एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई- ४०० केभी बुटवल सबस्टेशन निर्माणको जिम्मा – Nepal Press

एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई- ४०० केभी बुटवल सबस्टेशन निर्माणको जिम्मा

काठमाडौं । एमसीए-नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिएको छ । उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिनेछ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी महामहिम राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले “नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको बताए ।

उनले भने, ‘अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउनेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४०० केभी सबस्टेशन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताए ।

यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउनेछ, घिसिङले भने ।

कार्यक्रमका क्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पार्दै भने, ‘एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ । बाँकी दुई वटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।’

एमसिए–नेपालले नेपाल सरकारको लगानी तथा अमेकिरी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजना अन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक एक वटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैैछ ।

अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहेको एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिए अनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल– गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमि अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

One thought on “एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई- ४०० केभी बुटवल सबस्टेशन निर्माणको जिम्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *