‘घोषणापत्रका ७० प्रतिशत काम पूरा भएका छन्, बाँकी कामको लागि ढोका खोल्यौं !’ – Nepal Press

‘घोषणापत्रका ७० प्रतिशत काम पूरा भएका छन्, बाँकी कामको लागि ढोका खोल्यौं !’

पोखरा । विकास र योजना कार्यान्वयनका हिसाबमा कास्कीकै नमूना ‘स्थानीय तह’ का रूपमा चिनिन्छ, रूपा गाउँपालिका । अध्यक्ष चुनिएर गाउँपालिकामा पदभार ग्रहण गर्दै गर्दा नवराज ओझाले जनतासामु विभिन्न प्रतिबद्धता व्यक्त गरेका थिए । तत्कालीन नेकपा एमालेबाट विजयी ओझाले गाउँ–गाउँलाई सडकले जोड्ने र घर–घरमा खानेपानीका धारा पुर्‍याउने प्रतिबद्धता समेत जनाएका थिए ।

ओझाले गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दा जम्मा ३० मिटर कालोपत्रे र १०२ घरमा मात्रै खानेपानीको धारा पुगेको थियो । चुनाव जितेलगत्तै घरघरमा धारा र कालोपत्रे सडकबारे गरिएका ती प्रतिबद्धता ‘महत्वाकांक्षी योजना’ का रूपमा हेरिएको थियो ।

आफ्ना प्रतिबद्धता पूरा हुँदै गएपछि यतिबेला गाउँपालिका अध्यक्ष ओझा सन्तुष्ट छन् । जनताले गुनासो गर्ने वातावरण नरहेको सुनाउँदै उनी भन्छन्, ‘७० प्रतिशत प्रतिबद्धता पूरा गरें । बाँकी योजना बहुवर्षीय भएकाले आउँदो कार्यकाललाई पनि ढोका खुल्ला गरेको छु, सन्तुष्ट छु ।’

शुरुमा गाउँपालिकामा जम्मा ३० मिटर कालोपत्रे बाटो भएकोमा अहिले करीब ८५ किलोमिटर बाटो कालोपत्रे भइसकेको छ । खानेपानीका ५७ वटा योजना सञ्चालन भइरहेका छन्, जसमध्ये अधिकांश पूरा भइसकेका छन् । खानेपानी योजनाबाट ३९०० घरमा खानेपानीको धारा पुगिसकेको अध्यक्ष ओझा सुनाउँछन् ।

‘५७ वटा योजनामध्ये अधिकांश योजना सम्पन्न भइसकेका छन् । बाँकी रहेका योजना पनि केही समयभित्रै सकिन्छन् । ५४ वटा खानेपानी त गाउँपालिकाले आफ्नै पहलमा ल्याएको हो’ अध्यक्ष ओझा भन्छन्, ‘तीन वटा योजनामा मात्रै प्रदेश सरकारले सहयोग गरेको छ ।’

लामो समयसम्म जनताले जनप्रतिनिधि नपाएकाले बीचमा ‘ग्याप’ हुन गए पनि विस्तारै संघीयता कार्यान्वयनका सिलसिलामा जनता सकारात्मक बन्दै गइरहेको ओझाको अनुभव छ ।

ओझा भन्छन्, ‘संघीयता आइसकेपछि जनताले विकास माहोलको भने अनुभूति गर्न पाएका छन् । त्यो विकासले गर्दा संघीयताप्रति विस्तारै जनताको सकारात्मक दृष्टिकोण बन्दै गइरहेको छ । जन श्रमदानमा जुट्न थालेका छन् ।’

घरघरमा धारा, ३० मिटर कालोपत्रे बाटो ८५ किलोमिटरमा बढायौं

संघीयता लागू भएर स्थानीय तह भइसकेपछि पहिलो काम हामीले कानून बनाउने थियो । स्थानीय तहको कामकारबाहीका लागि आवश्यक नीतिनियम, कार्यविधि, नियमावली बनाउने कुरा सबै गर्‍यौं ।

विकास निर्माणलाई समानान्तर रूपमा अघि बढाउन गाउँपालिकाले एउटा योजना बनायो– सबै काममा गुरुयोजना र डीपीआर बनाउने । अन्य काममा योजनाबद्ध तरिकाले तथ्यांक संकलन गरेर अघि बढ्ने र त्यसैका आधारमा काम गर्ने भन्यौं ।

त्यही योजनाअनुसार पहिलो वर्ष ‘कानून निर्माण तथा पूर्वाधार वर्ष’ को रूपमा मनायौं । त्यो वर्ष हामीले सडकलाई महत्व दिएर अघि बढ्यौं । शुरुमा हाम्रो गाउँपालिकामा जम्मा ३० मिटर कालोपत्रे थियो । अहिले स्थानीय तह आइसकेपछि ८५ किलोमिटर बाटो पिच भइसकेको छ ।

दोस्रो वर्ष ‘खानेपानी वर्ष’ का रूपमा मनायौं । खानेपानीका लागि करीब ५४ वटा योजना पूरा गर्‍यौं । तीन वटामा प्रदेश सरकारसँग सहकार्य गरेका थियौं । खानेपानी योजनामा पनि गाउँपालिकाले आफ्नो योजना पूरा गर्‍यो । एकाध ठाउँमा मात्रै बाँकी छन् ।

तेस्रो वर्षलाई ‘कृषि वर्ष’ का रूपमा मनायौं । यो वर्ष हामीले कृषिलाई फोकस गरेका छौं । किसानलाई टनेल बनाइदिने, पकेट क्षेत्र घोषणा गर्ने, प्रदेश–संघसँग भएका पकेट क्षेत्र, अन्य लाइफ स्टाइलसँग जोडिएका योजनामा समन्वय गरेर काम गरिरहेका छौं । अहिले गाउँपालिकाको कृषि विकासका लागि मात्रै करिब २० करोड रुपैयाँ बराबर लगानी गरिरहेका छौं ।

शिक्षाको क्षेत्रमा पनि हाम्रो गाउँपालिकाले राम्रो काम गरेको छ । भूकम्प प्राधिकरण, जिल्ला इकाई, प्रदेशसँग समन्वय गर्ने र स्थानीय तहको तर्फबाट लगानी गरेर सबै विद्यालयको भौतिक पूर्वाधारदेखि पक्की भवनसम्म बनाएका छौं । भूकम्प गइसकेपछि अधिकांश भवन जीर्ण थिए, सबै मर्मत गरिसकेका छौं ।

प्राविधिक शिक्षा शुरू गरेका छौं । कृषि, भेटेरिनरी, इन्जिनियरिङ शुरू गरिसकेका छौं । सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाइ शुरू भएका छन् । तालिम, ड्रेस, शिक्षक डायरी, विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तकका लागि आर्थिक भार पर्ने भएकाले ती सबै गाउँपालिकाले नै व्यहोर्दै आएको छ ।

शिक्षामा स्तरीयता ल्याउन, प्रविधिमैत्री बनाउन ‘एक शिक्षक एक ल्यापटप’ को व्यवस्था गरेका छौं । शिक्षामा गाउँपालिकाले गरेकोे लगानीले राम्रो प्रतिफल पनि दिइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा सबै स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गरेका छौं । अहिले गाउँपालिकाका पाँच वटा स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था भइसकेको छ । गाउँपालिकामै अस्पताल निर्माण गर्नेलगायतका काम भइसकेका छन् । आउँदो वैशाख १ गते १० बेड क्षमताको अस्पताल उद्घाटन गर्दैछौं । स्वास्थ्य इकाइ नभएका वडामा स्वास्थ्य चौकी भवनहरू बनाउन लागेका छौं ।

कोभिडको बेला पनि हाम्रो गाउँपालिकाले देशकै नमूनाको रूपमा काम गर्‍यो । कोरोनाविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई १० लाख रुपैयाँको बीमादेखि कर्मचारीहरूलाई भत्ताको व्यवस्था पनि गर्‍यौं । यसले देशलाई नै एउटा सन्देश दियो ।

पर्यटनको हकमा रूपा गाउँपालिका एकदमै सम्भावना भएको ठाउँ हो । यहाँ तीनतिरबाट हिमाल देखिन्छ । पूर्वतिर मनास्लु, पश्चिमतिर धौलागिरि, उत्तरतर्फ अन्नपूर्ण हिमशृंखला मजाले नियाल्न सकिन्छ । बंगलादेशका महामहिम राष्ट्रपतिले समेत हाम्रो गाउँपालिकाको भ्रमण गरेका थिए ।

भ्युटावर, पार्क बनाउनेदेखि करिब चार किलोमिटर फुट–ट्रयाक बनायौं । यो वर्ष ६ किलोमिटर पैदलमार्ग बनाउँछौं । होमस्टे सञ्चालन, तालिम दिने सबै गर्‍यौं । रूपातालको ब्युटिफिकेसन गर्नका लागि डीपीआरहरूमा सहभागी हुने, सहजीकरण गर्ने काम गर्‍यौं ।

पशुका हकमा भकारी सुधार, नश्ल सुधार सबै काम गर्‍यौं । अहिले हाम्रो गाउँपालिकाभित्र निःशुल्क रूपमा नश्ल सुधार गर्न गाउँपालिकाले नै कर्मचारी खटाएको छ । चौबीसै घन्टा प्राविधिकहरू अपडेट गरेर राखेका छौं ।

जनताको जीविकोपार्जनसँग जोडिने सबै पाटोहरू हाम्रो मुख्य प्राथमिकतामा पर्छन् । सिंचाइ, कुलो व्यवस्थापन, सिंढी निर्माण गर्ने भन्ने हामी जनप्रतिनिधि आएपछि मात्रै सम्भव भएका हुन् । भूकम्पले क्षति पुगेका घरहरू पनि पुनर्निर्माण भइसकेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिका चुनौती र अवसर

लामो समयसम्म जनताले जनप्रतिनिधि नपाइरहेको अवस्था थियो । संघमा थियो तर संघ स्थानीय तहका जनतासँग सीधै जोडिन सक्ने अवस्था थिएन । अहिले घरआँगनमै जनप्रतिनिधि पाइसकेपछि जनताले आफ्नो समस्या सजिलै भन्न पाएका छन् ।

जनताको समस्या सुनेर सोही अनुसार योजना बनाउने हाम्रो जिम्मेवारी हो । त्यही अनुसार हामी लागिरहेका छौं ।

तर, लामो समयसम्म जनताले जनप्रतिनिधि नपाउँदा ग्याप रहन गयो । जनप्रतिनिधि र जनताले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने कुरा सिकाउने मिडिएटर भएनन् । त्यसले गर्दा हरेक काम र योजनामा जनसहभागिता जोड्ने काम केही असहज हुन गयो । त्यो काम अझै पनि गाह्रो छ ।

जनसहभगिता न्यून रहेकै कारण जनताले सबै काम तथा योजना मेरो पनि हो भन्न अझै गाह्रो छ । कानून ऐन नबुझी भनी र गरिदिएपछि हुन्छ नि भन्ने परिपाटीले पनि समस्या उत्पन्न भइरहेका छन् । त्यो मानसिकता परिवर्तन गर्न पनि गाह्रो छ ।

कानून, मापदण्डअनुसार संरचनाहरू बनाउने, योजना ल्याउने, गुणस्तरीयता बढाउने भन्ने कुरामा अझै सबैलाई प्रष्ट पार्न सकिएको छैन । यसमा जागरुक बनाउनुपर्नेछ । राम्रो पक्ष भनेको संघीयता आइसकेपछि जनताले विकास माहोलको अनुभूति गर्न पाएका छन् । त्यो विकासले गर्दा संघीयताप्रति विस्तारै जनताको सकारात्मक दृष्टिकोण बन्दै गइरहेको छ ।

सिंचाइ, खानेपानी, कुलो, सिंढी जस्ता क्षेत्रमा जनश्रमदान र राम्रो सहयोग पाइएको छ । तर, सडक बनाउने, विद्यालय बनाउने कुरामा भने अझै पनि जनश्रमदान पाउन सकिएको छैन । विस्तारै माहोल बनाउँदै लैजानुपर्नेछ ।

योबेला प्रदेश र संघले हामीलाई सहयोग गरेजस्तो गरेर अधिकार भने आ–आफैंतिर केन्द्रित गरेर राखेको अनुभूति गरेका छौं । आफ्ना कार्यक्रमहरू एउटा न एउटा बहानामा स्थानीय तहमा लिएर आउने र दख्खल दिने काम भइराखेको छ । गाउँपालिकामा आउँदा धेरै कुरा समन्वय र व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

काम गर्दा धेरै रमाइलो र मजा नै भइराखेको छ । सोचेअनुसारको सफलता पाइरहेकै छौं । सन्तुष्ट नै छौं । घोषणापत्र अनुसार ७० प्रतिशत काम पूरा गरिसक्यौं । बाँकी ३० प्रतिशत बहुवर्षीय योजनाअन्तर्गतका हुन्, ती काम केही समय पछि पूरा हुन्छन् । केही भने आउँदो कार्यकालका लागि सजिलो हुने गरी ट्रयाकमा लगाइसकेका छौं ।

प्रतिक्रिया

One thought on “‘घोषणापत्रका ७० प्रतिशत काम पूरा भएका छन्, बाँकी कामको लागि ढोका खोल्यौं !’

  1. सर्हानिय काम उल्लेखनीय जनप्रतिनिधि । धेरै ले सिक्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर