‘ह्वाट्सएप’ : फेसबुकबाट ‘रिजेक्ट’ भएपछि जान र ब्रायनले गरे अविस्कार, पछि फेसबुकले नै गर्‍यो अक्वायर – Nepal Press

‘ह्वाट्सएप’ : फेसबुकबाट ‘रिजेक्ट’ भएपछि जान र ब्रायनले गरे अविस्कार, पछि फेसबुकले नै गर्‍यो अक्वायर

काठमाडौं । सन् २०२४ सम्म विश्वमै सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालको दोस्रो स्थानमा छ ‘ह्वाट्सएप’ । फेसबुकपछि २.७ बिलियन प्रयोगकर्तासहित ‘ह्वाट्सएप’ दोस्रो स्थानमा रहन सफल भएको हो ।

‘ग्लोबल वेब इन्डेक्स’का अनुसार चीनबाहेक विश्वभर कुल इन्टरनेट प्रयोगकर्तामध्ये ६९ प्रतिशतले ‘ह्वाट्सएप’प्रयोग गर्छन् ।

विश्वमा सबैभन्दा बढी प्रयोग हुने शीर्ष चार सामाजिक सञ्जालमा फेसबुक, ह्वाट्सएप, युट्युब र इस्टाग्राम पर्छन् । जसमा युट्युबबाहेक सबै मार्क जुकरबर्गको कम्पनी मेटाले सञ्चालन गर्छ ।

मार्क जुकरबर्ग विश्वकै सर्वाधिक चलाइने एप्लिकेसन फेसबुकका आविस्कारक हुन् । उनले इस्टाग्रामदेखि ह्वाट्सएपसम्मलाई आफूसँग गाभ्दै ‘फेसबुक इंक’ नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । सन् २०२१ मा मात्रै जुकरबर्गले आफ्नो कम्पनीको नाम ‘मेटा प्लेटफर्म इंक’मा रुपान्तरण गरेका छन् ।

अहिले ‘मेटा’कै हिस्सा रहेको ह्वाट्सएप सन् २०१४ अघि छुट्टै कम्पनीले सञ्चालन गरेको थियो । जसको आविस्कार सन् २००९ मा ब्रायन एक्टन र जान कोउमले गरेका थिए । ब्रायन र जान सन् २००९ मा फेसबुक कम्पनीमा काम गर्न जाँदा रिजेक्ट भएका थिए । फेसबुकले रिजेक्ट गरेको ५ वर्षपछि ब्रायन र जानले नै बनाएको म्यासेजिङ एप ह्वाट्सएप १९.६ बिलियनमा फेसबुकले किनेको थियो ।

०००

‘जान कोउम’ सन् १९७६ मा हालको युक्रेन अर्थात तत्कालीन सोभियत संघ (यूएसएसआर) मा जन्मिएका थिए । जान १६ वर्षको उमेरमा परिवारसहति अमेरिका बसाइ सरे । अमेरिका बसाइ सरेपछि सन् १९९७ मा उनका बुबाको निधन भएको थियो । बुबाको निधनपछि उनकी आमाले किराना पसलमा क्लिनरको रुपमा काम गरेकी थिइन् । बुबा बितेको तीन वर्षपछि सन् २००० मा उनकी आमाको पनि निधन भएको थियो ।

जान र ब्रायनको भेट

जानको रुचि कम्प्युटर प्रोग्रामिङमा थियो । सन् १९९७ मा जान ‘अर्न्स्ट एण्ड यंंग ग्लोबल’मा सुरक्षा परीक्षकको रुपमा काम गर्दैगर्दा ब्रायन एक्टनसँग भेट भएको थियो । ब्रायन अमेरिकामै जन्मिएका एक कम्प्युटर प्रोग्रामर थिए ।

जानलाई सन् १९९८ मा ‘याहो !’ नामक कम्पनीले ‘इन्फ्रास्टक्चर इन्जिनियर’ का रुपमा हायर गरेको थियो । जान र ब्रायन दुबैले ‘याहो !’ कम्पनीमा ९ वर्ष सँगै काम गरे । सन् २००७ मा दुबैले ‘याहो !’ बाट राजीनामा दिए ।

अनि जन्मियो ‘ह्वाट्सएप’

सन् २००९ मा दुवैले फेसबुक कम्पनीमा कामका लागि आवेदन दिएका थिए । तर, फेसबुकले दुबैलाई काममा राखेन ।

सोही वर्र्ष जानलाई आफू के काम गर्दैछु, कहाँ छु भन्ने कुराको जानकारी दिने आइडिया फुरेको थियो । उक्त आइडियाबारे बुझ्न उनी ‘रेन्टाकोडर डटकम’ गएका थिए । त्यहाँ रुसी डेभलोपर इगोर सोलोमेनिकोभसँग परिचय गरेर जानले ब्रायनलाई नयाँ आइडियाको बारेमा बताउँदै रुसी विकासकर्तासँग भेट गराएका थिए ।

नयाँ हालखबर बताउने एप्लिकेसनको नाम जानले ‘ह्वाट्सएप’ जुराएका थिए । सोहीअनुसार उनीहरुले ह्वाट्सएप इंंक कम्पनी दर्ता गरे । सुरुवाती चरणमा दुबैले ‘ह्वाट्सएप’ बनाएर सञ्चालनमा ल्याए । तर, धेरै प्रयास गर्दागर्दै उनको एप्लिकेसन क्र्यास भएको थियो । दुबैको अथक प्रयास गर्दा पनि असफलता मिलेपछि जान नयाँ कामको खोजीमा लाग्ने निष्र्कषमा पुगेका थिए । तर, ब्रायनले केही समय धैैर्य गर्न सम्झाए ।

ह्वाट्सएपले सुरुमा प्रयोगकर्तालाई सामान्य जानकारी जस्तैः ‘म आज ढिलो उठें’, ‘म बाटोमै छु’ जस्ता म्यासेज पठाएको थियो । त्यसलगत्तै ‘ह्वाट्सएप’को नयाँँ भर्जन ‘ह्वाट्सएप २.०’ मा अपडेट गरिएको थियो । नयाँ भर्जनमा आइफोन प्रयोगकर्ताका लागि म्यासेज पठाउने सुविधा थपिएको थियो, जसले एकै पटक ‘ह्वाट्सएप’का २ लाख ५० हजार प्रयोगकर्ता बढेको थियो ।

यसपछि छुट्टै ‘स्टार्ट अप’ मा काम गरिरहेका ब्रायनले पनि ‘ह्वाट्सएप’मा जोडिने निर्णय गरे र सन् २००९ को अन्तमा ब्रायनले ‘याहो !’ मा काम गर्ने ५ जना साथीलाई आफ्नो ‘स्टार्ट अप’ मा २ लाख ५० हजार अमेरिकी डलर ‘इन्भेस्ट’ गराए । ब्रायन ‘ह्वाट्सएप’ हिस्सेदार बने ।

‘ह्वाट्सएप’का प्रयोगकर्ता तीव्र बढ्न थालेपछि जान र ब्रायनको खर्चसमेत बढ्यो । तर, ‘ह्वाट्सएप’लाई कुनै पनि विज्ञापनका लागि नखुलाउने जान र ब्रायनले पहिले नै घोषण गरेका थिए । त्यसपछि उनीहरुले निःशुल्क रहेको ‘ह्वाट्सएप’ शुल्क प्रतिवर्ष एक डलर बनाए । एक डलर वार्षिक सदस्यता शुल्क पनि जान र ब्रायनले ‘ह्वाट्सएप’ सुधार तथा मर्मत गर्न भनी लगाएको बताएका थिए । जुन बढ्दो ‘ह्वाट्सएप’को लोकप्रियताको अगाडि एकदमै कम थियो । सन् २०१० मा ‘ह्वाट्सएप’ आइफोनसँगै सबै एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गर्न पाउने बनाइयो ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि म्यासेज पठाउने प्लेटफर्मका रुपमा ‘ह्वाट्सएप’ स्थापित भइसकेको थियो । बढ्दो लोकप्रियता देखेर गुगलले ‘ह्वाट्सएप’लाई आफूसँग जोडिन प्रस्ताव गरेको थियो । तर, ‘ह्वाट्सएप’ले अस्वीकार गर्‍यो ।

सन् २०११ सम्म आइपुग्दा विश्वकै सबैभन्दा बढी डाउनलोड हुने ४० एप्लिकेशनको लिस्टमा पर्‍यो ‘ह्वाट्सएप’ । लगानीकर्ताहरु पनि ‘ह्वाट्सएप’मा आकर्षित भएका थिए । लगानी जुटाउन दुबैलाई कुनै समस्या भएन ।

सन् २०१३ सम्म ‘ह्वाट्सएप’का सक्रिय प्रयोगकर्ता २ करोडभन्दा बढी पुगिसकेका थिए । जसमा लगानी पनि बढ्दै १ अर्ब ५० करोड अमेरिकी डलरको बन्न पुगेको थियो । त्यसको केही समयपछि ‘ह्वाट्सएप’ले भ्वाइस र भिडियो कलिङ एप स्काइमोबियसको ‘स्टार्ट अप’ खरिद गरेको थियो ।

अनि फेसबुकले अक्वायर गर्‍याे ‘ह्वाट्सएप’

सन् २०१३ को अन्तमा ‘ह्वाट्सएप’ले आफ्ना ४० करोड सक्रिय प्रयोगकर्ता रहेको दाबी गरेको थियो । त्यसबेला ‘ह्वाट्सएप’ले आफ्नो १४ करोड ८० लाख डलर खर्च र १३ करोड ८० लाख डलर घाटा भएको देखाएको थियो । तैपनि ‘ह्वाट्सएप’को बढ्दो लोेकप्रियता देखेर ठूल्ठूला कम्पनीले खरिद गर्न खोजिरहेका थिए ।

सन् २०१४ फेब्रुअरीमा साविकको फेसबुक इंक अर्थात हालको मेटाले ‘ह्वाट्सएप’ अक्वायर (प्राप्ति गर्ने) घोषणा गरेको थियो । संस्थापकहरुले ‘ह्वाट्सएप’को भ्यालुयसन १६ बिलियन डलर गरेका थिए । तर, फेसबुकले अन्तिममा १९.६ बिलियन डलर नगद र केही प्रतिशत शेयर दिने सम्झौता गरेको थियो । त्यस्तै ‘ह्वाट्सएप’का कर्मचारीलाई क्षतिपूर्तिस्वरुप ३.६ बिलियन डलर थप तिरिएको थियो ।

फेसबुकले ‘ह्वाट्सएप’को विज्ञापन नखुलाउने नीतिलाई स्वीकार गरेको थियो । सम्झौताअनुसार ‘ह्वाट्सएप’का संस्थापक जान र ब्रायन केही शेयरसहित कम्पनीको बोर्ड अफ डाइरेक्टरमा छन् ।

फेसबुकबाट रिजेक्सन पाएका ब्रायनले सन् २००९ अगस्ट ४ का दिन साविकको ट्विटरमा एक ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘फेसबुकले मलाई अस्वीकार गर्‍यो । यो एक केही उत्कृष्ट व्यक्तिहरुसँग जोडिन महत्वपूर्ण अवसर थियो । जीवनको अर्काे साहसिक कार्यको लागि प्रतीक्षा गर्दै ।’

सन् २०१६ सम्म ‘ह्वाट्सएप’का सक्रिय प्रयोगकर्ता एक बिलियन पुगेको थियो । सन् २०१६ जनवरीमा संस्थापक जानले ‘ह्वाट्सएप’को सदस्यता शुल्कस्वरुप वार्षिक १ डलर नलिने घोषणा गरेका थिए । उनले ‘ह्वाट्सएप’ले तेस्रो पक्षका विज्ञापनसमेत प्रदर्शन नगर्ने घोषणा गरेका थिए । यसपछि मानिसहरु झन् बढी यसको प्रयोगतर्फ आकर्षित भएका थिए ।

फेसबुक र ‘ह्वाट्सएप’बीचको विवाद

सन् २०१७ सेप्टेम्बरमा ‘ह्वाट्सएप’का सहसंस्थापक ब्रायन कम्पनीबाट बाहिरिएका थिए । मार्क जुकरबर्गले ‘ह्वाट्सएप’मा मनिटाइज अर्थात शुल्क लगाउनुपर्ने र विज्ञापनका लागि खुलाउनुपर्ने दबाब दिएपछि कम्पनी छोडेको ब्रायनले उल्लेख गरेका थिए ।

फेसबुक छोडेपछिका अन्तर्वार्तामा उनले भनेका थिए कि फेसबुकले ‘ह्वाट्सएप’लाई सिद्धान्तभन्दा बाहिर लैजाँदा म बाधक बनेको थिएँ । त्यसैले मैले कम्पनी छोडिदिएँ । त्यो मेरो इतिहासकै महंँगो नैतिक अडान थियो ।

सन् २०१८ जनवरीमा फेसबुकले व्यवसायिक प्रयोजनका लागि बिजनेस ह्वाट्सएप सुरु गर्‍यो । सन् २०१८ अप्रिलमा फेसबुकद्वारा प्रयोग गरिएको गोपनीयता, मनिटाइजेशन र विज्ञापनका कारण ह्वाट्सएपका संस्थापक जानले पनि कम्पनी छोड्ने घोषणा गरेका थिए । फेसबुकले जानको ठाउँमा क्रिस डेनियललाई सीईओ घोषणा गरेको थियो ।

जानले आफ्ना प्रयोगकर्ताको गोपनीयता फेसबुकलाई बेचेको र फेसबुकले ‘ह्वाट्सएप’ प्रयोगकर्ताको सूचनाको दुरुपयोग गरेको बताएका थिए । त्यसलगत्तै सन् २०१८ मार्च २१ मा ब्रायनले आफ्नो साविकको ट्विटरमा ह्यासट्याग डिलिट फेसबुक भन्दै ट्विट गरेका थिए ।

०००

फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘ह्वाट्सएप’ खरिद गर्दा यसका संस्थापक जान र ब्रायनलाई सञ्चालक समितिमा स्थान दिएका थिए । तैपनि तीन वर्षपछि ब्र्रायन र चार वर्षपछि जानले फेसबुुकमा असन्तुष्टि जनाउँदै कम्पनीबाट बाहिरिएपछि मार्क जुकरबर्गमाथि धेरै प्रश्न उठाइएको थियोे । त्यतिबेला जुकरबर्गले त्यस विवादलाई दबाएरै राखेका थिए ।

अहिले ‘ह्वाट्सएप’ खरिद गर्दा जुकरबर्गले विज्ञापनका लागि नखोल्ने भनेको कुरालाई बेवास्ता गर्दै विज्ञापन चलाइरहेका छन् । पहिले ‘ह्वाट्सएप’मात्रै विज्ञापन नभएको एप थियो । जुन अहिले रहेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर