समर्थन फिर्ता लिएको २ दिनमै यसरी सरकारमा सामेल भए हानेपाका बज्राचार्य – Nepal Press

समर्थन फिर्ता लिएको २ दिनमै यसरी सरकारमा सामेल भए हानेपाका बज्राचार्य

हेटौंडा । सत्ताको राजनीति खेलमा एक सिटको कति महत्व हुन्छ भन्नेकुरा बागमती प्रदेशको राजनीतिले थप प्रष्ट पारेको छ ।

केन्द्रीय राजनीतिमा भएको सत्ता गठबन्धनको परिवर्तनपछि बागमती प्रदेश सरकारलाई बचाउने मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रयास उनले विश्वासको मत लिने अन्तिम दिन भन्दा करिब एक साता अघि करिब सफल भएको छ ।

अबको सातदिनभित्र केन्द्रीय गठबन्धनमा कुनै समस्या नभए या बागमतीमा हाम्रो नेपाली पार्टी (हानेपा)ले पुनः अर्को निर्णय नगरे यो सरकार टिक्ने करिब निश्चित छ ।

बागमतीमा सत्ता गठवन्धनलाइ बहुमतको सरकार बनाउनकोलागि ५६ सिट आवश्यक रहेको थियो । तर सत्तारुढ दल एमाले, माओवादी केन्द्र तथा समाजवादीबाट ५५ जनामात्र प्रदेशसभा सदस्य पुगेपछि सत्तारुढ दललाइ एक सिटको आवश्यकता परेको थियो ।

प्रदेशसभामा रहेको कांग्रेस, राप्रपा र नेमकिपाले सरकारमा नजाने र समर्थनपनि नदिने बताएपछि सत्तारुढ दलको अन्तिम आशा २ सिट रहेको हानेपामाथि रहेको थियो ।

हानेपासँगको चरणवद्ध छलफल सकारात्मक बनेकै समयमा एक्कसी चैत ४ गते हानेपाले मुख्यमन्त्री पाएमात्र सरकारमा सहभागी हुने नत्र कुनै पक्षलाइ समर्थन नदिने र सरकारमा पनि सहभागी नहुने जानकारीसहितको प्रेस विज्ञप्ती जारी गरेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अप्ठेरोमा परेको थियो ।

यसैबीच हानेपाले दुई दिन अघि मात्र चैत १३ गते इमेलमार्फत जम्कट्टेल नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यलयमा पठाएपछि थप समस्याग्रस्त बनेको सरकारले अन्तिम समयमा हानेपाको समर्थन प्राप्त गरेको छ ।

दुईदिन अघिमात्र समर्थन फिर्ताको इमेल गरेको पत्र पठाएको हानेपा दुइदिनपछि सरकारमा सामेल भएपछि बागमती प्रदेश सरकरको अन्योलता केही समयको लागि अन्त्य भएको हो ।

गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले त्यसको हप्तादिनपछीनै हानेपा प्रदेशसभा सदस्य बज्राचार्यलाई मन्त्रीको रुपमा शपथ ग्रहणको तयारी गरेको थियो ।

बज्राचार्य मन्त्री बन्नको लागि उनी हेटौंडा आउने एक दिन अघि काङ्ग्रेस नेताहरुसङ्गको भेटपछि उनि हेटौंडा आएनन् र हालसम्मको घटनाक्रम भएको थियो । हानेपाले आफ्नो केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेलाई गैर प्रदेशसभा सदस्यको रुपमा कम्तिमा ६ महिनाको मन्त्री माग गरेको तर यो कुराको हानेपा र सत्तारूढ दलबाट नै अस्वीकार भएको श्रोतको दाबी छ ।

बिहीबारको नाटकीय घटनाक्रम

बिहीबार बागमती प्रदेशको राजनीतिले नाटकीय मोड लिन पुग्यो । दुइ दिनअघि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको हानेपा सरकारमा सामेल भयो । हानेपाबाट सांसद बज्राचार्य एकाएक मोबाइल अफ गरेर हेटौंडा आए । पार्टीको पदाधिकारी बैठकमा प्रदेश सरकारमा सामेल हुने मत राखेर निस्किएका उनी मोबाइल अफ गरेर हेटौंडा आएपछि पार्टी अध्यक्ष आनन्दराज घिमिरेले आफ्नो प्रदेशसभा सदस्यलाइ सत्तारुढ दलले अपहरण गरेको आरोप लगाए ।

तर बज्राचार्यले हेटौंडा आएर आफुहरु स्थायित्वको लागि प्रदेश सरकारमा सामेल भएको प्रतिक्रिया दिए । बिहिबार दिनभरको अनिश्चिताविच प्रदेशसभाको राजनितीक खेलमा कांग्रेस असफल देखियो । काङ्ग्रेस नेताहरुले बिहीबार पनि संचारकर्मीहरुलाइ हानेपा प्रवक्ता जसरी सम्पर्क गरिरहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *