ताजसँग चौधरी ग्रुपको नयाँ साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात – Nepal Press

ताजसँग चौधरी ग्रुपको नयाँ साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात

काठमाडौं । चौधरी ग्रुपले नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाइ दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा भव्य कार्यक्रमकाबीच ताजसँगको बृहत साझेदारीमा हस्ताक्षर गरेका हुन् ।

ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन् भने थप तीन वटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको छ ।

ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ । काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र भरतपुरमा रहेको भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको हो । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बनेको छ ।

हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला–ठूला कम्पनीसँग मिलेर नेपालको वृहत आर्थिक गतिविधिमा केन्द्रीत हुँदै आएको छ ।

जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुन्छ । केही समय अघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यातको कामको सुरुवात भइसकेको छ । यो कार्यलाई निरन्तरता दिँदै आइएको छ ।

‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौंदेखि सहकार्य गर्दै आएका छौं । आगामी दिनमा थप विश्वविख्यात लगानीकर्ताहरुसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउनेछौं । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने हाम्रो विश्वास छ’, सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’

विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको प्रबन्ध निर्देशक चौधरीले बताए । ‘नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीमा यसले विश्वव्यापीरुपमै राम्रो सन्देश जानेछ । हामी यो समूहसँग मिलेर काम गर्दैछौं । यसको फाइदा नेपाल र नेपालीलाई पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

चौधरी ग्रुपले भारतको चर्चित ब्राण्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *