हाइड्रोजन विज्ञ विराजसिंह थापा भन्छन्- नेपाल हाइड्रोजनको हब हुनसक्छ – Nepal Press

हाइड्रोजन विज्ञ विराजसिंह थापा भन्छन्- नेपाल हाइड्रोजनको हब हुनसक्छ

काठमाडौं । नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डपमा बुधवारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्ने वक्ताहरूले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन् ।

ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उनीहरूको भनाइ छ । सत्रमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्रोफेसर एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसको लागि नेपाल आजैबाट तयार हेर्नुपर्ने बताए ।

‘सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदै छ । यसमा नेपालको स्थान अन्य देशले बढी देखेको छ ।’ हाइड्रोजनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने,‘नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने मुलुकमा पर्ने देखिएको बेलायतको एक अध्ययनले देखाएको छ । सोलार, विण्ड र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।’

काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट गाडी चलाएर देखाएको र चुल्हो बालेर देखाएको सांकेतिक रहेको र अब सरकार र अन्य निजी क्षेत्र यसमा आउनुपर्ने थापाले बताए ।

‘अब सरकार र अन्य क्षेत्रले यसमा लगानी गर्नुपर्छ । एमोनिया भविष्यको ऊर्जा भएर आउँदैछ । यसमा १ ट्रिलियन डलरको बजार हुँदै छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यसको अनुसन्धान हुँदै छ’ उनले भने ।

नेपालको भविष्य मल कारखानामा पनि उच्च रहेको थापाले बताए । वर्षा याममा जलविद्युत् धेरै उत्पादन हुने र हिउँदमा कम उत्पादन हुने भेरियसनलाई हाइड्रोजन बनाएर प्रशोधन गरी हिउँदमा त्यसको बिक्री गर्न सकिने हुँदा हाइड्रोजन नेपालको ऊर्जा सुरक्षाको लागि राम्रो विकल्प रहेको उनको भनाइ छ ।

काठमाडौं विश्वविद्यालयले बुद्ध भूमि हाइड्रोपावरसँग हाइड्रोजन उत्पादनमा सहकार्य गरेको पनि उनले बताए ।

सरकारले हाइड्रोजन नीति बनाए पनि ऐन, नियम, कार्यविधि बनाउन आवश्यक रहेको उनले बताए । कार्यविधि बनाए सन् २०३० देखि २०४० सम्म नेपालको हाइड्रोजन विश्व बजारमा जान सक्ने उनको भनाइ छ । सरकारले कार्यविधि बनाए यसमा निजी क्षेत्रले लगानी गर्ने उनले आफ्नो प्रस्तुतिमा राखे ।

‘नेपाल हाइड्रोजनको हब हुन सक्छ । यसको उत्पादन प्रसारण गर्न सक्छ । हाल १५० बिलियनको हाइड्रोजन बजार बनेको र यसको लागि सरकारले छिटोभन्दा छिटो यसको लागि चाहिने ऐन र कार्यविधि बनाउनु पर्छ’ उनले भने ।

सन् २०४५ सम्म सरकारले कार्बन उत्सर्जन शून्य गर्ने भनेको छ । यसलाई कसरी प्राप्त गर्ने भन्ने हालसम्म नसोको भन्दै यसको कार्य योजना बनाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर