दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल – Nepal Press

दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरुलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् ।

हरेक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै उनले हरेक दिन उनीहरुसँग नै अल्झिरहनु परेको बताए । उनले विगतमा भ्रातृ संगठनहरु आवश्यक भएपनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने बेला आएको बताए ।

उनले आफूहरुले पनि विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि शुद्ध किसिमले चलाउने बताए । उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने बताए । उपकुलपति बरालले विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त कलेजहरुलाई अनुगमन गरी निश्चित संयन्त्र बनाइ नियन्त्रण गर्नुपर्ने बताए ।

उनले त्रिभुवन विश्वविद्यालयले मात्रै क्यालेण्डर प्रणाली लागू गर्छु भनेर नहुने भन्दै एसईई परीक्षा लगायतका परिक्षाहरु र अन्य विश्वविद्यालयको क्यालेन्डरसँग पनि सम्बन्धित हुने बताए । विश्वविद्यालयले बजारको माग अनुरुपको नयाँ पाठ्यक्रम दिन नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा नयाँ पाठ्यक्रमको बारेमा पनि सोचिने बताए ।

यस्तो छ बरालको भनाइः

हामीले परिक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो । तथ्यलाई हामीले स्वीकार्नु पर्छ । परिक्षालाई सुधार्न मेरो टिम लागिराखेको छ । परीक्षा क्यालेण्डर बनाउने, परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेण्डर लागू गर्ने र परीक्षालाई समयमै निकाल्ने हाम्रो योजना छ ।

सबैले स्वीर्कानुपर्ने कुरा के हो भने जति दल छन्, ति दलका विद्यार्थी संगठन, कर्मचारी संगठन र प्राध्यापक संघ पनि छन् । एक दिन एउटा पार्टीको आउँछ । अर्कोदिन अर्को पार्टीको आउँछ । त्यसैमा हामी धेरैजसो अल्झिराख्नु परेको छ । हामीले अनावश्यक रुपमा आफ्नो भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्छ । यो महत्वपूर्ण कुरा छ ।

हिजो पञ्चायतकालमा आवश्यक थियो । अब शैक्षिक क्षेत्रमा, शैक्षिक संस्थाहरुमा भ्रातृ संस्थाहरुलाई परिचालन गर्नुपर्ने छ कि छैन भन्ने कुरामा यहाँहरुले पनि सोच्नुपर्ने बेला आएको छ । हामीले पनि शुद्धगरी, केही बायस नगरी विश्वविद्यालय सञ्चालन गर्ने भनेका छौँ । भागबण्डा लगाउनु हुन्न भन्नेकुरा छ ।

मैले तीतो सत्य भन्नैपर्छ, एउटा प्राफेसर भागबण्डाको नाममा एउटा लेक्चररको मातहतमा काम गर्नुपर्दा प्रोफेसरले कुन मन लिएर कक्षामा जान्छ ? त्यसैले राजनीतिबाट मुक्त नगराउँदासम्म विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागू गर्न अपm्ठ्यारो महशुस गरेको छु ।

तर हामी प्रयास गर्छौं । विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त विदेशी कलेजहरु छन् । न तिनको कोटा छ । न तिनको गुणस्तरियताको अनुगमन हुन्छ । त्यो सत्य हो । त्यसका हामीले निश्चित संयन्त्र तयार गरेर तिनीहरुलाई नियन्त्रण गर्नुपर्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *