कोरोना खोप संघसँग माग्ने कर्णाली प्रदेश सरकारको निर्णय – Nepal Press

कोरोना खोप संघसँग माग्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना खोपको व्यवस्थाका लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्ष रहेको प्रदेश विपद व्यवस्थापन केन्द्र कर्णाली प्रदेशको शुक्रबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयमार्फत कर्णालीका नागरिकलाई आवश्यक पर्ने खोप उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले नेपाल प्रेसलाई बताए । ‘कर्णाली प्रदेशका आम जनतालाई पुग्नेगरी तत्काल खोपको व्यवस्था मिलाईदिन संघीय सरकारलाई सामाजिक विकास मन्त्रालयले अनुरोध गर्ने र संघीय सरकारले उपलब्ध गराउन नसकेमा प्रदेश सरकार आफैंले खोपको पहल गर्ने निर्णय भएको छ,’ मन्त्री भण्डारीले भने ।

खोप खरिद गर्ने वा अन्य निकायसँग सहयोग माग्ने भन्ने निर्णय पछि गरिने उनको भनाइ छ । ‘अहिले संघीय सरकारले कस्तो रेस्पोन्स गर्छ त्यसका आधारमा हामी अघि बढछौं,’ उनले भने, ‘कोरोना विरुद्धको खोप कर्णालीका नागरिकलाई उपलब्ध गराउन सरकार छ ।’

भारतलगायतका देशहरुमा कोरोना संक्रमण फेरि फैलिइरहेका कारण प्रदेश प्रवेशको सीमा नाकामा भारतबाट आउने नागरिकहरुको स्पष्ट विवरण राख्ने व्यवस्था मिलाउने जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ । बैठकले कोभिडबारे जानकारी आदानप्रदान गर्न हटलाईन कल सेन्टरको व्यवस्था गर्ने, सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्क प्रयोग गर्न बस व्यवसायीलाई अनुरोध गर्ने, सीमा नाकाबाट प्रवेश गरेका र स्वास्थ्य परीक्षण गर्दा कोभिड १९ देखिएका व्यक्तिहरुलाई अनिवार्यरुपमा होम आइसोलेसनमा राख्ने निर्णयसमेत भएको मन्त्री भण्डारीले बताए ।

‘प्रत्येक पालिकामा एउटा उपचार केन्द्र राख्ने सम्वन्धमा बजेट पठाईसकिएको छ । त्यसको स्थापना गर्न सामाजिक विकास मन्त्रालयले आवश्यक काम गर्ने, प्रत्येक जिल्लामा कोभिड अस्पताल र सुर्खेत, जुम्ला र रुकम पश्चिममा बेड सहितको आइसियु व्यवस्था गर्ने लगायतका निर्णय भएका छन्,’ उनले भने, ‘स्वास्थ्यसम्वन्धी कार्यका लागि खटिएका साविकको जनशक्तिलाई नै परिचालन गर्ने निर्णय भएको छ ।’

उनका अनुसार सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड अपनाएर कामहरु निरन्तर अघि बढाउने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर