लखनउको लज्जास्पद हारपछि टीम मालिकले केएल राहुलको सातो खाए – Nepal Press

लखनउको लज्जास्पद हारपछि टीम मालिकले केएल राहुलको सातो खाए

काठमाडौं । आइपीएलमा हिजो भएको खेलमा सनराइजर्स हैदारावादले लखनउ सुपर जायन्ट्का सातो लियो । खेलपछि लखनउका टिम मालिकले कप्तान केएल राहुलको सातो लिएका छन् ।

पहिले ब्याटिङ गरेको लखनउले ४ विकेट क्षतिमा १६५ रन बनाएको थियो । १६६ रनको सामान्य लक्ष्यलाई हैदरावादका विष्फोटक ओपनरहरुले सहजै निलिदिए । ट्राभिस हेड र अभिषेक शर्माले असाधारण हिटिङ गर्दै लखनउको बलिङको धज्जी उडाएका थिए । खेल अपत्यारिलोरुपमा १० ओभरभित्रै सकियो ।

उक्त खेलपछि कप्तान राहुलले निकै आलोचनाको सामना गर्नु परिरहेको छ । उनको सुस्त ब्याटिङमाथि पनि प्रश्नहरु उठेका छन् । ओपनरका रुपमा आएका राहुलले ३३ बल खेल्दा २९ रन मात्रै जोड्न सके ।

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा लखनउका मालिक सञ्जिभ गोयन्काले राहुललाई नमज्जाले थर्काइरहेका छन् । एसएसजीको डगआउट नजिकको दृष्य टेलिभिजन लाइभमै कैद भएको थियो ।

गोयन्काले राहुललाई के भनेर हप्काइरहेका थिए भन्ने आवाज सुनिएको छैन । तर उनी राहुलसित निकै आक्रोशित देखिएका छन् । राहुलले भने कुनै जवाफ नफर्काइ सुनि मात्र रहे । टेलिभिजन कमेन्टेटरले भने यो दृष्यमाथि टिप्पणी गरेका थिए ।

उनले भने, ‘मलाई लाग्छ कि यस्ता संवादहरु बन्द ढोकाभित्र हुनुपर्छ । यहाँ यति धेरै क्यामरा छन्, जसले कुनै चिज पनि छाड्दैनन् । धन्न केएल राहुलले आफ्नो संयमता गुमाएनन् । के भएको थियो भन्ने सायद उनले पछि बताउलान् ।’

हिजोको हारपछि लखनउ अंकतालिकाको छैटौं स्थानमा खस्केको छ र प्लेअफको सम्भावना चुनौतिपूर्ण बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *