दुर्गा प्रसाईंको अस्पतालले गर्‍याे आगलागी पीडितलाई बर्न अस्पताल रिफर गर्न आनाकानी – Nepal Press

दुर्गा प्रसाईंको अस्पतालले गर्‍याे आगलागी पीडितलाई बर्न अस्पताल रिफर गर्न आनाकानी

पुलिस लगाएरै भए पनि लैजाने काेशीका मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ ।

दुर्गा प्रसाईंले सञ्चालन गरेको उक्त अस्पतालले उपचारमा लागेको खर्च नतिरेसम्म बिरामी अन्यत्र लैजान नदिने भन्दै रिफर गर्न आकानाकानी गरेको छ ।

उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका १० जना सिकिस्त छन् । सो अस्पतालमा उर्लाबारी- ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साहा उपचारर छन् ।

यस्तै सोही ठाउँका प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलाको पनि गम्भीर अवस्थामा उपचार हुँदैछ ।

उनीहरुलाई कोशी प्रदेश सरकारको समन्वयमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजाने तयारी भए पनि बीएण्डसीले उपचार गर्दा लागेको खर्च जम्मा गर्न भन्दै आएको छ ।

अस्पतालले घाइतेलाई निकाल्न अवरोध गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आज बिहान आफैं बीएन्डसी अस्पताल पुगेका छन् । उनले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि दशै जनालाई काठमाडौं लाने बताए ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएरमात्र लैजान भनेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच विवादसमेत भएको छ । प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रसाईंसँग विवाद भएको तर उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । उनले भने, ‘प्रक्रियागत कारणले केही समय लाग्नसक्छ । उपचार खर्च प्रदेश सरकारले गर्ने हो ।’

संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको कार्कीले बताए ।

लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी- ७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।‌

प्रदेश सरकारको समन्वयमा थप उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट काठमाडौं लगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर