कोशी योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त – Nepal Press

कोशी योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले झापा बिर्तामोडका अधिकारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजनामन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

अधिकारी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्रका उपप्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तर बीचको सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको जनाइएको छ । आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहने व्यवस्था छ ।

डा. अधिकारीलाई आजै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेका छन् । प्रदेशको आर्थिक सम्बृद्धि, सन्तुलित विकासका लागि दूरगामी सोचसहितको विकास नीति तर्जुमा गर्न, नीति कार्यान्वयनमा सहजीकरण, अनुगमन र मूल्याङ्कन लगायतका विषयमा आयोगले काम गर्ने कार्यक्षेत्र रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *