शवको पर्खाइमा नारायणको परिवार, भन्थे- केही दिनमा पैसा पठाउँछु, घर बनाउन ढुंगा बोकाउँदै गर्नू (भिडिओ) – Nepal Press
इजरायल युद्ध

शवको पर्खाइमा नारायणको परिवार, भन्थे- केही दिनमा पैसा पठाउँछु, घर बनाउन ढुंगा बोकाउँदै गर्नू (भिडिओ)

कैलाली । सीता न्यौपानेका गला सुकेका छन् । आवाज प्रस्ट आउँदैन । आँखा बेलाबेला रसाइरहन्छन् । राम्ररी खाना नखाएको ७ दिन बढी भइसक्यो ।

आफ्नै कोखबाट जन्म नदिए पनि आफ्नो सन्तानभन्दा बढी माया र स्नेह दिएर हुर्काएको छोरा नारायणको इजरायलमा मृत्यु भएको खबर पाएकी सीतालाई त्यो खबर सत्य नभइदिए हुन्थ्यो भन्ने अझै लागिरहेको छ ।

अघिल्लो शनिबार प्यालेस्टाइनी विद्रोही हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाए । तीमध्ये एक हुन् कैलाली घोडाघोडी नगरपालिका ४ का नारायण न्यौपाने ।

इजरायल गएको १ महिनामै उनको मृत्यु भएको खबर घर सम्म पुग्यो । तर, घर परिवारलाई भने अझै त्यो खबरप्रति विश्वास हुन सकेको छैन । मृत्यु भएको १० दिन भइसक्दा पनि नारायणको शव उनीहरुले पाउन सकेका छैनन् । शव घरमा नपुगेको हुँदा उनको मृत्यु नै नभएको हो कि भन्ने जस्तो लाग्छ नारायणको काकी दुर्गालाई ।

‘बाबुको मृत्यु भएको भन्ने खबर हामीले सुन्थ्यौ । मलाई त त्यो खबर नै गलत हो जस्तो लागेको छ’, उनले भनिन्, ‘अहिलेसम्म पनि शव आएको छैन त्यो खबर गलत नै भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ ।’

नारायणका बुवा हरिकृष्ण बिरामी छन् । उमेरले करिब उनी ७५ वर्षका भइसके । छोराको मृत्युको खबरले उनी उनी थप विक्षिप्त भएका छन् । छोराको मृत्युको खबर असत्य भइदिए हुन्थ्यो भन्ने उनी कामना गरिरहन्छन् ।

नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन् । उनी ६ वर्षको हुँदा आफ्नो आमाको मृत्यु भए पछि हरिकृष्णले दोस्रो विवाह गरेर सीतालाई भित्राएका हुन् । सीताले नारायणले आफ्नै कोखबाट जन्मेको सन्तान भन्दा बढी माया र स्नेह दिइरहेकी थिइन् । अहिले नारायणको शव समेत नआएपछि घरमा उस्तै सन्नाटा र पीडा छ ।

घरको जेठा छोरा धर्म परिवारको खुसीको लागि भारतको बेंलोरमा थिए । दाजुभाइको करिब ७ वर्षसम्म भेट भएन । घटनाको अघिल्लो दिन नारायणले दाजु धर्मलाई फोन गरेका थिए ।

‘भोलि मेरो तलब आउँछ के गर्ने कसो गर्ने सल्लाह गरौँला भनेको थियो’, धर्मले भने, ‘तलब आउँछ भनेको भाइ नै मृत्यु भएको खबर आयो ।’

सात वर्षपछि भाइ भेट्ने सपना पनि पूरा भएन धर्मको । अहिले सास नभए पनि लास हेर्ने धोको छ उनको छ ।

धर्मका दुई छोरीहरू छन् । नारायणले जेठी सृष्टिलाई इन्जिनियर र कान्छी सारिकालाई डाक्टर बनाउने सोच लिएका थिए । ‘छोरी भए भनेर चिन्ता नगर्नु म जेठीलाई इन्जिनियर र कान्छीलाई डाक्टर बनाउँछु भनेको थियो’, भाइले भनेको कुरा सम्झँदै धर्मले भने, ‘अहिले हामीले हामीलाई सहारा दिने भाइलाई नै गुमाउनु पर्‍यो । ’

सृष्टिलाई नारायणले भनेको कुरा याद आइरहन्छ । उनी सानी छन् तर उनले अङ्कलसँग भएको कुराहरू गर्दा घरमा आएका सबै भाव विह्वल हुन्छन् ।

घटना हुनुभन्दा चार दिन अगाडि नारायणसँग आमा सीताको राम्रै कुरा भएको सम्झना छ । उनले भनिन्, ‘केही दिनमा पैसा पठाउँछु । पठाएको पैसाले ढुङ्गा बोकाउनु होला । घर बनाउनु छ । साँझ बुबा आएपछि कुरा गराइदिनु होला आमासँग नारायणले भनेका थिए ।’

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृषि फार्ममा थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीनमध्ये १० जनाको मृत्यु भयो । तीमध्ये कसैको पनि अहिलेसम्म शव आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार कैलालीमा आएर पाँच वटा शव फेला परेको र ती शव ल्याउने पहल भइरहेको बताएपछि अहिले यो घरमा छोराको सास नभए पनि लास हेर्ने बाटो कुरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर