राप्रपा कार्यालयमा ठाकुरमोहनमाथि आक्रमणमा संलग्न बम पक्राउ, छुटाउन नेताहरूको दौडधुप – Nepal Press

राप्रपा कार्यालयमा ठाकुरमोहनमाथि आक्रमणमा संलग्न बम पक्राउ, छुटाउन नेताहरूको दौडधुप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण गरिएको घटनामा संलग्न एक जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले कालिकोट घर भई निलोपुल बस्ने नीराजन बमलाई हिजो पक्राउ गरेको हो । उनलाई आज म्याद थपका लागि अदालत लगिएको छ ।

गत २७ फागुनमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षको ढोका अगाडि नै श्रेष्ठमाथि पार्टीभित्रकै एउटा समूहले कुटपिट गरेको थियो । श्रेष्ठले पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । घटनाको झण्डै दुई महिनामा एक आरोपी पक्राउ परेका हुन् ।

राप्रपाले श्रेष्ठमाथि आक्रमणमा संलग्न पार्टीका सहमहामन्त्री प्रेम बलायर, काठमाडौं ४ का क्षेत्रीय अध्यक्ष रिधिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संघठन सदस्य सचिव रहेका बमलाई ४ वर्षका लागि निलम्बन गरिसकेको छ । यद्यपि, घटनाको योजनाकार मानिएका उपाध्यक्ष पाण्डेबारे कुनै निर्णय गरिएको छैन ।

हिजो बम पक्राउ परेपछि राप्रपाका केही नेताहरूको प्रहरी कार्यालयमा दौडधुप सुरु भएको छ । उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र महामन्त्री कुन्ती शाही महाराजगञ्ज प्रहरीमा पुगेर मिलापत्रका लागि प्रयास गरेको स्रोतले बतायो ।

उनीहरूले घटनामा संलग्नहरु दोषी भए पनि यसलाई तन्काउँदा पार्टीको छविमा असर पर्ने भन्दै बमलाई छुटाउने प्रयास गरेका हुन् । पार्टी कार्यसम्पादन समितिको बैठकले निलम्बनको निर्णय लिँदा भने कसैले पनि असहमति जनाएको थिएन ।

आज प्रहरीले जाहेरीकर्ता श्रेष्ठलाई पनि बोलाएको थियो । तर, उनले मिलापत्र गर्न अस्वीकार गरेका छन् । बरु अन्य आक्रमणकारीलाई अहिलेसम्म पक्राउ नगरिएकोमा प्रहरीसँग असन्तुष्टि पोखे । प्रहरीले अरूको पनि खोजी भइरहेको बताएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले आफू प्रहरी कार्यालय गएर पक्राउ परेका एक जनाको सनाखत गरेको बताए । उनले अहिलेसम्म पार्टी कार्यालयको सीसीटीभी फुटेज प्रहरीले आफूलाई हेर्न नदिएको गुनासो पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर