विष्णु पौडेलको टिप्पणी- सरकार फेर्ने कोसिस माकुराको जालोजस्तो च्यातिएको असर सदनमा देखियो (भिडिओ) – Nepal Press

विष्णु पौडेलको टिप्पणी- सरकार फेर्ने कोसिस माकुराको जालोजस्तो च्यातिएको असर सदनमा देखियो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखिएको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा पौडेलले पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने र सरकार बदल्ने कोसिस माकुरोको जालो जस्तो च्यातिएको भन्दै त्यसको असर संसदमा देखिएको बताएका हुन् ।

प्रधानमन्त्रीलाइ सदनमा विश्वासको मत लिन नदिएर कांग्रेसले कस्तो लोकतान्त्रीक अभ्यास गरेको हो भन्ने प्रश्न गर्दै सदनमा बचपना नदेखाउन कांग्रेसलाई सुझाव दिए ।

पौडेलले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारले सवै समस्या समाधान गर्दै मुलुकमा सुशासन कायम हुन्छ भन्ने विश्वास जनतामा जाग्न सुरु भएको धारणा राखे । उनले अहिले मुलुकमा विकासले स्पष्ट दिशा तय गरेको जिकिर गरे ।

उनले सहज रुपमा संसदको क्रियाकलाप अघि बढाउने वातावरण बनाउन आग्रह समेत गरे ।

पौडेलको भनाइ यस्तो छ,
पछिल्लो समय देशमा नयाँ समीकरणको सरकार बनेपछि विकासले स्पष्ट दिशा तय गरेको छ। बरालिएको विकास लिकमा फर्किएको छ । नागरिकमा देश विकासको आशा विकास भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकमा सुशासनको कदम अघि बढेको छ । यसबीचमा नागरिकमा एक खालको निराशाको अवस्था सिर्जना भएको थियो । सरकारको पछिल्लो प्रयासले विस्तारै निराशालाई चिर्न,नागरिकलाई आशाको सन्चार गर्न,देश हामीले निर्माण गर्न सक्छौं भन्ने विश्वास सिर्जना गर्न सरकार सफल भएको छ ।

अहिलेको अवस्था स्थायित्वको लागि हो । तर यसबीचमा सरकारलाई कमजोर पार्ने,पर्दाभित्रबाट सरकार बदल्ने खालका कोशिश पनि भए । त्यो कोशिस माकुराको जालोजस्तो च्यातियो । वास्तवमा यो प्रतिनिधि सभाले सरकार परिवर्तन होइन अझ बढि बल दिन चाहान्छ भन्ने पुष्टि गरेको छ । सरकार ढाल्ने प्रयास माकुराको जालजस्तो च्यातिएपछि त्यसका प्रतिक्रिया प्रतिनिधि सभामा देखिएका छन् । प्रमुख प्रतिपक्षबाट जे जस्ता गतिविधिहरु देखिएका छन्,त्यो खेल असफल भएपछिको हो । सरकारप्रतिको हिजोको भन्दा आजको विश्वास र समर्थन फराकिलो भएको छ । यसले राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने संकेत गरेको छ । स्थायित्वका साथ देशलाई अघि बढाउने महाअभियानमा सरकारलाई साथ दिनु सबै राजनीतिक दलको कर्तव्य हो र नागरिकको कर्तव्य हो ।

ठिक छ कांग्रेसको यो प्रतिक्रियाका कारणहरु हामीले महशुस गर्न सक्छौं । यो बेचैनी किन भइरहेको छ भन्ने अनुमान गर्न सक्छौं । बेचैनी प्रकट गर्ने होइन संवैधानिक प्रावधान अनुसार अघि बढ्नुपर्छ र कांग्रेसका नेताहरुले आफ्नो भूमिकामा पुनर्विाचर गर्न म आग्रह गर्न चाहान्छु । संविधानले निर्धाण गरेको कर्तव्य अन्तर्गत सम्मानीय प्रधानमन्त्रीजयू विश्वासको मत लिन अग्रसर हुनुभएको छ । यो प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ? जनताबाट निर्वाचित प्रतिनिधिले यो सभाको विश्वास मत सँग छ भनेर विश्वासको पुनःपुष्टि गर्न खोज्दा अवरोध गर्ने कस्तो लोकतन्त्र हो ? यस्तो बचकनापन नदेखाउन आग्रह गर्न चाहान्छु ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर