कोरोना कोषबाट अस्पतालहरुलाई साढे ८ करोड निकासा – Nepal Press

कोरोना कोषबाट अस्पतालहरुलाई साढे ८ करोड निकासा

काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट साढे ८ करोडभन्दा बढी रकम निकासा गरेको छ । कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका बिरामीको शव व्यवस्थापनका लगायतका कामका लागि विभिन्न अस्पताललाई ८ करोड ५० लाख ८० हजार ३ सय रुपैयाँ निकासा भएको हो ।

कोष सञ्चालन समितिको बैठकले पूर्वाधार विकासको व्यवस्थापन गर्ने प्रयोजनका लागि संघीय सरकार मातहतका १५ वटा र प्रदेश सरकार मातहतका ३ वटा अस्पताललाई मात्र ३ करोड ६० लाख रकम निकासा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव शंकर नेपालले बताए । उनका अनुसार १८ वटै अस्पताललाई २०–२० लाख रुपैयाँ रकम निकास गरिएको हो ।

प्रचलित कानून एवम स्वीकृत मापदण्डबमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र त्यसको प्रतिवेदन समेत पेश गर्ने गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रकम निकासा गरिएको प्रवक्ता नेपालले बताए ।

रकम पाउने संघीय सरकार मातहतका अस्पतलामा शुक्रराज ट्रपिकल अस्पताल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, नेपाली सेना अस्पताल छाउनी, नेपाल एपीएफ अस्पताल बलम्बु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, वीर अस्पतालन काठमाडौं, नारायणी अस्पतालन वीरगञ्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भरतपुर अस्पताल चितवन, कोशी अस्पताल विराटनगर, गजेन्द्रनारायण अस्पताल सप्तरी, भेरी अस्पताल नेपालगञ्ज र डडेल्धुरा अस्पताल, डडेल्धुरा रहेका छन् ।

रकम पाउने प्रादेशिक अस्पतालमा लुम्बिनी अस्पताल, बुटवल, सुर्खेत अस्पताल विरेन्द्रनगर र सेती अस्पताल धनगढी रहेका छन् । बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई अक्सिजन प्लान्ट निर्माण तथा जडानका लागि २ करोड ५० लाख उपलब्ध गराएको छ ।

निजामती अस्पतालमा भेन्टिलेटर सहितको आइसीयु स्थापना गर्नका लागि २ करोड १५ लाख ९४ हजार ३ सय रकम निकासा दिएको छ । नेपाल एपीएफए अस्पताललाई थप मोलेकुलर ल्यावमा पिसिआर स्वाब सुरक्षित राख्ने प्रयोजनका लागि ७०–८० डिग्री तापक्रम क्षमताको एयर कोल्ड फ्रिजर जडान गर्नका लागि २४ लाख ८६ हजार निकासा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर