अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा, एक लाख विद्यार्थी सहभागी हुँदै – Nepal Press

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा, एक लाख विद्यार्थी सहभागी हुँदै

काठमाण्डौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पहिलोपटक राजधानी काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवको तयारी पूरा गरेको छ ।

जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो ।

देशभर रहेका पाँच सय वटा शैक्षिक संस्थाबाट एक लाख विद्यार्थीलाई महोत्सवमा सहभागी गराउने लक्ष्य राखिएको अनेरास्ववियुका उपाध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक धर्म गिरीले जानकारी दिए । विद्यार्थीका लागि यो अति नै उपयोगी हुने र विद्यार्थीलाई देशमै केही गर्न सकिन्छ भन्ने खालको सकरात्मक सन्देश दिनका लागि पनि महोत्सव कोशेढुंगा सावित हुने उनले बताए ।

देशभरका विद्यार्थीका विभिन्न नविनतम प्रतिभा महोत्सव स्टलमा राखिने जनाइको छ । महोत्सव अविधभर निःशुल्क स्वास्थ्य शिविर, सात वटै प्रदेशबाट साँस्कृतिक एक्सपोसमेत संचालन हुनेछ । विभिन्न क्षेत्रका तीन सय वटा स्टल रहनेछन् । सामुदायिक र सरकारी विद्यालयलाई स्टल निःशुल्क रुपमा व्यवस्था गरिएको संंयोजक गिरीले जानकारी दिए ।

उनका अनुसार नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारी लगायत विषयमासमेत सामूहिक छलफल गरिनेछ । महोत्सव अवधिभर दिउँसो तीन बजेदेखि साँझ सातबजेसम्म सांस्कृतिक कार्यक्रमसमेत संचालन हुनेछ ।

महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने आयोजकले जनाएको छ । विद्यार्थी महोत्सव सञ्चालन अवधिभर ६० देखि ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर