तेस्रो लगानी सम्मेलन: विश्वका धनाढ्य को को आउँदैछन् ? ज्याक मा र जेफ बेजोसले गरे डिक्लाइन – Nepal Press

तेस्रो लगानी सम्मेलन: विश्वका धनाढ्य को को आउँदैछन् ? ज्याक मा र जेफ बेजोसले गरे डिक्लाइन

काठमाडौं । सरकारले बैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा सहभागी हुन सरकारले विश्वभरका धनाढ्यहरुलाई निमन्त्रणा पठाएको थियो । तर, निमन्त्रणा पठाएकामध्ये थोरैमात्र धनाढ्यले प्रतिक्रिया जनाएका छन् । धेरै धनाढ्यहरुले कुनै प्रतिक्रिया नदिएको लगानी बोर्डले बताएको छ ।

बोर्डले अलिबाबाका संस्थापक ज्याक मा, भारतीय धनाढ्यहरु गौतम अडानी र मुकेश आम्बानी, विश्वका दोस्रो धनाढ्य एलन मक्स, फेसबुकका संस्थापक मार्क जुकर बर्ग, अमेजोनका मालिक जेफ बेजोस र माइक्रोसफ्टका मालिक बिल गेट्सलगायत विश्वका ठूला धनाढ्यलाई निमन्त्रणा पठाएको थियो । यीमध्ये धेरैले निमन्त्रणाको कुनै रिप्लाइ नै दिएनन् । अलिबाबाका संस्थापक ज्याक मा र अमेजोनका मालिक जेफ बेजोसले डिक्लाइन अर्थात नआउने जानकारी गराएको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।

उनले ३ दिन अघिदेखि नै विदेशी लगानीकर्ताहरु नेपाल आउन थालेका बताए । ‘अध्यागमन विभागले लगानी सम्मेलनका लागि आगन्तुक आउन थालेको जानकारी दिएको छ । तर, कति आए भन्ने एकिन तथ्यांक छैन’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वका ठूला धनाढ्यहरु सबै ठाउँमा जान्छन् भन्ने नरहेको बताए ।

उनले भने, ‘सबैको सबै ठाउँमा जाने समय नमिल्न सक्छ । म आफैं पनि कति कार्यक्रममा पुग्न भ्याउँदिनँ । ३ हजारले लगानी सम्मेलनमा भाग लिँदैछन् । यो हाम्रो लागि राम्रो कुरा हो ।’

महासंघका उपाध्यक्ष हेमराज ढकाल मार्केट सानो भएर पनि विश्वका ठूला धनाढ्यमा नेपालको लगानी सम्मेलनमा आकर्षण नरहेको बताउँछन् ।

उनले भने, ‘हाम्रो मार्केट सानो भएकाले विश्वमा नाम चलेका वा ठूला व्यवसायीहरु नआउने भएका हुन् । थोरैमा पनि १० करोड जनसंख्या भएको भए विश्वका ठूला धनाढ्यहरु आउँथे ।’

बोर्ड बैठकले विभिन्न क्षेत्रका १४८ परियोजना प्रदर्शनी (सोकेस) मा राख्न स्वीकृति दिइसकेको छ । तीमध्ये अधिकांश जलविद्युतका परियोजना छन् । सम्मेलनमा लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले ९ वटा ऐन अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

लगानी बोर्डले १२ ऐन र २ वटा नियमावली संशोधनको सुझावसहित सरकारलाई पठाएको थियो । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न २४ ऐन संशोधन र २ वटा नयाँ ऐन ल्याउन माग गरेको थियो । नेपाल उद्योग परिसंघले लगानी भित्र्याउन २८ ऐन संशोधन, ५ खारेज र ३ वटा नयाँ ल्याउन सरकारलाई सुझाव दिएको थियो ।

नेपालमै सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीहरु युनिलिभर, कोकाकोला, डाबर र स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतका प्रतिनिधिले नेपालको लगानी सम्मेलनमा भाग लिने भएका छन् ।

बोर्डले २ हजार ४०० भन्दा धेरैलाई नेपालको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । जसमा १ हजार ६०० भन्दा धेरैले आउने भनेर कन्फर्म गरेका छन् । लगानी सम्मलेनका लागि विभिन्न ५५ देशबाट सहभागिता रहने बोर्डले बताएको छ ।

सम्मेलनमा नेपालबाट ३८५, चीनबाट २६५, भारतबाट १४३, अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेश र यूएईबाट १३÷१३ तथा जर्मनीबाट १० जना सहभागी हुँदैछन् । बाँकी ४२ वटा देशबाट १ देखि ९ जनासम्मले भाग लिने बोर्डले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर