युवराज सफललाई ‘सिध्याइदिने’ धम्कीको अडियो सार्वजनिक, चर्चाका लागि आफैंले बनाएको आरोप – Nepal Press

युवराज सफललाई ‘सिध्याइदिने’ धम्कीको अडियो सार्वजनिक, चर्चाका लागि आफैंले बनाएको आरोप

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध निरन्तर लागिपरेका ‘अभियन्ता’ युवराज सफललाई ज्यान मार्ने धम्की आएको भन्दै एउटा अडियो सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालमा हालिएको अडियोमा सफलले एक ‘अपरिचित’ व्यक्तिसित कुरा गरेको सुनिन्छ ।

अडियो संवाद यस्तो छः

धम्क्याउने : कि मुद्दा फिर्ता लेउ, कि दुई-चार दिनमा सुट गर्दिन्छु ।’

सफल : कसले ?

धम्क्याउने : मैले

सफल : को हो तिमी अनि रु

धम्क्याउने : हँ ?

सफल : को हो रे तिमी अनि ?

धम्क्याउने : त्यतिबेला थाहा पाउँछौ म को हो भन्ने !

सफल : के गर्छौं अरे तिमीले साँच्ची ?

धम्क्याउने : तँलाई म सिध्याइदिन्छु । कन्फर्म ।

सफल : कसरी सिध्याउँछस् ए भाइ ?

धम्क्याउने : चार दिनभित्र । पख । भुसडी !

दुवैले आरामसँग कुरा गरेको सुन्दा संवाद बनावटी हो कि जस्तो पनि लाग्छ । तर, नेपाल प्रेससँग सफलले साँच्चिकै धम्की आएको दाबी गरे ।

उनले भने, ‘हिजो राति एनटीसीकै नम्बरबाट फोन आएको थियो । मार्ने धम्की दियो । मैले पनि खोजतलास गरेर उसको ह्वाट्सएप पत्ता लगाएँ । अनि प्रहरीलाई पठाइदिएँ । भोलिपल्ट बिहान उसले फेरि फोन गर्‍याे र माफी माग्यो । आफूबाट गल्ती भएको स्वीकार गर्‍याे । ल त भनेर मैले पनि माफी दिएँ । प्रहरीलाई पनि होस् कारबाही नगर्नु भनेको छु ।’

ती व्यक्ति सरकारी कर्मचारी भएको आफूले पत्ता लगाएको पनि उनले बताए । कुन विषयमा धम्की दिएको भन्ने प्रश्नमा सफलले भने, ‘त्यही रवि लामिछानेविरुद्धको उजुरी फिर्ता लिनुपर्छ भनेर हो नि !’

यो अडियो सुनेर धेरैले विश्वास भने गरेका छैनन् । चर्चामा आउनका लागि युवराज सफल आफैंले यो अडियो बनाएको हुन सक्ने उनीहरुको आशंका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर