वडाध्यक्षकाे घरमा खाना खान पस्दा सांसदकाे सरकारी गाडीमा आगजनी – Nepal Press

वडाध्यक्षकाे घरमा खाना खान पस्दा सांसदकाे सरकारी गाडीमा आगजनी

सुर्खेत । कर्णाली प्रदेश सभाको एक सरकारी गाडीमाथि जाजरकोटमा आगजनी भएको छ । कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेबहादुर सिंह चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको स्कार्पिओमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समूहले आज शुक्रबार स्याउलीबजारमा आयोजना गरेको पार्टी कार्यक्रममा जानेक्रममा सांसद सिंह वडा नं ७ का वडाध्यक्षको घरमा बसेका थिए । प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार भेरी नगरपालिका वडा नं ७ पुन्ममा बिहीबार राति १०ः०० बजे गाडीमा आगलागी भएको हो ।

‘‘गाडी राखेर उहाँहरु माथि गाउँमा जानु भएको थियो, एक्कासी आगो लागेको खबर हामीलाई आयो ।’ उनले भने, ‘कसले लगायो, किन आगो लगायो भन्ने बारेमा पूर्ण जानकारी आइसकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको नेतृत्वमा एक टोली अनुसन्धानका लागि हामीले पठाएका छौं । गाडी पूर्ण रुपमा क्षति भएको छ ।’

उनले सदरमुकाम नजिकै भएका कारण विप्लव समूहले आगजनी गरेको हो कि भन्ने आशंका अहिले नगरिएको बताए । ‘गाडीमा प्राविधिक कारणले आगो लागेको हो वा कसैले लगाएको हो । अनुसन्धानपछि मात्रै खुल्ला ।’ उनले थपे ।

गाडी चालक सुशील जैसीले गाडीको चारैतिर पेट्रोल छर्केर आगो लगाइएको बताए । ‘हामीले वडाअध्यक्ष शाहीको घरमा खाना खाने तयारी गरेका थियौं । खाना खाएर गाडीमा सुत्न आउने तरखर गरिरहेको समयमा कसैले आगो लगाईदिएछ ।’ उनले नेपाल प्रेससँग भने, ‘वडाअध्यक्षको घरमा गाडी नपुग्ने भएका कारण तीन मिनेटको दुरीमा गाडी राखेर त्यहाँ गएका थियौं ।’

उक्त गाडी आर्थिेक वर्ष २०७५/०७६ मा खरिद गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर