नेपाल प्रहरीको ‘नमस्ते टोली’लाई काठमाडौंमा निषेध ! – Nepal Press

नेपाल प्रहरीको ‘नमस्ते टोली’लाई काठमाडौंमा निषेध !

काठमाडौं । २०५८ सालमा नेपाल प्रहरीमा भित्रिएको राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई व्यंग्यात्मक तरिकाले ‘नमस्ते टोली’ भन्ने गरिन्छ ।

गुप्तचरमा २०५३ पुसमा इन्स्पेक्टरस्तरको दर्जामा सेवा प्रवेश गरेका १२ अधिकृतहरु ५ वर्षपछि प्रहरीमा भित्रिएका थिए । ३० वर्षे सेवा अवधि यथावत रहे सोही टोलीबाट बढीमा २०८२ कात्तिकसम्म नेपाल प्रहरीले आईजीपी पाउन सक्ने छ ।

उनीहरु अहिले सिनियर एसएसपीका रुपमा रहेका छन् । आईजीपी पाउने सक्ने किन भनिएको हो भने २०५४ चैतमा प्रहरीको इन्सपेक्टरमा भर्ना भएको टोली एसएसपीमा उनीहरुसँग बढुवा भएको छ ।

एसपीमा बढुवा हुँदा पनि उनीहरुसँगै थिए । प्रहरी नियमावलीले नमस्ते टोलीलाई पछाडि पारेर २०५४ चैतको टोलीबाट आईजीपी बनाउन रोक्दैन । त्यसअघि डीआईजी र एआईजीमा बढुवा हुँदा को को पर्छन् भन्ने कुराले त्यसको तय हुने छ ।

नेपाल प्रहरीमा एसएसपीसम्मको दर्जाले जिल्लाको कमान्ड सम्हाल्छन् । एसएसपीले कमान्ड गर्ने जिल्ला काठमाडौं र ललितपुर हुन् । काठमाडौं उपत्यकाभित्र हुने ठूला अपराधको अनुसन्धान गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पनि एसएसपीले नै कमान्ड गर्छन् ।

यीमध्ये काठमाडौं र काठमाडौं उपत्यकालाई बुझ्न काठमाडौं जिल्ला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व महत्वपूर्ण मानिन्छ । तर नमस्ते टोलीले अहिलेसम्म यी दुई ठाउँको नेतृत्व गर्ने अवसर पाएको छैन र अब सम्भावना कम देखिएको छ ।

२०५६ मा नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकालेको टोलीबाट दुई जना सोमेन्द्रसिंह राठोर र भुपेन्द्र खत्रीले यी दुई ठाउँ सम्हालिसकेका छन् भने थप दुई जना सानुराम भट्टराई र बसन्त रजौरेले अब पालो पाएका छन् ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल महत्वपूर्ण ठाउँको जिम्मेवारी करियर प्लान र मेरिटका आधारमा हुनुपर्ने बताउँछन् । ‘तर समस्या के छ भने हाम्रोमा बढुवामा नै शक्ति केन्द्रहरु हावी हुन्छन् । सरुवामा हुनु त स्वाभाविक नै हो । सबैलाई आफ्नो मान्छे कसरी पठाउने भन्ने हुन्छ’, मल्ल भन्छन् ।

उनले संगठनको नेतृत्व गर्न सक्ने क्याडरहरुका लागि काठमाडौं जिल्ला, उपत्यका अपराध अनुसन्धान कार्यालयलगायतको अनुभव लिनु महत्वपूर्ण हुने बताए ।

‘तर यस्ता ठाउँमा एउटा ब्याचबाट यति नै जनालाई जिम्मेवारी दिइनुपर्छ भन्ने होइन । कार्यक्षमतालगायत विषयलाई हेर्नुपर्छ । स्तरीय अधिकृतहरु भएनन् भने अर्को ब्याचबाट जिम्मेवारी दिइनु स्वाभाविक हुन आउँछ’, उनले भने ।

हालका आईजीपी बसन्तबहादुर कुँवरले एसएसपी रहँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हालेका थिए । उनले प्रहरीमा भर्ना हुन निकालेको विज्ञापनमा पास भएकाहरु विभिन्न तीनवटा फरक मितिमा इन्स्पेक्टरमा भर्ना भएका थिए ।

प्रहरी निरीक्षकमा उनीसँगै नाम निकाले जनक भट्टराई, दीपक थापा र चन्द्रकुबेर खापुङले पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर काम गरेका थिए । श्यामलाल ज्ञवाली, अशोक सिंह र सुदीप गिरीले काठमाडौं जिल्ला सम्हालेका थिए ।

यसअघि आईजीपी भएका धिरजप्रताप सिंह पनि एसएसपीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका थिए ।

उनका अन्य भर्ना ब्याचीहरु सहकुल थापा र दिवेश लोहनीले पनि उक्त कार्यालयको नेतृत्व गरेका थिए । उनका भर्ना ब्याचीहरु रवीन्द्रबहादुर धानुक, बसन्तकुमार लामा, उत्तमराज सुवेदी र विश्वराज पोखरेलले काठमाडौं जिल्लाको नेतृत्व गरेका थिए ।

पूर्वआईजीपी धिरजप्रताप सिंह संगठनको नेतृत्व गर्न चाहनेका लागि काठमाडौं जिल्ला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय गतिलो परीक्षा हुने बताउँछन् ।

‘शान्ति सुरक्षाको हिसाबले काठमाडौं जिल्ला परिसर र गम्भीर अपराध अनुसन्धानका हिसाबले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय दुवै चुनौतीपूर्ण छन् त्यसैले संगठनको नेतृत्व गर्न चाहनेहरु एकपटक यहाँ काम गर्न लालयित हुन्छन् । यसले संगठनलाई भावी नेतृत्व चिन्न पनि सजिलो हुन्छ ।

विगतलाई हेर्ने हो भने अधिकांश आईजीपीले कुनै समय यी दुईमध्ये एक युनिटको नेतृत्व गरेको देखिन्छ’, पूर्व आईजीपी सिंह भन्छन् ।
पछिल्ला आइजीपीहरु हेर्ने हो भने शैलेष थापा र ठाकुरप्रसाद ज्ञवाली दुवैले यी युनिट सम्हालेका थिएनन् ।

अहिले नेपाल प्रहरीको एसएसपीमा नमस्ते टोलीअघि भर्ना भएका चार जनामात्र एसएसपी छन् । नमस्ते टोली र २०५४ चैतको भर्ना टोलीमध्येबाट २०७९ साउनमा ३१ जना एसएसपीमा बढुवा भएका थिए ।

तीमध्ये पहिलोदेखि तेस्रो नम्बरसम्म नमस्ते टोलीकै क्रमशः सिद्धिविक्रम शाह, सुशीलसिंह राठोर र उमाप्रसाद चतुर्वेदी थिए । त्यसपछि २०५४ चैत भर्ना टोलीका दानबहादुर कार्की, मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ क्रमशः रहेका छन् ।

सूचीमा त्यसपछि नमस्ते टोलीकै हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर रानालगायत छन् । नमस्ते टोलीबाट सिद्धिविक्रम शाहले ललितपुर जिल्लाको नेतृत्व गरे । तर ललितपुरको बालकुमारीमा दुई प्रदर्शनकारी युवाको मृत्युपछि उनी समय नपुग्दै हटाइएका थिए ।

यता भूटानी शरर्णार्थी प्रकरणको अनुसन्धानमा संलग्न थिए मनोज केसी । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख र दानबहादुर कार्की काठमाडौं प्रहरी परिसर प्रमुखका रुपमा थिए । पछि उनीहरुलाई पनि समय नपुग्दै हटाइएको थियो ।

उनीहरुको भर्ना ब्याचबाट पनि अरुले यी दुई युनिटको नेतृत्व गर्ने अवसर पाएका छैनन् । २०८० बैशाखमा एसएसपीमा बढुवा भएको २०५६ को इन्स्पेक्टर ब्याचले काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको नेतृत्व आफूबाट उम्किन दिइरहेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *