा सुम्पियो ।

ज्ञवालीले शून्यबाट सुरु गरेर अर्बौंका भौतिक संरचनाहरुलाई उभ्याउनु थियो । २०७२, पुस १२ गते प्राधिकरण प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार ग्रहण गरेका उनले १० खर्ब लागत अनुमान गरिएको काम ३ जना कर्मचारीबाट सुरु गरे ।

उनी सुनाउँछन्, ‘हाम्रो पुस्ताकै ठूलो पुननिर्माणको काम मैले शुन्यताबाट सुरु गरेँ । सरकारले यत्रो ठूलो जिम्मेवारी सम्पादन गर्न प्राधिकरणलाई १ सचिब, १ अधिकृत र १ नायब सुव्वा गरी ३ कर्मचारी दिएको थियो ।’

तत्कालीन केपी शर्मा ओलीको सरकार ढलेर बीचमा दुई सकार बने । प्राधिकरणमा पनि दुई प्रमुख कार्यकारी अधिकृत फेरिए । ज्ञवालीको ठाउँमा आएका गोविन्द पोखरेल र युवराज भुसाल आए । २०७४ सालको चुनावबाट बाम गठबन्धनले बहुमत प्राप्त गरेपछि पुनः केपी शर्मा ओली कै नेतृत्वमा सरकार गठन भयो । प्राधिकरणको सिईओमा ज्ञवालीले कमब्याक गरे ।

यसपाली ज्ञवालीसँग बढी अनुकुलता यसकारण थियो कि दुई तिहाइको समर्थन प्राप्त सरकार सितिमिति ढल्न सक्थेन । त्यसैले उनले ढुक्कले आफ्नो अवधारणामा काम गर्न पाए । पहिलो कार्यकालमा आफूले तयार पारेको अवधारणापत्रनुसार योजना बनाएर निजी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरण गर्न भ्याएका ज्ञवालीले दोस्रो कार्याकालमा भने पुर्ननिर्माण र पुर्नस्थापनाको ७५ प्रतिशत काम सकेका छन् ।

भुकम्पपिडितलाई जथाभावी राहत वितरण गर्न नदिएका कारण ज्ञवालीले ठूलै राजनीतिक दवाव झेल्नुपर्‍याे भने रानीपोखरी निर्माणका क्रममा नागरिकस्तरको विरोधको सामना गर्नुपरेको थियो ।

को हुन् ज्ञवाली ?

पाल्पाको रिद्धिकोट गाउँपालिकामा २०२७ साल पुष १४ गते जन्मेका हुन सुशील ज्ञवाली । प्रारम्भिक अध्ययन रिद्धिकोटमा नै गरेका उनले पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसबाट ‘आईस्सी’ सम्मको अध्ययन गरे ।

आईएस्सी सकेर पुल्चोक इन्जिनियरिङको क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन उनले पुरा गरे । स्नातक तहसम्मको अध्ययन गरेपछि उनले डुम्रेदेखि बेसीशहरसम्मको सडक निर्माणका क्रममा प्राविधिक कन्सल्ट्यान्टका रुपमा काम गर्ने अवसर प्राप्त गरे ।

त्यसपछि उनले ‘यूएनडीपी’ को ‘पीडीपी’ परियोजनामा १ बर्ष काम गरे । लुम्विनी बिकास कोषमा रहेर पनि ६ महिना काम गर्ने अवसर प्राप्त गरेका थिए ज्ञवालीले ।

कन्जो टाँगेले बिकास गरेको लुम्बिनी बिकास कोष गरुयोजनामा रहेर काम गर्दा उनलाई निर्माण योजनामा रुची जागेको थियो ।

यूएनडीपीमा रहँदा पनि उनले विकासको क्षेत्रमा काम गरेका थिए । २०५४ सालमा बुटवल नगरपालिकामा प्राविधिक सल्लाहकारका रुपमा काम सुरु गरेका ज्ञवालीले करिब ७ वर्ष त्यहीँ बिताए ।

२०६१ सालमा पनि ज्ञवालीले पुल्चोक क्याम्पसबाट स्नातकोत्तरको अध्ययन सुरु गरे । पढाइ पूरा गरेपछि उनले नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको अनुरोधमा शहरी विकास बिज्ञको रुपमा कार्यकारी सचिव पदमा रही साढे तीन वर्ष काम गरे । नगरविकास कोषको ६ वर्षको पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालमा काम गर्दैगर्दा उनले प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती पाएका थिए ।

प्राधिकरणमा पहिलो कार्यकाल

पहिलोपटक प्राधिकरणको सीईओ नियुक्त भएपछि ज्ञवालीले क्षतिग्रस्त संरचना पुरननिर्माणका बारेमा राष्ट्रिय योजना आयोगलाई आफ्नो कार्यपत्र बुझाएका थिए । प्राधिकरणको पद पाउने लोभभन्दा पनि राष्ट्रलाई योगदान दिने उद्देश्यले पुनःनिर्माणको अवधारणापत्र बनाएको उनी बताउँछन् ।

पुनःनिर्माणको मोडालिटी, कार्यान्वयनको चरणहरु, कानूनी व्यवस्था, स्रोतको व्यवस्थापनसहित सम्वन्धित निकायहरुमा बृहत छलफल चलाएको उनी सम्झन्छन् । उनले आफ्नो कार्यपत्र नेपाल सरकारका मुख्य सचिवदेखि विभिन्न मन्त्रालयका सचिवहरुलाई समेत दिएका थिए । पुनःनिर्माणको सुरुवाती समयमा उक्त अवधारणापत्रले ठूलो सहयोग गरेको ज्ञवाली बताउँछन् ।

‘मैले पहिलो कार्यकाल पुनःनिर्माण र पुनःस्थापनाको जग हाल्नका लागि खर्चिएँ । आफैंले तयार पारेको अवधारणा पत्रका आधारमा समग्र योजना, कार्ययोजना तथा पञ्चवर्षिय योजनाका खाकाहरु, पुनःनिर्माण तथा पुनःस्थापनाका नीतिहरु, कानूनी व्यवस्था, जनशक्ति ब्यवस्थापन तथा कार्यतालिकीकरण, कार्यान्वयनको कार्ययोजना तयार पार्ने काम भयो,’ उनले भने ।

भुकम्पका कारण क्षतिग्रस्त भएका ८ लाख ५७ हजार निजी आवास, ७ हजार ५ सयभन्दा बढी विद्यालय, ५४४ स्वास्थ्य संस्था, ९२० पुरातात्विक सम्पदाहरु, १६२ सरकारी भवनहरु र ११६ सुरक्षा निकायका भवन संरचनाको निर्माण गर्नुपर्ने थियो । यसका लागि करिव ९ खर्ब ३८ अर्बभन्दा बढी रकम पुर्ननिर्माणमा खर्च गर्नुपर्ने राष्ट्रिय योजना आयोगको अनुमान थियो । दाता सम्मेलनमार्फत दातृ निकायले करिब ३ खर्व रुपैयाँ अनुदानको प्रतिवद्धता जनाए पनि बाँकी रकम भने नेपाल सरकारले नै व्यवस्थापन गर्दै आएको ज्ञवाली बताउँछन् ।

उपलव्धिमूलक दोस्रो कार्यकाल

ज्ञवालीको पहिलो कार्यकालमा पहिलो किस्ता रकम बितरण र घरहरु निर्माणको काम सुरु भएको थियो । आफ्नो दोस्रो कार्याकालमा भने पुनःनिर्माण र पुनःस्थापनाको कामले गति लिएको उनको आफ्नै मूल्यांकन छ ।

८ लाख ११ हजार ७५४ जना लाभग्राहीहरुले आवास निर्माण गर्नका लागि रकम लिएर प्राधिकरणसँग सम्झौता गरी ९९.८ प्रतिशतले दोस्रो किस्ताको रकम लिइसकेको ज्ञवाली बताउँछन् । त्यस्तै, ७ लाख ५३ हजार १०४ अर्थात ९३ प्रतिशतले यो आर्थिक वर्षभित्र नै घर निर्माण सम्पन्न गरिसक्ने छन् ।

बाँकी रहेका ७ प्रतिशत सेवाग्राहीहरु आर्थिकरुपमा निकै बिपन्न रहेकाले उनीहरुको आवास निर्माणका लागि आवश्यक प्राविधिक वा आर्थिक सहयोग दिने तयारी रहेको उनले सुनाए ।

‘उहाँहरुको आवास निर्माणका लागि हामीले २५४ घुम्ती टोली खटाएका छौं । अशक्त, असहाय र विपन्न नागरिकको आवास निर्माणका लागि ३ लाखका अतिरिक्त आवास निर्माण गर्न सहयोग गर्ने व्यवस्था मिलाएका छौ,’ उनी भन्छन् ।

त्यस्तै, १२ हजार भुमीहिन नागरिकका लागि २ लाख रुपैयाँ दिएर भुमीको स्वामित्व लिने वा पहिल्यैदेखि बसोबास गर्दै आएको स्थानको स्वामित्व दिलाइदिने गरी उनीहरुको आवास निर्माणमा पनि काम भइरहेको ज्ञवालीले जानकारी दिए ।

विद्यालयतर्फ भने ७ हजार ५५३ विद्यालयमध्ये करिब ८३ प्रतिशत पुनःनिर्माण भइसकेको छ । बाँकी १७ प्रतिशत बिद्यालय पुनःनिर्माणको काम यही आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

९२० पुरातातित्वक सम्पदा भुकम्पले क्षतिग्रस्त बनाएकोमा ४९३ को काम सम्पन्न भएको छ । यसरी करिब ७० प्रतिशत पुनःनिर्माणको काम सम्पन्नतातर्फ अगाडी बढेको उनी सुनाउँछन् ।

सम्पदा निर्माणको काममा पुरानै विधि–संरचना र सांस्कृतिक महत्व लगायतका कारणले ढिलाई हुने गरेकोले सबैभन्दा चुनौती यही क्षेत्रमा सामना गर्नुपरेको अनुभव सुनाउँछन् ज्ञवाली ।

‘प्राकृतिक सम्पदामा हामीले चाहेर पनि यसमा सबै बनाइहाल्छु भनेर सकिँदैन । यसमा पुरानै बिधि, पुरानै निर्माण सामग्रीको प्रयोग, स्थानीय जनताको सहमतिमा काम गर्नुपर्ने अवस्था रहन्छ । पुरानै संरचना कायम राख्दा राख्दै पनि फेरी भुकम्प प्रतिरोधी पनि बनाउनुपर्ने भएकाले ढिलाई भएको हो,’ ज्ञवालीले थपे ।

विश्वविद्यालय तथा पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माणले बढी समय लिने उनी बताउँछन् । गोरखा दरबार, नुवाकोट दरबार, हरिहर भवन र गुम्बा जस्ता भवन निर्माणका लागि अझै २ वर्ष लाग्ने उनको अनुमान छ ।

‘सरकारी भवन, स्वास्थ्य क्षेत्र र शिक्षण क्षेत्रका मुलभुत कामहरु आगामी बर्षभित्र निर्माण भइसक्ने भएकाले पुर्ननिर्माण धेरै बाँकी छैन,’ ज्ञवालीले भने ।

आगामी आर्थिक वर्षको पुस १ गते प्राधिकरणको अन्तिम समयावधि भएकाले बाँकी रहका कामहरु सम्पन्न गर्नका लागि प्राधिकरणले ‘बर्हिगमन रणनीति’ बनाएको छ । प्राधिकरणले आगामी साउनदेखि सम्वन्धित निकायबाट काम गराउने, समन्वय र सहकार्य गर्दै सम्पन्न हुन नसकेका काम ती निकायलाई दिने तयारी गरिएको छ ।

रानीपोखरी पुर्ननिर्माणमा नौलो अभ्यास

रानीपोखरी पुनःनिर्माणमा सबैभन्दा धेरै चुनौति सामना गर्नुपरेको अनुभव ज्ञवालीको छ । यसका लागि आवश्यकपर्ने चुना, सुर्की, माटो लगायत सामग्री जुटाउन निकै ठूलो मेहनत गर्नुपरेको उनले बताए ।

‘माटोको नै पोखरी निर्माण गर्नुपर्ने भन्ने थियो, सम्भव थिएन । त्यसका लागि पुरानो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग गरेर पानी अडाउने बिधिको खोजी गर्यौं,’ उनले भने ‘त्यसका लागि हामीले कंक्रिटमा नगएर चुना सुर्खीकै सामग्री प्रयोग गर्‍याैं।’

मन्दिर निर्माण गर्ने सवालमा पनि पुर्खाहरुले प्रयोग गरेको पुरानो प्रविधिलाई नयाँ प्रविधिमा रुपान्तरण गर्दै बालगोपालेश्वरको मन्दिरलाई भूकम्प प्रतिरोधि बनाइएको ज्ञवालीले दावी गरे ।

अनुसन्धानबाट निस्किएको पुरानो प्रविधिलाई सम्पदा पुनःनिर्माणमा प्रयोग गरेमध्येको उच्चतम नमूना रानीपोखरी रहेको उनले बताए ।

‘सम्पदा पुनःनिर्माणमा एउटा सम्पूर्ण प्याकेजलाई भन्नुपर्‍याे भने एउटा ज्वलन्त उदाहरण रानीपोखरी हुन सक्छ,’ उनी थप्छन् ।

रानीपोखरी निर्माणका क्रममा ग्रन्थकुट अर्थात शिखर शैली वा गुम्वज शैलीमा जाने भनेर निकै ठुलो विवाद आएको ज्ञवाली सम्झिन्छन् । प्राचिनतालाई महत्व दिँदै ग्रन्थुकुट शैलीमा जाने निर्णय भएको उनले बताए ।

जनतालाई सलाम

भुकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनामा सबैभन्दा ठूलो साथ जनताको रहेको र नेपाली जनता बिकासका अब तयार भएको ज्ञवाली बताउँछन् ।

‘यस कार्यमा जनताको जस्तो उत्कट अभिलाषा, उत्साह देखियो त्यो अतुलनीय छ,’ उनले भने ।

जनताको उत्साहलाई विश्वभरबाट प्रसंसा भएको भन्दै उनले प्राधिकरणले ३ लाख र प्रावाधिक सहयोग दिएपनि पुर्ननिर्मित सबै घरहरु जनताले बनाएको उल्लेख गरे ।

‘उहाँहरुले मेरो घर आफैं बताउँछु भनेर लाग्नु भयो त्यसैले जनताको सहभागिता सबैभन्दा ठूलो कुरा भयो,’ उनले भने ।

भूकम्पपछीको पुनर्निर्माणले जनसहभागितासँगै थुप्रै प्रविधि पनि सिकाएको उनी बताउँछन् । सुरक्षित घर बनाउने तरिकामा जनतालेले ती प्रविधिलाई सहर्षरुपमा स्वीकार गरेको उनको अनुभव छ ।

जीवनको उत्कृष्ट अनुभव

युवा पुस्ता र अन्तर्राष्ट्रिय समुदायले नै गौरव गर्ने लायक काम प्राधिकरणले सम्पन्न गरको ज्ञवालीको भनाई छ ।

‘विगतलाई फर्केर हेर्दा करिअरलाई दाउमा लगाएर यत्रो ठूलो जिम्मेवारी लिनु निकै चुनौतिपूर्ण र दुस्साहसपूर्ण थियो । अहिले आएर आँखीझ्यालबाट चिहाउँदा मैले गरेको त्यो निर्णय मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण निर्णय रहेछ भन्ने लागेको छ,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा मैले महत्वपुर्ण काम के गरेँ भनेर सम्झदै गर्दा, भुकम्पपछिको पुनर्निर्माण र पुन:स्थापना नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर