प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै मधेशमा नयाँ सरकारको आधार तयार ! – Nepal Press

प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै मधेशमा नयाँ सरकारको आधार तयार !

जनकपुरधाम । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिएसँगे मधेशमा पाँच दलको सरकार बन्ने सम्भावना बढेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिपक्षमा रहेका जनमत पार्टीले पनि विश्वासको मत दिएको हो । मधेशमा सरकार बनाउन जनमत निर्णायक थियो । सत्ता गठबन्धनका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले मधेशमा पनि जनमतले सरकार बनाउन सहयोग गर्ने निश्चित भएको छ ।

जनमतका एक नेताका अनुसार मधेशमा अब एमाले, माओवादी, जनमत, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सरकार बन्छ । यी पाँच दलसँग सरकार बनाउने बहुमत पनि छ ।

मधेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । एमालेका २५, माओवादीका ९, जनमतका १३, नेकपा एसका ७ र नाउपाका १ गरी ५५ सांसद छन् ।

मधेशमा अहिले जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री छन् । गत वैशाख ३० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकार छाड्दै समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परे ।

एमाले र माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि यी दुई दल, जनमत र लोसपाका दलका नेता तथा उपनेताहरू हात मिलाएको सामूहिक तस्बिर सार्वजनिक गरिएको थियो । तर पछि लोसपा हिच्किए । साथै मुख्यमन्त्रीबारे पनि विवाद चुलियो । सोही कारण नयाँ सरकार गठन अन्योल बन्यो ।

आज प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिएसँगै मधेशमा सरकार गठनको आधार तयार भएको छ ।‌ नेकपा एस प्रचण्ड सरकार छाड्ने हल्ला निराधार साबित भएको छ । स्रोतका अनुसार नेकपा एससहित पाँच दलबीच मुख्यमन्त्री र मन्त्रालय बाँडफाँडबारे छलफल चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर